काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुलुकको पुँजीबजारमार्फत करिब पौने सात खर्ब पुँजी परिचालन गरिएको बताएको छ । बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म कुल छ खर्ब ६७ अर्बबराबरको पुँजी परिचालन पुँजीबजारमार्फत भएको हो ।
बोर्डले पुँजीबजार विकास मार्गचित्र, २०८३ प्रतिवेदन सार्वजनिक गर्दै समग्र पुँजीबजारको जानकारी दिएको छ । प्रतिवेदनअनुरूप संगठित संस्थाले प्राथमिक बजारमार्फत साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ), हकप्रद सेयर निष्काशन, थप निष्काशन (एफपीओ), ऋणपत्र निष्काशन, सामूहिक लगानी कोष तथा विशिष्टीकृत लगानी कोषका योजनाहरू निष्काशन गरी पुँजी संकलन गर्दै आएको छ ।
२०५० को दशकमा एक सय १४ वटा संगठित संस्थाले प्राथमिक बजारमार्फत पाँच अर्ब ३५ करोड संकलन गरेकोमा २०६० को दशकमा चार सय आठवटा संगठित संस्थाले ७० अर्ब ४९ करोड संकलन गरेको देखिन्छ । त्यसैगरी, २०७० को दशकमा छ सय ३२ वटा संगठित संस्थाले चार खर्ब ९३ अर्ब २२ करोड संकलन गरेको देखिन्छ । त्यस्तै, विसं २०८० को दशकको हालसम्म एक सयवटा संगठित संस्थाहरूबाट ९८ अर्ब दुई करोडबराबरको पुँजी परिचालन भएको देखिन्छ । यसअनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा कुल छ खर्ब ६७ अर्बबराबरको पुँजी परिचालन पुँजीबजारमार्फत भएको देखिन्छ ।
बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारको विकासको लागि पुँजीबजार विकास मार्गचित्र, २०८३ प्रतिवेदन सार्वजनिक गरेको बताए । ‘संस्थाको संख्या तलमाथि भए पनि समग्रमा पुँजी परिचालन रकम भने बढ्दै गएको छ’, उनले भने, ‘यसलाई व्यवस्थित बनाउन आवश्यक रहेको छ । प्रविधिमैत्री बनाउन आवश्यक छ ।’ बोर्डले पुँजीबजारमार्फत पुँजी परिचालन गर्ने क्रममा आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म ५० वटा संस्थालाई ६० अर्ब ६८ करोड रकमबराबरको पुँजी परिचालन स्वीकृति प्रदान गरिएको छ ।
बोर्डबाट आर्थिक वर्ष २०८२/८३ मा स्वीकृति गरेकामध्ये साधारण सेयर निष्काशनतर्फ आठवटा संस्थालाई नौ अर्ब ११ करोडबराबरको तथा हकप्रद सेयर निष्काशनतर्फ सातवटा संस्थालाई चार अर्ब ९४ करोडबराबरको निष्काशन अनुमति प्रदान गरिएको छ । साथै, थप निष्काशन (एफपीओ) तर्फ एक संस्थालाई चार करोड ६७ लाखबराबरको निष्काशन अनुमति प्रदान गरिएको छ । त्यसैगरी, एक संस्थालाई ५० करोड तथा छवटा कम्पनीलाई १६ अर्ब ८५ करोडबराबरको ऋणपत्र निष्काशन अनुमति प्रदान गरिएको छ । साथै, अन्य ११ वटा सामूहिक लगानी योजनालाई २९ अर्ब २२ करोडबराबरको सामूहिक लगानी योजना निष्काशन अनुमति प्रदान गरिएको छ ।
आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म विशिष्टीकृत लगानी कोषतर्फ तीनवटा योजनालाई चार अर्ब ७५ करोडबराबरको विशिष्टीकृत लगानी योजना निष्काशनका लागि बोर्डबाट स्वीकृति प्रदान गरिएको छ । हालसम्म १५ वटा विशिष्टीकृत लगानी कोषलाई ४१ अर्ब ७५ करोडबराबरको पुँजी परिचालन स्वीकृति प्रदान भएको छ । आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म बोर्डमा ७६ वटा संस्थाहरूको २२ अर्ब ९९ करोडबराबरको बोनस सेयर दर्ता गरिएको छ । जसमध्ये वाणिज्य बैंक आठ, विकास बैंक आठ, लघुवित्त कम्पनी १९, बीमा कम्पनी १३, जलविद्युत् कम्पनी १५, अन्य क्षेत्रका दुई , होटल तथा पर्यटन क्षेत्रको एक, उत्पादन तथा प्रशोधन क्षेत्रका तीन र लगानी क्षेत्रका सातवटा कम्पनी रहेका छन् ।
प्रतिवेदनअनुरूप नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा विसं २०५० सालदेखि धितोपत्रको दोस्रो बजार कारोबार सुरु भएदेखि नेप्से सूचकांकमा पटक–पटक उतारचढाव हुँदै आएको बताइएको छ । विसं २०५० माघमा एक सय रहेको नेप्से सूचकांक २०५७ कात्तिकमा ५१९ दशमलव ३३ विन्दुसम्म पुगेपछि ओरालो लागेको थियो । त्यसैगरी, नेप्से सूचकांक २०६५ भदौमा ११ सय ७५ दशमलव ३८ विन्दुमा पुगेको थियो भने २०७३ साउनमा तत्कालीन अवधिको उच्च विन्दु अर्थात् १८ सय ८१ दशमलव ४५ विन्दुमा पुगेको देखिन्छ । त्यसपछि २०७५ फागुनमा उक्त सूचकांक तत्कालीन अवधिको न्यून विन्दु ११ सय दशमलव ५८ सम्म झरेको थियो । त्यसपश्चात् नेप्से सूचकांक २०७८ भदौमा ३१ सय ९९ दशमलव ०३ विन्दुमा पुगेर हालसम्मकै उच्च विन्दु कायम भएको देखिन्छ । तत्पश्चात् नेप्से सूचकांक २०८२ असार मसान्तमा २७ सय ९४ दशमलव ७९ विन्दुमा कायम भएकोमा २०८२ भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको आन्दोलनपछि पहिलो पटक कारोबार खुलेको मिति २०८२ असोज २ गते २५११ दशमलव ९१ विन्दुमा कायम भएको थियो ।
आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको तथ्यांकलाई विश्लेषण गर्दा दोस्रो बजारका सूचकहरूमा मिश्रित प्रभाव देखिन्छ । धितोपत्र कारोबार रकम हेर्दा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २१ प्रतिशतले घटी १४ खर्ब ९४ अर्ब ६२ करोडबराबरको कारोबार भएको छ । त्यसैगरी, दैनिक औसत कारोबार रकम पनि सोही अवधिमा करिब १८ प्रतिशतले घटी सात अर्ब ५१ करोड बराबरको दैनिक कारोबार भएको छ ।
समीक्षा अवधिमा बजार पुँजीकरण ४६ खर्ब ५४ अर्ब ५५ करोड पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच प्रतिशतले बढी हो । समीक्षा अवधिसम्म फ्लोट बजार पुँजीकरण १५ खर्ब ६२ अर्ब २४ करोड पुगेको अवस्था छ । नेप्से सूचकांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब तीन प्रतिशतले वृद्धि भई २७२४ दशमलव ०३ विन्दुमा पुगेको छ भने फ्लोट सूचकांक एक सय ८५ दशमलव ९० विन्दुमा पुगेको छ । धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूको संख्यामा करिब नौ प्रतिशतले वृद्धि भई समीक्षा अवधिमा संख्या दुई सय ९७ पुगेको छ । असार ३१ गते बुधबार भने नेप्से सूचकांक २५ सय ९० दशमलव २९ पुगेको छ भने बजार पुँजीकरण रकम ४४ खर्ब ५० अर्ब ६५ करोड ४६ लाख पुगेको छ ।
कुल जनसंख्यको २६ प्रतिशतभन्दा बढी लगानीकर्तासँग हितग्राही खाता
बोर्डका अनुसार धितोपत्र बजारमा लगानीकर्ताको सहभागिताको अवस्थालाई नियाल्दा विसं. २०७७ असार मसान्तसम्म करिब १७ लाख डिम्याट (हितग्राही) खाता खोलिएको पाइन्छ । आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ६९ लाख ९७ हजार नौ सयवटा रहेकोमा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म उक्त संख्या बढेर ७७ लाख ६६ हजार पाँच सय ६५ वटा पुगेको छ । कुल जनसंख्याको २६ प्रतिशतभन्दा बढी लगानीकर्तासँग डिम्याट खाता रहेको देखिन्छ ।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी बागमती प्रदेशमा ३४ दशमलव १३ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा दुई दशमलव ९८ प्रतिशत डिम्याट खाता खुलेको देखिन्छ । त्यसैगरी, कोशी प्रदेशमा १८ दशमलव ९३ प्रतिशत, गण्डकी प्रदेशमा १२ दशमलव ४६ प्रतिशत, लुम्बिनी प्रदेशमा १२ दशमलव १४ प्रतिशत, मधेश प्रदेशमा १२ दशमलव ६८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा छ दशमलव ६७ प्रतिशत डिम्याट खाता खोलिएको पाइन्छ ।
डिम्याट खाताको प्रवृत्ति विश्लेषण गर्दा नेपालको शेयर बजारमा व्यक्तिगत लगानीकर्ताको संख्या अत्यधिक रहेको देखिन्छ । सीडीएससीको तथ्याक्अनुसार डिम्याट खाताधनीमध्ये ५७ दशमलव २६ प्रतिशत पुरुष, ४२ दशमलव ६२ प्रतिशत महिला र शून्य दशमलव १२ प्रतिशत अन्य रहेका छन् ।
उमेरका आधारमा डिम्याट खाताको अवस्थालाई हेर्दा नवजातदेखि १८ वर्ष उमेर समूहका लगानीकर्ताको संख्या १२ दशमलव ०९ प्रतिशत, १९ देखि ३० वर्ष उमेर समूहका २९ दशमलव ६७ प्रतिशत, ३१ देखि ४० वर्ष उमेर समूहका २३ दशमलव ४६ प्रतिशत, ४१ देखि ६० वर्ष उमेर समूहका २६ दशमलव १४ प्रतिशत, ६१ देखि ७० वर्ष उमेर समूहका पाँच दशमलव ४९ प्रतिशत तथा ७१ वर्षभन्दा माथिका उमेर समूहका तीन दशमलव १५ प्रतिशत डिम्याट खाता रहेको पाइन्छ । बोर्डले धितोपत्रको प्राथमिक बजारमा आस्बा तथा सी–आस्बा प्रणाली र दोस्रो बजारमा अनलाइन कारोबार प्रणालीको कार्यान्वयन भएसँगै धितोपत्र कारोबार सरल रूपमा गर्न सक्ने अवस्था बनेको जनाएको छ । यससँगै बजारमा लगानीकर्ताहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको जनाएको हो ।
टीएमएस खाता लिनेको संख्यामा वृद्धि
बोर्डका अनुसार धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि प्रत्येक लगानीकर्ताले टीएमएस खाता लिनुपर्छ । पछिल्ला वर्षहरूमा यस्तो खाता लिने लगानीकर्ताको संख्यामा उल्लेखनीय वृद्धि भएको छ ।
२०७७ असारमा धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि कारोबार खाता खोल्ने लगानीकर्ताको संख्या करिब ३५ हजारको हाराहारीमा रहेको थियो । उक्त खाता खोल्नेको संख्या २०७८ असारमा सात लाख ९५ हजार नौ सय ३४, आर्थिक वर्ष २०७८/७९ मा १४ लाख ८५ हजार चार सय ६०, तथा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म १७ लाख ६३ हजार तीन सय एक पुगेको थियो ।
आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म उक्त खाता खोल्नेको संख्या २२ लाख १६ हजार दुई सय ४७ पुगेकोमा आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म २६ लाख ३३ हजार पाँच सय १० पुगेको छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म उक्त खाता खोल्ने लगानीकर्ताको संख्या ३४ लाख ६६ हजार चार सय ९९ पुगेको छ ।
पुँजीबजारबाट सरकारी राजस्वमा योगदान
धितोपत्र बजारमार्फत नेपाल सरकारलाई उल्लेख्य रकम पुँजीगत लाभकरबापत प्राप्त हुने अवस्था सिर्जना भएको छ । विगत पाँच आर्थिक वर्षमा नेपाल सरकारलाई प्रत्यक्ष रूपमा प्राप्त राजस्वसम्बन्धी विवरण हेर्दा आर्थिक वर्ष २०७७/७८ मा १५ अर्ब ५४ करोड, आर्थिक वर्ष २०७८/७९ मा ११ अर्ब ४१ करोड, आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब ३८ करोड, आर्थिक वर्ष २०८०/८१ मा छ अर्ब १२ करोड, आर्थिक वर्ष २०८१/८२ मा १८ अर्ब १७ करोड तथा आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म १० अर्ब ७० करोड २५ लाख राजस्व प्राप्त भएको देखिन्छ ।
बोर्डका अनुसार मुलुकको पुँजीबजारले प्रारम्भिक सरकारी ऋणपत्र कारोबारबाट आधुनिक डिजिटल धितोपत्र बजारसम्मको उल्लेखनीय यात्रा तय गरेको छ । नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सीडीएस एन्ड क्लियरिङ, डिम्याट प्रणाली, मेरो सेयर, अनलाइन कारोबार प्रणाली तथा लाखौँ लगानीकर्ताको सहभागिताले नेपालको वित्तीय प्रणालीलाई नयाँ उचाइमा पुर्याएको छ ।
यद्यपि, आगामी चरणको चुनौती बजारको आकार बढाउनु मात्र नभई यसको गुणस्तरीय विकास गर्नु हो । उत्पादनमूलक क्षेत्रको प्रतिनिधित्व विस्तार, संस्थागत ऋणपत्र बजारको विकास, नयाँ वित्तीय उपकरणको सुरुआत, संस्थागत तथा विदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माण तथा सुशासन र प्रविधिको थप सुदृढीकरणमार्फत मात्र नेपालको पुँजीबजारलाई राष्ट्रिय आर्थिक रूपान्तरणको प्रभावकारी साधनका रूपमा स्थापित गर्न सकिन्छ ।
नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङ लिमिटेड नेपालको पुँजीबजारका तीन आधारभूत संस्थागत स्तम्भ हुन् । यी संस्थाहरूले पछिल्ला तीन दशकमा बजारको संस्थागत विकास, डिजिटल रूपान्तरण, लगानीकर्ताको पहुँच विस्तार तथा कारोबारको पारदर्शितामा महत्वपूर्ण योगदान दिएका छन् । तर, भिजन २०२६ को लक्ष्य हासिल गर्न यी संस्थाहरूलाई अझ बढी स्वायत्त, प्रविधिमैत्री, अन्तर्राष्ट्रिय मापदण्डअनुकूल तथा परिणाममुखी बनाउन आवश्यक छ । जोखिम–आधारित नियमन, आधुनिक बजार निगरानी, द्रूत सेटलमेन्ट प्रणाली, नयाँ वित्तीय उपकरणहरूको विकास तथा अन्तर्राष्ट्रिय बजारसँग क्रमिक एकीकरण आगामी दशकका प्रमुख प्राथमिकता हुनुपर्छ ।
मर्चेन्ट बैंकर, धितोपत्र दलाल, निक्षेप सदस्य, क्रेडिट रेटिङ संस्था, निष्काशन तथा बिक्री प्रबन्धक तथा पोर्टफोलियो व्यवस्थापकहरूले नेपालको पुँजीबजारको सञ्चालन, पुँजी परिचालन तथा लगानीकर्ता सेवामा महत्वपूर्ण योगदान दिएका छन् । यद्यपि, अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी पुँजीबजार निर्माण गर्न यी संस्थाहरूको क्षमता, सेवा विविधीकरण, प्राविधिक आधुनिकीकरण तथा व्यावसायिक दक्षतामा उल्लेखनीय सुधार आवश्यक छ । आगामी दशकमा यिनीहरूलाई केवल कारोबार सहजीकरण गर्ने संस्थाका रूपमा मात्र होइन, लगानी बैंकिङ, सम्पत्ति व्यवस्थापन, परियोजना वित्त, अनुसन्धान तथा नवप्रवर्तन वित्तका प्रमुख साझेदारका रूपमा विकास गर्नु नेपालको पुँजीबजारको गुणात्मक रूपान्तरणका लागि अत्यावश्यक हुनेछ ।
नेपालको पुँजीबजारको संस्थागत संरचनाले आधुनिक वित्तीय प्रणालीको आधार तयार गरिसकेको छ । अबको आवश्यकता संरचनाको विस्तारभन्दा बढी यसको गुणस्तरीय सुदृढीकरण हो । संस्थागत लगानीकर्ताको भूमिका बढाउने, लगानी उपकरणहरूको विविधीकरण गर्ने, प्रविधिमैत्री बजार पूर्वाधार विकास गर्ने तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको नियमन लागू गर्ने कार्यले मात्र नेपालको पुँजीबजारलाई राष्ट्रिय आर्थिक रूपान्तरणको प्रभावकारी साधन बनाउन सकिन्छ ।