भक्तपपुर, जनप्रतिनिधि बनेपछि राज्यबाट प्राप्त हुने सेवा, सुविधा र पारिश्रमिकलाई व्यक्तिगत सुख–सुविधामा प्रयोग गर्ने प्रवृत्ति बढिरहेको गुनासो भइरहेका बेला चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी भने आफूले पाउने सुविधा समाजका कमजोर, असहाय र विपन्न नागरिकको शिक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकतामा खर्च गर्दै आएका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनबाट चाँगुनारायण नगरपालिकाको उपप्रमुखमा निर्वाचित बुढाथोकीले जनप्रतिनिधि बन्नुअघि नै आफूले पाउने सरकारी सेवा–सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगर्ने घोषणा गरेका थिए । निर्वाचित भएपछि उनले उक्त प्रतिबद्धतालाई व्यवहारमै उतार्ने प्रयास गर्दै आएका छन् ।
बुढाथोकीको सेवामुखी अभियानको एउटा महत्वपूर्ण उदाहरण हो– उपप्रमुखका रूपमा प्राप्त सरकारी सुविधाको गाडी नगर अस्पताललाई हस्तान्तरण गर्नु । २०७९ जेठमा उनले आफूले प्रयोग गर्ने बा २ झ १६२३ नम्बरको सुविधाको गाडी चाँगुनारायण नगर अस्पताललाई हस्तान्तरण गरेका थिए । अस्पतालले उक्त गाडी ज्येष्ठ नागरिक, शारीरिक अशक्त, दीर्घरोगी तथा बिरामीलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउन प्रयोग गर्ने जनाएको छ ।
दुई वर्षमै विद्यार्थीका लागि करिब १० लाख
बुढाथोकीले आफ्नो तलब तथा बैठक भत्तासमेत सामाजिक सेवामा खर्च गर्दै आएको सार्वजनिक गरेका छन् । २०८१ जेठमा आफ्नो दुई वर्षको कार्यकालको अनुभव सार्वजनिक गर्दै उनले कर कट्टीपछि प्राप्त हुने मासिक पारिश्रमिक तथा बैठक भत्तासहित करिब १० लाख रुपैयाँ विद्यार्थीको शिक्षाका लागि खर्च गरेको बताएका थिए ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न तथा आवश्यकतामा रहेका बालबालिकालाई उनले आफ्नै तलब–भत्ताबाट झोला, विद्यालय पोशाक, जुत्ता, स्टेसनरीलगायत सामग्री उपलब्ध गराउँदै आएका छन् । कतिपय अवस्थामा तलब–भत्ताबाट आएको रकमले नपुगे आफ्नै व्यक्तिगत रकम समेत थपेर विद्यार्थीलाई सहयोग गर्ने गरेको उनले बताएका छन् ।
पछिल्लो समय वडा नं. ६, नगरकोटस्थित तौथली आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुका साथै वडा नं. ६ कै गडगडे आधारभूत विद्यालय र वडा नं. २ स्थित आजाद माध्यमिक विद्यालयका विद्यार्थीलाई ट्र्याकसुटलगायत सामग्री सहयोग गरेका छन् । यी सहयोग उनले व्यक्तिगत स्रोतबाट गरेका हुन्।
कोभिड महामारीमा अस्पताललाई अक्सिजन
बुढाथोकीको समाजसेवा जनप्रतिनिधि बनेपछि मात्र सुरु भएको होइन । कोभिड–१९ महामारीका बेला अक्सिजनको चरम अभाव भएका समयमा उनले चाँगुनारायण अस्पताललाई १० थान अक्सिजन सिलिन्डर सहयोग गरेका थिए । तीमध्ये पाँचवटा सिलिन्डरका लागि बुढाथोकीको तर्फबाट मात्रै करिब एक लाख २४ हजार रुपैयाँ बराबरको सहयोग भएको थियो ।
भूकम्पदेखि विद्यालय र समुदायसम्म
बुढाथोकीले आफू जनप्रतिनिधि बन्नुअघि नै समाजसेवामा सक्रिय रहेको बताउँदै आएका छन् । उनले भूकम्पका बेला प्रभावित परिवारको घरदैलोमा पुगेर घर तथा अस्थायी टहरा निर्माणमा सहयोग गरेको, एम्बुलेन्स खरिद तथा स्वास्थ्य क्षेत्रमा सहयोग गरेको र विद्यालय निर्माणलगायत सामाजिक काममा संलग्न भएको बताएका छन् ।
दोलखाको सैलुङ गाउँपालिका–८ स्थित श्री शारदा माध्यमिक विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माणका लागि समेत उनले आर्थिक सहयोग गरेको छन् ।
शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
बुढाथोकीको सेवामूलक अभियान व्यक्तिगत सहयोगमा मात्र सीमित छैन । उपप्रमुखका रूपमा नगरपालिकाको नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएका छन् ।
उनका अनुसार चाँगुनारायण नगर अस्पतालमार्फत निःशुल्क उपचार तथा अक्सिजनको व्यवस्था, अस्पतालसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य परीक्षणलगायतका कार्यक्रम सञ्चालनमा छन् । साथै महिला तथा हिंसाविरुद्ध जनचेतना फैलाउने, न्यायिक समितिलाई प्रभावकारी बनाउने र नागरिकका आधारभूत सेवा घरदैलोमै पुर्याउने प्रयास भइरहेको उनले बताएका छन् ।
सडकदेखि सामाजिक विकाससम्म
उपप्रमुख बुढाथोकीले भौतिक पूर्वाधार विकासमा पनि आफ्नो भूमिका रहेको बताउँदै आएका छन् । नगरकोट सडक निर्माणका लागि संघीय सरकारका सम्बन्धित निकायमा पटक–पटक पहल गरेको तथा स्थानीय तहबाट समेत सडक स्तरोन्नतिमा काम अघि बढाइएको उनको भनाइ छ । उनले नगर क्षेत्रमा ३० किलोमिटरभन्दा बढी सडक कालोपत्र तथा २५ किलोमिटरभन्दा बढी सडक ढलान भएको विवरणसमेत सार्वजनिक गरेका छन् ।
त्यसैगरी कृषि क्षेत्रमा माटो परीक्षण, स्वास्थ्य, शिक्षा तथा नागरिकका आधारभूत आवश्यकता सम्बोधन गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको उनले बताएका छन् ।
‘पद भनेको सेवा गर्ने माध्यम हो’
बुढाथोकीको सार्वजनिक जीवनको विशेषता भनेकै पदलाई व्यक्तिगत लाभको माध्यमभन्दा जनसेवाको अवसरका रूपमा प्रयोग गर्ने प्रयास हो । उपप्रमुखको उम्मेदवार हुँदा नै उनले आफू निर्वाचित भए तलब, भत्ता तथा सुविधासमेत नलिई नगरवासीको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने घोषणा गरेका थिए ।
निर्वाचित भएपछि उनले सुविधाको गाडी अस्पताललाई हस्तान्तरण गरे भने तलब–भत्ताबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई सहयोग गर्ने क्रमलाई निरन्तरता दिएका छन् । दुई वर्षमै करिब १० लाख रुपैयाँ विद्यार्थीका लागि खर्च गरेको उनको सार्वजनिक अभिव्यक्तिले पनि उक्त प्रतिबद्धताको एउटा परिमाण देखाउँछ ।
यसरी हेर्दा बुढाथोकीको समाजसेवाको यात्रा केवल भाषण वा घोषणामा सीमित देखिँदैन । सुविधाको गाडी बिरामी बोक्न अस्पताललाई दिनेदेखि आफ्नै तलब–भत्ताबाट विपन्न विद्यार्थीलाई झोला, पोशाक र जुत्ता उपलब्ध गराउनेसम्मका गतिविधिले उनको सेवामुखी सोचलाई व्यवहारमा देखाएका छन् ।

जनप्रतिनिधिले राज्यबाट पाउने सुविधा जनताको करबाट आउने भएकाले त्यसलाई फेरि जनताकै हितमा फर्काउनुपर्छ भन्ने उनको अभ्यासले स्थानीय राजनीतिमा एउटा फरक उदाहरण प्रस्तुत गरेको छ । शिक्षा, स्वास्थ्य, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा विपन्न वर्गलाई केन्द्रमा राखेर गरिएको यस्तो सहयोगले ‘जनप्रतिनिधि हुनु भनेको अधिकार पाउनु मात्र होइन, जिम्मेवारी बहन गर्नु पनि हो’ भन्ने सन्देश दिएको छ ।
चाँगुनारायण नगरपालिकाको आधिकारिक विवरणअनुसार बुढाथोकी हाल नगरपालिकाका उपप्रमुख हुन् र उनको कार्यकाल २०७९ जेठ ६ गतेदेखि सुरु भएको हो । उनको बाँकी कार्यकालमा पनि व्यक्तिगत सुविधा र स्वार्थभन्दा नागरिकको हितलाई प्राथमिकता दिने अभ्यासले निरन्तरता पाउने हो भने बुढाथोकीको राजनीतिक पहिचान एउटा जनप्रतिनिधिभन्दा माथि उठेर ‘सेवा गर्ने पदाधिकारी’ का रूपमा स्थापित हुन सक्ने देखिन्छ ।