काठमाडौं, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले अर्थतन्त्र चलायमान बनाउन आवश्यक कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् ।
नेपाल उद्योगा वाणिज्य महासंघको प्रतिनिधिसंग बिहीबार भएको भेटवार्तामा उनले निजी क्षेत्रले उठाएका माग सम्बोधन गर्न तयार रहेको बताएका हुन् । आर्थिक विकास, समृद्धि र व्यवसायमैत्री वातावरण निर्माणका लागि नीतिगत सुधारका काम भइरहेको उनले बताए । निजी क्षेत्रले भोगिरहेका समस्या र सुधार गर्नुपर्ने विषयलाई स्पष्ट रूपमा सरकारसमक्ष राख्न उनले आग्रह गरे । साथै, उनले आर्थिक गतिविधि विस्तारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । ‘निजी क्षेत्रका समस्याहरु के के छन् । के कस्ता कानुनी सुधार गर्दा देशमा आर्थिक गतिविधि बढ्छ । रोजगारी सिर्जना हुन्छ । अर्थतन्त्र चलायमान हुन्छ । सरकार त्यो गर्न तयार छ । ती समस्या निजी क्षेत्रले खुलस्त राखोस’, उनले भने । मन्त्री लम्सालले स्थानीय उद्योगहरुको प्रवद्र्धन तथा दिगो सञ्चालनका लागि तत्पर रहेको पनि बताए ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रले भोगिरहेका समस्या, नीतिगत सुधार र अर्थतन्त्रलाई चलायमान बनाउने विषयका बारेमा ध्यानाकर्षण गराएका थिए । मुलुकमा लगानीको वातावरण निर्माण, व्यवसाय सञ्चालनमा देखिएका नीतिगत तथा व्यावहारिक कठिनाइको समाधान, बाढीपहिरोपछि प्रभावित आर्थिक गतिविधिको पुनरुत्थान र निर्यात प्रवद्र्धनका लागि सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने उनको भनाइ थियो । निजी क्षेत्र उत्पादन र उत्पादकत्व वृद्धि, निर्यात विस्तार तथा रोजगारी सिर्जनामार्फत अर्थतन्त्रलाई गतिशील बनाउन सधैं तयार रहेको उनको भनाइ छ । सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको उनले बताए । अध्यक्ष श्रेष्ठले उद्योगी–व्यवसायीले भोगिरहेका नीतिगत, प्रशासनिक तथा व्यावहारिक समस्याको पहिचान गरी समाधान गर्न र लगानी विस्तारमा देखिएका अवरोध हटाउन सरकारसँग आग्रह गरे ।
बाढीपहिरोजस्ता प्राकृतिक विपद्पछि प्रभावित उद्योग, व्यवसाय, आपूर्ति प्रणाली तथा पूर्वाधारको पुनःस्थापना गर्दै आर्थिक गतिविधिलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहजीकरण गर्नुपर्ने विषयमा पनि महासंघले जोड दिएको थियो ।