ब्रसेल्स, युक्रेनले आफ्नो आर्थिक स्थायित्व तथा सुधार कार्यक्रमलाई सघाउन युरोपेली संघ (इयू) बाट दुई दशमलव नौ अर्ब युरो (करिब तीन दशमलव २६ अर्ब अमेरिकी डलर) प्राप्त गरेको युक्रेनी अर्थ मन्त्रालयले शुक्रबार जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार उक्त रकम समष्टिगत आर्थिक स्थायित्व कायम राख्न, प्राथमिकताप्राप्त बजेट खर्च व्यवस्थापन गर्न, पुनर्लाभ तथा आधुनिकीकरणका कार्यक्रम अघि बढाउन तथा युरोपेली संघको सदस्यतातर्फको यात्रासँग सम्बन्धित सुधार कार्यक्रम कार्यान्वयन गर्न उपयोग गरिनेछ ।
कुल रकममध्ये युक्रेनले ‘युक्रेन सहयोग ऋण’(युएसएल) अन्तर्गत पहिलो किस्तास्वरूप ८० करोड युरो (करिब ८९ करोड ८० लाख अमेरिकी डलर) प्राप्त गरेको मन्त्रालयले जनाएको छ । युएसएल युरोपेली संघको ९० अर्ब युरो (करिब १०१ अर्ब अमेरिकी डलर) बराबरको वित्तीय संयन्त्र हो । यो संयन्त्र सन् २०२६–२०२७ अवधिमा युक्रेनको बजेट तथा रक्षासम्बन्धी आवश्यकतामा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको सिन्ह्वाले जनाएको छ ।