काठमाडौं, ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको दुई दशक पूरा गर्दै आगामी १६ असोज २०८३ मा २०औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । दुई दशकको व्यावसायिक यात्रामा बैंकले वित्तीय आकार, ग्राहक आधार, सेवा सञ्जाल, डिजिटल क्षमता तथा व्यवसायिक पहुँच विस्तार गर्दै आएको जानकारी दिएको छ ।
बैंकको हाल देशभर तीन सय ४१ वटा शाखा कार्यालय, तीन सय ६६ वटा एटीएम काउन्टर, एक सय ४१ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर सञ्चालनमा छन् । विदेशमा तीन प्रतिनिधि कार्यालयसमेत रहेको बैंकले विभिन्न माध्यममार्फत देशभर एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्म बैंकको कुल निक्षेप सात खर्ब ४४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कुल कर्जा चार खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ तथा चुक्ता पुँजी ३८ अर्ब ११ करोड ६० लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ । सो अवधिमा बैंकले छ अर्ब तीन करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५ दशमलव ९० प्रतिशतले बढी हो । बैंकको निक्षेप २१ दशमलव ८० प्रतिशत र कर्जा लगानी आठ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ ।
बैंकले आगामी साधारणसभामा सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पेस गरेको छ । साधारणसभाबाट प्रस्ताव स्वीकृत भएपछि उक्त लाभांश सेयरधनीलाई वितरण गरिनेछ ।
हरित कर्जालाई दीर्घकालीन व्यवसायिक वृद्धिको आधार बनाउने
ग्लोबल आईएमई बैंकले आगामी दिनमा दिगो बैंकिङ र हरित कर्जालाई आफ्नो व्यवसायिक रणनीतिको महत्वपूर्ण हिस्साका रूपमा अघि बढाउने जनाएको छ । बैंकले वातावरणीय तथा सामाजिक पक्षलाई व्यवसायिक गतिविधिसँग जोड्दै दिगो वित्तीय प्रणाली विकास गर्ने रणनीति लिएको छ ।
दिगो बैंकिङसम्बन्धी गतिविधिलाई संस्थागत बनाउन बैंकले ‘सस्टेनेवल बैंकिङ कमिटी’ गठन गरेको छ भने ‘सस्टेनेवल स्टेटमेन्ट’ सार्वजनिक गर्दै वातावरणीय तथा सामाजिक जिम्मेवारीलाई व्यवसायसँग जोड्ने प्रतिबद्धता जनाएको छ ।
बैंकले वातावरणमैत्री आवास तथा ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्न ‘ग्रिन होम लोन’ विस्तार गर्ने योजना अघि सारेको छ । त्यस्तै, ‘रुफटफ सोलार पीभी लोन’ मार्फत नवीकरणीय ऊर्जामा वित्तीय पहुँच विस्तार गर्ने तथा कृषि क्षेत्रमा वातावरणीय एवं जलवायु जोखिम सम्बोधन गर्न ‘क्लाईमेट स्मार्ट एग्रीकल्चर लोन’ विस्तार गर्ने तयारी गरेको छ । साना तथा मझौला उद्यमलाई हरित व्यवसायमा रूपान्तरण गर्न ‘Green SME Loan’ लगायतका वित्तीय उत्पादन विस्तार गर्ने बैंकको योजना छ । बैंकले हरित वित्तलाई वातावरण संरक्षणमा मात्र सीमित नराखी दीर्घकालीन व्यवसायिक अवसर तथा जोखिम व्यवस्थापनसँग समेत जोडेको जनाएको छ ।
वित्तीय पहुँचबाट बाहिर रहेका वर्गलाई औपचारिक वित्तीय प्रणालीमा ल्याउने उद्देश्यले वित्तीय समावेशीकरणलाई दिगो वित्तसँग जोडेर अघि बढाउने नीति पनि बैंकले लिएको छ । दिगो विकासका लक्ष्य हासिल गर्न वित्तीय क्षेत्रबाट योगदान बढाउने तथा नवीन वित्तीय उपकरणमार्फत दिगो परियोजनामा स्रोत परिचालन गर्ने सम्भावनालाई समेत बैंकले प्राथमिकता दिएको छ । बैंकले पार्टनरसीप फर कार्वन एकाउन्टिङ फिनाकल्स (पीसीएएफ) मा आबद्ध हुँदै आफ्नो वित्तीय गतिविधिबाट हुने कार्बन फुटप्रिन्ट मापन तथा व्यवस्थापनतर्फ कदम अघि बढाएको जनाएको छ । साथै, कार्वन डिस्क्लोजर रिर्पोट सार्वजनिक गरी वातावरणीय प्रभाव तथा जलवायुसम्बन्धी जानकारीलाई संस्थागत रूपमा प्रस्तुत गर्ने अभ्याससमेत सुरु गरेको छ ।
आगामी दिनमा ‘ग्रिन बोन्ड, सस्टेनेबिलीटी बोन्ड्स तथा क्लाइमेट फन्डस्लगायतका दिगो वित्तीय उपकरण विकास गर्ने योजना अघि सार्दै बैंकले हरित कर्जालाई दीर्घकालीन व्यवसायिक वृद्धिको महत्वपूर्ण आधार बनाउने लक्ष्य लिएको छ ।