काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेपनि शेयर बजारले भने रंग फेर्न सकेन । यसअघि लगातार ओरालो लाग्दै आएको शेयर बजार परिसुचक नेप्से मौद्रिक नीति घोषणापछिको पहिलो तर साताको तेस्रो कारोबार दिन बुधबार ३० दशमलव शुन्य नौं अंकले ओरालो लागेर २६ सय २१ दशमलव ५९ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९३ अंकले ओरालो लागेर चार सय ५६ दशमलव ६८ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ६२ वटा कम्पनीहरुको ७७ हजार छ सय २७ पटकको कारोबारमा ८४ लाख ६३ हजार १५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ८२ करोड ६० लाख ८४ हजार आठ सय २५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक झिनो अंकले उकालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।