काठमाडौं, मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रणालीमा प्रभाव जमाएका स्वास्थ्य व्यवसायी कैलाश खड्कामाथि अकूत सम्पत्ति आर्जनदेखि व्यवसायीबाट ठूलो रकम असुलीसम्मका गम्भीर आरोप लागेका छन् ।
खड्का बिहीबार पक्राउ परेपछि उनीसँग जोडिएका आर्थिक कारोबार, सम्पत्ति तथा बायोमेट्रिक प्रणाली सञ्चालनसँग सम्बन्धित विषय फेरि चर्चामा आएको हो । प्राप्त विवरण तथा सम्बन्धित व्यवसायीहरूले उपलब्ध गराएका भनिएका कागजातमा खड्का र उनका परिवार तथा आफन्तको नाममा ठूलो परिमाणमा सम्पत्ति जोडिएको दाबी गरिएको छ ।
उपलब्ध विवरणअनुसार काठमाडौँका विभिन्न स्थानमा मात्रै करोडौँ रुपैयाँ मूल्य पर्ने जग्गा तथा घर खड्काका परिवार र आफन्तको नाममा रहेको दाबी गरिएको छ । भीमसेनगोलामा करिब ७ आना जग्गामा बनेको करिब १० करोड रुपैयाँ मूल्य पर्ने घर सासुको नाममा रहेको, सिनामंगलमा साढे ७ आना जग्गामा रहेको करिब १५ करोड रुपैयाँ मूल्यको सम्पत्ति उनकी श्रीमती प्रबिना प्रजापतिको नाममा रहेको विवरणमा उल्लेख छ ।
त्यस्तै, इमाडोलमा करिब ८ आना जग्गा रहेको र त्यसको मूल्य करिब ३ करोड २० लाख रुपैयाँ पर्ने दाबी गरिएको छ। साँखुमा करिब ४२ आना जग्गा उनका भिनाजु हरि विष्टको नाममा खरिद गरी नामसारी गरिएको विवरणमा उल्लेख छ । भक्तपुरको दुवाकोटमा ससुरालीको नाममा करिब ५ करोड रुपैयाँ मूल्य पर्ने घर निर्माण गरिएको तथा आफन्तका नाममा समेत जग्गा खरिद गरिएको दाबी गरिएको छ ।
खड्काका परिवारका सदस्यहरूको नाममा विभिन्न बैंकमा मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) राखिएको दाबीसमेत प्राप्त विवरणमा छ। प्रबिना प्रजापतिकी दिदी सुनौला प्रजापतिको नामबाट प्राइम बैंकमा रहेको ७० लाख रुपैयाँको चेकसम्बन्धी कारोबार पनि विवरणमा उल्लेख गरिएको छ। उक्त रकम कसरी र कुन प्रयोजनका लागि आएको हो भन्ने विषयमा समेत प्रश्न उठाइएको छ ।
ऋण तिर्न कठिन अवस्थाबाट ठूलो सम्पत्तिसम्म पुगेको दाबी
प्राप्त विवरणमा केही वर्षअघि खड्काको सम्पत्ति कैलाश विकास बैंकले लिलाम गर्ने प्रक्रिया अघि बढाएको उल्लेख छ। २०७३ सालमा बैंकले ऋण चुक्ता गर्न पाँच दिने सूचना दिएको प्रमाण आफूसँग रहेको दाबीसमेत विवरण उपलब्ध गराउने पक्षले गरेको छ ।
खड्काले २०७० सालअघिको ऋणसमेत चुक्ता गरेको र आफ्नो दाजुको नाममा रहेको ऋणसमेत तिरेको दाबी गरिएको छ । तर त्यसपछि छोटो अवधिमै परिवार तथा आफन्तको नाममा ठूलो परिमाणमा सम्पत्ति जोडिएको भन्दै स्रोतले त्यसको आर्थिक स्रोतबारे छानबिन हुनुपर्ने माग गरेको छ । खड्कासँग जोडिएको वेलकेयर हस्पिटल तथा हाल वेलकेयर डाइग्नोष्टिकसँग सम्बन्धित व्यवसायमा अन्य दुई सञ्चालक आर्थिक रूपमा कठिन अवस्थामा रहेको तर खड्का भने ठूलो सम्पत्तिका मालिक बनेको भन्दै प्रश्न उठाइएको छ ।
बायोमेट्रिक प्रणालीबाट व्यवसायीमाथि आर्थिक भार थपेको आरोप
खड्कामाथि सबैभन्दा गम्भीर आरोप भने मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणसँग जोडिएको बायोमेट्रिक प्रणालीबाट व्यवसायीहरूबाट नियमित रकम उठाएको भन्ने छ।
प्राप्त विवरणअनुसार ३६ वटा स्वास्थ्य संस्थाबाट मलेसियाको ‘रोयल्टी’का नाममा प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ र अनलाइन एक्स–रे रिपोर्टका नाममा ५ सय रुपैयाँ गरी प्रतिव्यक्ति २ हजार रुपैयाँ उठाउने गरिएको दाबी गरिएको छ । यो रकम महासंघका तत्कालीन प्रशासनिक अधिकृत रविन्द्र केसीमार्फत विभिन्न स्वास्थ्य संस्थाबाट संकलन गर्ने गरिएको आरोप छ। रकम नतिर्ने संस्थाको बायोमेट्रिक प्रणाली वा सफ्टवेयर बन्द गरिदिने भन्दै व्यवसायीलाई दबाबमा राख्ने गरिएको दाबीसमेत विवरणमा गरिएको छ।
व्यवसायीहरूबाट उठाइएको रकमको कुल परिमाण ठूलो रहेको दाबी गरिएको छ । उपलब्ध विवरणमा विभिन्न अवधिमा संकलन गरिएको रकमलाई जोडेर करिब १ अर्ब रुपैयाँसम्मको रकम उठाइएको हुनसक्ने दाबी गरिएको छ। तर उक्त रकमको वास्तविक परिमाण, संकलन अवधि र प्रयोगबारे सम्बन्धित निकायबाट आधिकारिक पुष्टि हुन बाँकी छ । कतिपय स्वास्थ्य संस्थामा रकम संकलनसम्बन्धी भिडियो तथा अडियो प्रमाणसमेत रहेको दाबी गरिएको छ । रकम कहाँ, कसरी र कुन प्रयोजनमा प्रयोग भयो भन्ने विषयमा महासंघका तत्कालीन प्रशासनिक अधिकृत रविन्द्र केसीसँग महत्वपूर्ण जानकारी हुनसक्ने भन्दै उनीमाथिसमेत छानबिन गर्नुपर्ने माग गरिएको छ ।
मलेसियाबाट प्रणाली खरिदका नाममा रकम उठाएको आरोप
प्राप्त विवरणमा २०७० सालतिर मलेसियाबाट बायोमेट्रिक प्रणाली खरिद गर्ने भन्दै ३९ वटा स्वास्थ्य संस्थाबाट प्रतिमेडिकल ५० लाख रुपैयाँका दरले रकम उठाइएको दाबी गरिएको छ ।
त्यस्तै, सिस्टम तथा हार्डवेयर खरिदका लागि प्रतिमेडिकल ८ हजार अमेरिकी डलरका दरले सिद्धार्थ बैंक, तीनकुनेबाट मलेसिया रकम पठाइएको र बाँकी रकमको हिसाब स्पष्ट नभएको आरोपसमेत लगाइएको छ। यी कारोबारको वास्तविकता, रकम कति उठाइयो, कति विदेश पठाइयो र बाँकी रकम कहाँ प्रयोग भयो भन्ने विषयमा सम्बन्धित बैंकिङ विवरण तथा कारोबारका कागजातबाट मात्रै यकिन हुन सक्ने देखिन्छ।
विदेशमा रकम पठाएको आरोप
खड्कामाथि आफ्नी बहिनीका श्रीमानलाई क्यानडामा व्यवसाय सञ्चालन गर्न विभिन्न व्यक्तिको नामबाट हुण्डीमार्फत रकम पठाएको आरोपसमेत लगाइएको छ । तर यस्तो कारोबारको वास्तविकता पुष्टि गर्न बैंकिङ तथा अन्य वित्तीय अनुसन्धान आवश्यक देखिन्छ । त्यस्तै, परिवारका सदस्य तथा आफन्तको नाममा सम्पत्ति र रकम व्यवस्थापन गरिएको हुनसक्ने भन्दै विवरणमा आशंका व्यक्त गरिएको छ ।
महँगो गाडी र व्यक्तिगत खर्चमाथि पनि प्रश्न
खड्काको जीवनशैली र खर्च क्षमतामाथिसमेत प्रश्न उठाइएको छ । प्राप्त विवरणमा करिब २ करोड ८८ लाख रुपैयाँ मूल्य पर्ने टोयोटा गाडी तथा करिब ६९ लाख रुपैयाँ मूल्य पर्ने विद्युतीय कार खरिद गरिएको उल्लेख छ। त्यस्तै, छोराको व्रतबन्ध याक एन्ड यती होटलमा आयोजना गर्दा १ करोड रुपैयाँभन्दा बढी खर्च गरिएको दाबी गरिएको छ । यति ठूलो खर्च गर्ने आर्थिक क्षमता र त्यसको स्रोतबारे समेत प्रश्न उठाइएको छ ।
खड्काले सार्वजनिक सञ्चारमाध्यममा आफ्नो आम्दानीको स्रोतबारे दिएको अभिव्यक्तिसमेत प्राप्त विवरणमा उल्लेख गरिएको छ। ऋषि धमलाको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा आम्दानीको स्रोतबारे सोधिएको प्रश्नमा उनले आफूले एउटा मेडिकल सञ्चालन गरेको बताएको र त्यसको रेकर्डसमेत रहेको दाबी गरिएको छ।
महासंघको रकम हिनामिना
खड्का स्वास्थ्य व्यवसायी महासंघको नेतृत्वमा रहँदा महासंघको नाममा विभिन्न स्रोतबाट आएको रकमको प्रयोगमा समेत प्रश्न उठाइएको छ ।
प्राप्त विवरणमा महासंघका बैठक तथा कार्यक्रमहरू महँगा पाँचतारे होटलमा आयोजना गर्ने गरिएको र महासंघको सञ्चालन खर्चका नाममा व्यवसायीबाट उठाइएको रकममध्ये ठूलो हिस्सा पारदर्शी रूपमा प्रयोग नभएको आरोप लगाइएको छ । त्यस्तै, महासंघको नाममा विभिन्न स्वास्थ्य संस्थाबाट रकम उठाएर करिब ३० करोड रुपैयाँसम्म हिनामिना गरिएको हुनसक्ने दाबीसमेत विवरणमा गरिएको छ । उक्त दाबीको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ ।
अनमोल मेडिकल सेन्टरको अडिटमाथि पनि प्रश्न
खड्काको नाममा रहेको भनिएको अनमोल मेडिकल सेन्टरबाट नभएको आम्दानी देखाएर फर्जी अडिट रिपोर्ट तयार गरी पेश गरिएको आरोपसमेत लगाइएको छ।
यस विषयमा अडिट रिपोर्ट, बैंकिङ कारोबार, कर विवरण तथा संस्थाको वास्तविक आम्दानी–खर्च परीक्षण गरेपछि मात्रै आरोपको वास्तविकता पुष्टि हुन सक्ने देखिन्छ।
राजनीतिक तथा प्रशासनिक पहुँचको प्रभाव देखाएको आरोप
खड्काले विभिन्न राजनीतिक नेता तथा उच्चपदस्थ सरकारी अधिकारीसँग आफ्नो निकट सम्बन्ध रहेको भन्दै व्यवसायीमाझ प्रभाव जमाउने गरेको आरोपसमेत लगाइएको छ। प्राप्त विवरणमा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य तथा पूर्वडीएसपी गोविन्द थपलियालगायतसँग निकटता देखाउँदै व्यवसायमा प्रभाव विस्तार गरेको दाबी गरिएको छ ।
त्यस्तै, शेरबहादुर देउवा, आरजु राणा देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठलगायतका राजनीतिक नेतासँग आफ्नो निकट सम्बन्ध रहेको बताउने गरेको र सरकारी मन्त्रालय, विभाग तथा सुरक्षा निकायका उच्च अधिकारीसँग समेत पहुँच रहेको दाबी गर्ने गरेको आरोप लगाइएको छ ।
अब छानबिनको दायरामा सम्पत्ति र आर्थिक कारोबार
खड्का पक्राउ परिसकेको अवस्थामा उनीसँग सम्बन्धित सम्पत्ति, बैंकिङ कारोबार, स्वास्थ्य संस्थाबाट उठाइएको रकम, बायोमेट्रिक प्रणाली सञ्चालनको आर्थिक संरचना, विदेशमा भएको भनिएको कारोबार तथा परिवार र आफन्तका नाममा रहेको सम्पत्तिको स्रोतबारे छानबिन महत्वपूर्ण बन्ने देखिएको छ ।
विशेषगरी ३६ स्वास्थ्य संस्थाबाट प्रतिव्यक्ति २ हजार रुपैयाँका दरले रकम उठाइएको भनिएको विषय, मलेसियाबाट बायोमेट्रिक प्रणाली खरिदका नाममा संकलन गरिएको भनिएको रकम, त्यसको बैंकिङ कारोबार तथा विदेशमा पठाइएको भनिएको रकमको अनुसन्धानबाट आर्थिक कारोबारको वास्तविक तस्वीर बाहिर आउन सक्ने देखिन्छ ।
प्राप्त विवरणमा खड्काको सम्पत्तिको मूल्य अर्ब रुपैयाँभन्दा बढी हुनसक्ने दाबी गरिएको छ। तर सम्पत्तिको वास्तविक मूल्य, स्वामित्व,
स्रोत र वैधानिकता सम्बन्धित सरकारी निकायको अनुसन्धान तथा सम्पत्ति विवरण, बैंकिङ कारोबार, कर अभिलेख र जग्गा–घरको आधिकारिक अभिलेखबाट मात्र यकिन हुनेछ। खड्कामाथि लगाइएका यी सबै आरोपमाथि प्रहरीले पक्राउपछि सुरु हुने अनुसन्धान, सम्बन्धित कागजात, बैंकिङ विवरण, सम्पत्ति अभिलेख र सम्बन्धित व्यक्तिहरूको बयानबाट आरोपको वास्तविकता टुंगो लाग्नेछ ।