काठमाडौं, अघिल्लो कारोबार दिन सामान्य अंकले सुधारिएको सेयरबजारले साताको चौथो कारोबार दिनमै पुनः ओरालो यात्रा समातेको छ । बजारमा खरिद पक्ष कमजोर देखिँदा बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ दशमलव ९५ अंकले घटेर दुई हजार छ सय ५२ दशमलव ५८ विन्दुमा खुम्चिएको छ । अघिल्लो दिन एक दशमलव ४० अंकले बढेको बजार एक दिन पनि टिक्न नसक्नुले लगानीकर्ताको मनोबल कमजोर रहेको संकेत गरेको छ ।
नेप्से परिसूचकसँगै ठूला तथा बलिया कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत एक दशमलव ५७ अंकले घटेर चार सय ७८ दशमलव ९३ विन्दुमा झरेको छ । यसदिन धितोपत्र बजारमा तीन सय ४९ वटा कम्पनीको ४४ हजार चार सय १२ पटक कारोबार भएको थियो । जसबाट एक करोड २३ लाख ७३ हजार आठ सय ४१ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम चार अर्ब ७२ करोड २२ लाख ३६ हजार छ सय २३ रुपैयाँ पुगेको छ ।
यसदिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये लघुवित्त उपसमूहबाहेक अन्य १२ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन् । बजारमा देखिएको व्यापक गिरावटले अधिकांश क्षेत्रका लगानीकर्तालाई निराश बनाएको छ । लघुवित्त उपसमूहको परिसूचक भने चार दशमलव २२ अंकले बढेर चार हजार चार सय ९८ दशमलव ७० विन्दुमा पुगेको छ । तर, अन्य उपसमूहमा देखिएको गिरावटले समग्र बजारलाई दबाबमा राखेको छ । विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी ३८ दशमलव ९० अंकले घटेर पाँच हजार चार सय ८८ दशमलव ६८ विन्दुमा झरेको छ । जीवन बीमा उपसमूह ५४ दशमलव ९८ अंकले घटेर ११ हजार आठ सय ५६ दशमलव ४३ विन्दुमा पुगेको छ । त्यसैगरी निर्जीवन बीमा उपसमूह ३७ दशमलव ५७ अंकले घटेर नौ हजार तीन सय ८१ दशमलव ३० विन्दुमा सीमित भएको छ ।
जलविद्युत् उपसमूह २४ दशमलव ६० अंकले घटेर तीन हजार छ सय १८ दशमलव ६८ विन्दुमा झरेको छ भने फाइनान्स उपसमूह १० दशमलव ९८ अंकले घटेर दुई हजार एक सय ८४ दशमलव ४१ विन्दुमा पुगेको छ । वाणिज्य बैंक उपसमूह नौ दशमलव ११ अंकले घटेर एक हजार पाँच सय ७९ दशमलव ७० विन्दुमा झरेको छ । यसैगरी होटल तथा पर्यटन उपसमूह ३० दशमलव शून्य दुई, लगानी उपसमूह शून्य दशमलव २७, उत्पादनमूलक उपसमूह ६६ दशमलव १२, सामूहिक लगानी कोष उपसमूह शून्य दशमलव शून्य दुई, अन्य उपसमूह नौ दशमलव २१ र व्यापार उपसमूह चार दशमलव ६९ विन्दुले खुम्चिएका छन् ।
यसदिनको कारोबारमा कुमारी सबल योजनाले सबैभन्दा बढी मूल्य वृद्धि हासिल गर्दै शीर्ष स्थान ओगटेको छ । त्यसैगरी केबीएल डिबेन्चर २०८६ सबैभन्दा बढी मूल्य घट्ने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको छ । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ ।