जनकपुरधाम, धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । ३० वर्षीया रीना देवी यादव माइतीघरमा बस्दै आएकी थिइन् । उनको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएकोले हुनाले प्रहरीले हत्या भएको हुनसक्ने आशङ्का गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले ३५ वर्षीय उनका श्रीमान् उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा आइतबार बिहान मृत फेला परेको जानकारी दिए ।
केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका मिथिला बिहारी–४ भरतपुर निवासी उमेश घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय बालक छोरा को पनि एउटा तिघ्रामा धारिलो हतियार प्रहार भएको घाउ देखिएको प्रहरी नायब उपरीक्षक खनालले बताएका छन् ।
उमेशले आफ्नी श्रीमती रिनाको हत्या गरि आफूले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको प्रकृति शङ्कास्पद देखिएको प्रहरी नायब उपरीक्षक खनालले बताए । घटनाका कारण तथा मृत्युको परिस्थितिबारे प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको उनले जनाएका छन् ।