काठमाडौं, नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष समेत रहिसकेका सिनामंगलस्थित अनमोल मेडिकियर र क्रिष्टल डाइग्नोस्टिक सेन्टरका सञ्चालक कैलाश खड्कासहित पाँच जना पक्राउ परेका छन् । नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट खड्कासहितका पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीय खड्कासहित, भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९ बस्ने ४० वर्षीय रविन्द्र केसी, गोरखा जिल्ला घर भई हाल काठमाडौंको टोखा बस्ने ४२ वर्षीय प्रविण तिवारी र सर्लाही घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने ४५ वर्षीय रामपुकार तिवारी छन् ।
खड्कामाथि तत्कालीन प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य र उनका व्यावसायिक साझेदार पूर्वडीएसपी गोविन्द थपलियाको आडमा साझेदारदेखि मलेसियाको लागि बायोमेट्रिक परीक्षण गर्न गराउन छानिएका संस्थाहरूसँग मनपरी ढंगले करोडौँ रुपैयाँ उठाएर अनियमितता गरेको आरोप लाग्दै आएको छ । सीआईबीका अनुसार मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणसँग जोडिएको बायोमेट्रिक प्रणालीका नाममा स्वास्थ्य व्यवसायीहरूबाट करोडौँ रुपैयाँ असुलिएको, व्यवसायीलाई सफ्टवेयर बन्द गर्ने धम्की दिइएको तथा आर्थिक कारोबारमा गम्भीर अनियमितता भएको आरोप सार्वजनिक भएपछि सञ्चालक खड्कासहित ती व्यक्तिहरू पक्राउ परेका हुन् ।
नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षसमेत रहिसकेका खड्कामाथि विभिन्न स्वास्थ्य संस्थालाई दबाबमा राखेर रकम उठाउने, व्यावसायिक पहुँचको दुरुपयोग गर्ने, कारोबारको वास्तविक विवरण लुकाउने र सम्पत्तिको स्रोतबारे प्रश्न उठ्ने गतिविधिमा संलग्न रहेको आरोप लगाइएको छ । यद्यपि, उनीमाथि लागेका आरोपको अन्तिम सत्यता अनुसन्धान र न्यायिक प्रक्रियाबाट पुष्टि हुन बाँकी छ । व्यवसायीहरूले सम्बन्धित निकायमा बुझाएको भनिएको उजुरी तथा त्यससँग जोडिएका कागजातमा मलेसियाको बायोमेडिकल परीक्षण प्रणाली सञ्चालन गर्ने नाममा स्वास्थ्य संस्थाबाट नियमित रकम उठाइएको र रकम नदिने संस्थालाई सफ्टवेयरमा पहुँच रोक्ने माध्यमबाट दबाब दिइएको दाबी गरिएको छ । यी आरोपमाथि सम्बन्धित निकायबाट निष्पक्ष र गहिरो अनुसन्धान हुनुपर्ने माग उठेको छ ।
उजुरीमा उल्लेख भएअनुसार बायोमेडिकल प्रणालीमार्फत स्वास्थ्य परीक्षण गराउने करिब ३६ वटा स्वास्थ्य संस्थाबाट प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले रकम उठाउने गरिएको दाबी छ । उक्त रकम विभिन्न शीर्षकमा मागिने गरेको र रकम नबुझाउने संस्थाको सफ्टवेयर बन्द गरिने गरेको आरोपसमेत लगाइएको छ । उजुरीकर्ताहरूको दाबीअनुसार स्वास्थ्य संस्थाले परीक्षण सेवा सञ्चालन गर्न सफ्टवेयरमा निर्भर रहनुपर्ने अवस्थाको फाइदा उठाउँदै रकम बुझाउन बाध्य पारिएको थियो । केही संस्थाले रकम नदिँदा सेवा प्रभावित भएको र पछि रकम बुझाएपछि मात्रै सेवा पुनः सञ्चालन भएको दाबी कागजातमा गरिएको छ ।
क्रिष्टल डाइग्नोस्टिक सेन्टरमा नगद बुझाउने गरेको दाबी
उजुरीमा स्वास्थ्य संस्थाबाट संकलित रकम क्रिष्टल डाइग्नोस्टिक सेन्टरसँग जोडिएको कारोबारमार्फत बुझाउने गरिएको आरोप छ । कागजातमा प्रत्येक महिनाको १ र १५ तारिखतिर कुन स्वास्थ्य संस्थाबाट कति जनाको परीक्षण भयो भन्ने विवरण संकलन हुने र त्यसपछि रकम उठाउने गरिएको दाबी गरिएको छ ।
क्रिष्टल डाइग्नोस्टिक सेन्टरका सञ्चालक रविन्द्र केसीको नामसमेत उजुरीमा उल्लेख छ । रकम संकलन, त्यसको हिसाबकिताब, बैंकिङ कारोबार र विदेशमा रकम पठाइएको भनिएको विषयमा केसीसहित सम्बन्धित व्यक्तिहरूको भूमिका के थियो भन्ने स्वतन्त्र अनुसन्धानबाट स्पष्ट हुन आवश्यक छ ।
उजुरीमा मलेसियामा रकम पठाउनुपर्ने बहाना बनाइएको र केही कारोबार हुण्डीमार्फत हुने गरेको आरोप पनि छ । तर रकम वास्तवमै कहाँबाट, कसको निर्देशनमा र कुन प्रयोजनका लागि पठाइएको थियो भन्ने कुरा बैंक विवरण, वित्तीय अभिलेख तथा अन्य प्रमाणबाट पुष्टि हुनुपर्नेछ । उपलब्ध गराइएको उजुरीमा विभिन्न बहानामा स्वास्थ्य संस्थाबाट प्रतिव्यक्ति दुई हजार रुपैयाँ उठाइएको हिसाब जोड्दै करिब एक अर्ब रुपैयाँ ठगी भएको दाबी गरिएको छ । त्यसबाहेक व्यवसायीबाट वार्षिक १० देखि १५ करोड रुपैयाँसम्म थप रकम असुल्ने गरिएको आरोप पनि लगाइएको छ ।
उजुरीमा खड्काले विगतमा सामान्य आर्थिक हैसियतबाट व्यवसाय सुरु गरेको भए पनि हाल करिब चार अर्ब रुपैयाँबराबरको सम्पत्ति जोडेको दाबी गरिएको छ । काठमाडौंका विभिन्न स्थानमा घरजग्गा खरिद गरिएको र केही सम्पत्ति श्रीमती, सासू, दिदीबहिनी तथा अन्य आफन्तको नाममा राखिएको आरोपसमेत उजुरीमा समेटिएको छ ।
त्यस्तै, विभिन्न कम्पनीको वास्तविक कारोबार लुकाएर नक्कली वा यथार्थसँग नमिल्ने लेखापरीक्षण प्रतिवेदन तयार गरी कर कार्यालयमा पेस गरिएको तथा निजी खर्चलाई व्यावसायिक खर्चका रूपमा देखाइएको आरोप पनि लगाइएको छ ।
उजुरीमा महासंघका तत्कालीन पदाधिकारी तथा केही स्वास्थ्य व्यवसायीले खड्काको आर्थिक गतिविधि र कार्यशैलीको विरोध गरेको उल्लेख छ । केही व्यवसायीले सामूहिक रूपमा रकम फिर्ता माग गरेको र कथित रूपमा रकम नदिने निर्णयमा सहमति जनाएको दाबी पनि कागजातमा गरिएको छ । उजुरीकर्ताहरूले सफ्टवेयर बन्द हुने, व्यवसाय सञ्चालन प्रभावित हुने र आर्थिक नोक्सानी बेहोर्नुपर्ने डरका कारण धेरै स्वास्थ्य संस्था खुलेर विरोध गर्न नसकेको बताएका छन् । केही व्यवसायीले यस्तो प्रणालीप्रति असहमति जनाउँदै साझेदारीबाट बाहिरिएको वा संस्था नै बिक्री गरेको दाबीसमेत गरिएको छ ।
उजुरीमा खड्काले राजनीतिक व्यक्तित्व तथा विभिन्न सरकारी निकायका अधिकारीसँग पहुँच रहेको दाबी गर्दै त्यसको आडमा आफ्नो प्रभाव कायम राख्ने गरेको आरोप लगाइएको छ । केही रकम मलेसियासँग सम्बन्धित व्यक्तिहरूलाई पठाउने र कारोबारका क्रममा विभिन्न माध्यम प्रयोग गर्ने आरोपसमेत कागजातमा उल्लेख छ ।