मुस्ताङ, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले “चिनियाँ राजदूत कोरलानाकाबाट मुस्ताङ आउनुभएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन,” भनिन् । उनी तीनदिने भ्रमणमा लोमान्थाङ पुगेकोको, टोलीमा पाँच जना चिनियाँ रहेका र आज लोमान्थाङबाट कोरला नाका हुँदै चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको राससलाई जनाइएको छ ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनसार कोरला नाकाको वस्तुस्थिति बुझ्न चिनियाँ राजदूत मुस्ताङ आएको हो । लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको विकल्प बनेको केरुङ भोटेकोशी बाढीबाट बगरमा परिणत भएपछि कोरला पुनः सञ्चालनको माग भइरहेका बेला चिनियाँ राजदूतको मुस्ताङ भ्रमणलाई अर्थपूर्ण मानिएको छ । रसुवा र तातोपानी नाका बन्द भएयता मुस्ताङ भन्सार कार्यालयले दैनिक रु ३० करोडको हाराहारीमा राजस्व सङ्कलन गर्दै आएका थिए ।