काठमाडौँ, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाहिर हल्ला भएजस्तो सरकार कमजोर नरहेकाले नढल्ने बताएका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा धारणा राख्दै उनले सरकार अहिले ढल्ने, दसैँमा ढल्ने तथा तिहार र छठपछि ढल्ने भन्ने हल्ला बाहिर चलिरहेको भए पनि त्यस्तो सम्भावना नरहेको बताए।
“सरकार अहिले ढल्छ, दसैँमा ढल्छ, तिहार र छठपछि ढल्छ भन्ने हल्ला बाहिर छ, त्यो सम्भव छैन। सरकार बलियो छ, सरकार ढल्छ भन्नेहरू नै ढल्नेछन्”, उनले भने।देश बनाउने अभियानमा सबै दललाई साथै लिएर अघि बढ्ने उनले बताए। सरकारको शैली र नियत सही रहेको दाबी गर्दै उनले परिवर्तनको मुद्दामा रास्वपाले नेतृत्व गरिरहेको बताए।
दलीय सहकार्यका लागि रास्वपा जहिले पनि तयार रहेको बताउँदै उनले देश परिवर्तनको मुद्दामा सबैलाई साथमा हिँड्न आह्वान गरे।रास्वपा नेतृत्वको सरकारले मुलुकको लोकतन्त्र र अर्थतन्त्र कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताले मतदान गरेर रास्वपालाई ठूलो पार्टी बनाएको र परिवर्तनको मुद्दामा पार्टी सदैव गम्भीर रहने बताए।
“जनताको मन जित्नेगरी काम गर्दैछौँ। लोकतन्त्रको हुर्मत लिने काम गर्नेछैनौँ। तपाईंहरूले कसैले पनि त्यो काम नगर्नुहोला”, उनले भने। सो अवसरमा सभापति लामिछानेले आफ्नो दललाई महाधिवेशनमा आमन्त्रण गरेकोमा नेपाली कांग्रेसलाई धन्यवाद दिए।