काठमाडौँ, भोटेकोशी/त्रिशूलीमा बाढी गएको ४७औँ दिनको दिन आइतबार बिहान गोरखाको बूढीगण्डकी नदीमा त्यस्तै झल्को दिने गरी बाढी गएको छ । यद्यपि भोटेकोशी बाढीको जति क्षति बूढीगण्डकीले पुर्याएको छैन । क्षति कम गरे पनि बाढीको पूर्वसूचनामा फेरि पनि लापरबाही भएको छ । समयमै बाढीको सूचना प्रशारण हुन नसक्दा केही मानवीय क्षति भने भएको छ ।
बूढीगण्डकी बाढीले पनि जलविद्युत, सडक, पुल र मानव बस्तीमा क्षति पुर्याएको छ । प्रारम्भिक अध्ययनअनुसार पहिरोले बूढीगण्डकीको सहायक खोला स्यारखोलामा बाढी आएको थियो । स्यारखोलामा बाढी आउनुमा त्यसको सहायक खोला उङ्गिलुङ खोलामा पहिरो खसेर नदी पुरेर ताल बनाएको र सो ताल फुट्दा बाढी आएर तल्लो क्षेत्रको आरुघाट बजारसम्म क्षति पुर्याएको छ । आरुघाटबाट धादिङको सल्यानटारतर्फ जाने मोटरेबल पुल पनि बगाएको छ ।
बूढीगण्डकीमा बाढी आउनुमा त्यसको सहायक खोलामा पहिरो खसेर ताल बनेको र त्यही ताल फुटेर बाढी आएको हो । भोटेकोशी बाढीमा भने हिमपहिरो गएको अहिलेसम्मको दाबी छ । यद्यपि हिम पहिरो गएको भनिएको लाङटाङको उत्तरतर्फको लुरिङ हिमाल क्षेत्रमा नेपाली प्राविधिकहरू पुग्न सकेको छैनन् । यद्यपि बूढीगण्डकी बाढीमा भने पहिरो खसेको ठाउँसम्म हेलिकोप्टरबाट निरीक्षण भएको छ । पहिरो गएको कारण पत्ता लगाउन प्राविधिक टोली गठन गरिसकिएको छ ।
बूढीगण्डकीको सहायक खोला स्यारखोलामा पहिरो खसेर केही दिन अगाडिदेखि ताल बनेको र आइतबार बिहान फुटेको अनुमान गरिएको छ । स्यारखोलामा बाढीले फिलिम, घट्टेखोलादेखि सल्लेरीसम्म धेरै असर गरेको छ । बाढीले पुल र बाटोघाटो बगाएका कारण उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको सडक तथा पैदलमार्ग सदरमुकामसँग पूर्णतः विच्छेद भएको छ ।
उङ्गिलुङ खोला आसपास भेडा चराउन गएका पाँच जना बाढीपछि सम्पर्कविहीन भएका छन् । यसरी सम्पर्कविहीन हुनेमा चुमनुब्री–६ चुम्चेतका ६५ वर्षीय सोनाम लामा, उनकी श्रीमती ५९ वर्षीया मेम्मो अजी लामा, ६६ वर्षीय सोम भुटी लामा, ७३ वर्षीय कर्मा लामा र ४१ वर्षीय दोर्जे लामा छन् ।
बूढीगण्डकीमा बाढी आउँदा चुमनुब्री–३ का घट्टेखोला, सल्लेरी, पैंयु र जगत बगर तथा धार्चे गाउँपालिका–५ माछाखोलाका ४५ घरमा पूर्ण र २७ घरमा आंशिक क्षति पुगेको बताइएको छ । नदी किनारका केही घर बगेका छन् भने केही घरमा पानीसहितको लेदो पसेको छ ।
बाढीका कारण अलपत्र परेकालाई उद्धार गर्न आइतबार चार वटा हेलिकोप्टर परिचालन गरिएको थियो । ८२ जनालाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको नेपाली सेनाको भनाइ छ । बाढीले गोरखा र धादिङ जोड्ने आरुघाट पुलको साथै आरुघाट गाउँपालिका–२ को मान्वु र ३ को सोती जोड्ने मोटरेबल पुल पनि बगाएको छ । चुमनुब्री–३ नाग्चेत र फिलिम जोड्ने पुरानो झोलुंगे पुल र धार्चे गाउँपालिका–५ माछाखोला र केरौजा जोड्ने झोलुंगे पुल पनि बाढीले बगाएको छ ।
चुमनुब्री–६ र ७ वडा पुग्ने एक मात्र पैदलमार्गको क्यान्टिलिभर पुल पनि बगेको छ । बाढीपछि मनास्लु क्षेत्र घुम्न गएका पर्यटक बीचबाटामै रोकिएका छन् । बाढीले पदमार्ग र पुल बगाएका कारण शनिबार राति बास बसेकै ठाउँमा पर्यटक रोकिएका हुन् । बाढीले धार्चे र चुमनुब्री गाउँपालिका क्षेत्रका तीन वटा जलविद्युत् आयोजनामा क्षति गरेको छ । चुमनुब्री–३ सल्लेरीमा निर्माणाधीन ३४१ मेगावाटको अर्धजलाशयुक्त जलविद्युत् आयोजनाको क्याम्पमा बाढीले क्षति पु¥याएको छ । दोभानको २४.५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको क्याम्प र बेलिब्रिजमा पनि क्षति पुगेको छ । १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनाको पहुँच सडकमा बाढीले क्षति पुर्याएको छ ।
चार जलविद्युत् आयोजनामा क्षति
बूढीगण्डकी नदीमा आएको बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । आइतबार बिहान बूढीगण्डकी नदीमा आएको बाढीका कारण आयोजनाको क्याम्प क्षेत्र, बेलीब्रिज, निर्माण सामग्री तथा उपकरण र पहुँच सडकमा क्षति पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बूढीगण्डकी करिडोरमा रहेका ३४१ मेगावाट क्षमताको बुढीगण्डकी, २४ दशमलव पाँच मेगावाटको दोभान खोला, ३० दशमलव ५९ मेगावाटको यारखोला र १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनामा क्षति पुगेको हो ।
बूढीगण्डकी जलविद्युत् आयोजना प्रवद्र्धक टाइम्स इनर्जी प्रालिका अनुसार आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ भने केही निर्माण उपकरण बाढीले बगाएको छ । यस्तै, दोभान खोला जलविद्युत् आयोजनाअन्तर्गत क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ । आयोजनाका लागि निर्माण गरिएको बेलीब्रिज बाढीले बगाएको छ ।
त्यसैगरी, यार खोला जलविद्युत् आयोजना अन्तर्गतको बेलीब्रिजमा क्षति पुगेको छ भने निर्माण सामग्री तथा उपकरणसमेत बाढीले बगाएको मन्त्रालयले जनाइएको छ । यस्तै, माछा खोला जलविद्युत् आयोजनास्थल पुग्ने पहुँच सडक र आयोजनास्थल जोड्ने पुलमा क्षति पुगेको छ ।
बाढीका कारण जलविद्युत् आयोजनाका भौतिक संरचना र निर्माणकार्यमा परेको क्षतिको पूर्ण विवरण तथा आर्थिक नोक्सानीको यकिन विवरण संकलन भइ नसकेको मन्त्रालयले जनाएको छ ।