विराटनगर । मोरङको केराबारीमा विराटनगरको ‘पिजफायर रेस्टुरेन्ट’ का सञ्चालक ५१ वर्षीय मनोज खत्री मृत अवस्थामा फेला परेका छन् । शनिबार अपरान्ह केराबारी गाउँपालिकास्थित धारापानी जंगलमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जनाएका छन् ।
उनको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ । रोजगारीको सिलसिलामा लामो समय विदेशमा बिताएका खत्रीले स्वदेश फर्किएर विराटनगरको सेन्ट्रल मलबाट पिजफायर सुरु गरेपछि उनले मोरङको विराटचोक र काठमाडौंमा पनि पिजफायरको शाखा सुरु गरेका थिए ।
विराटनगर महानगरपालिका–३ निवासी खत्री कहिलेकाही केराबारीसम्म पुग्ने गरेको खुलेपनि मृत्युको यकिन कारण भने हालसम्म खुल्न बाँकी रहेको उनले बताए । व्यवसायीहरूले विराटनगरमा आधुनिक ‘पिज्जा कल्चर’ भित्र्याउन र लोकप्रिय बनाउन खत्रीको योगदान रहेको बताए । शनिबार राति आफन्तले उनको शवको पहिचान गरेको प्रहरीले जनाएको छ । प्रहरीले परिवारका सदस्य उनको शव फेला पर्दा भारतमा भएको बताएको छ ।