यो वर्षको दशैं विगतका वर्षहरूको भन्दा धेरै नै महँगो भयो । दशैँ महँगियो भन्ने त छँदैछ तर यो बेला बढेको मूल्य कहिल्यै घट्दैन । अपवाद भयो भने चाहिँ अलग कुरा हो । बजारमा एकपटक बढिसकेको मूल्य घटेको भन्ने एउटा पनि उदाहरण पाइँदैन । सरकारले एकलौटी कारोबार गरेको बस्तुमा समायोजनका नाममा भने घटबढ हुन सक्दछन् । तर यस्ता वस्तुहरू एकदमै न्यून हुन्छन् । यी सबैले बजार अहिले महँगियो तर पछि फेरि सामान्य अवस्थामा आउला भन्ने नसोचे पनि हुन्छ । त्यसकारण पनि बढ्दो महँगीप्रति आम नागरिक अहिले त पीडित छन् नै यो दीर्घकालीन हुने खतराप्रति विज्ञहरूले चिन्ता प्रकट गरेका हुनुपर्छ ।
महँगीले एउटा युरोपियन देश फ्रान्स अहिले कति तनावमा गुज्रिरहेको छ भन्ने सरकारले पनि हेरेकै हुनुपर्छ । ठूलो संख्याका नागरिक सडकमा उत्रिएर महँगीको विरोध गर्दा ठूलो जनधनको क्षति भएको स्थिति छ । यो कसरी साम्य होला भन्ने कसैले बताउन पनि सकेका छैनन् । झण्डैझण्डै नेपालमा एकवर्षअघिको जेनजी आन्दोलनका क्रममा भएका क्षतिहरूजस्तै स्थिति छ । त्यसकारण पनि सरकारले महँगीले असामान्य रुपले नलेओस् भन्नुपरेको हुनुपर्छ ।
यो स्तरको मूल्य बढ्न केही न केही कारण हुनुपर्ने हो तर त्यो देखिएको छैन । अवस्था कस्तो भयो भने यता दशैँ सुरु भइसकेको अवस्था र उता महँगी बढ्ने क्रम पनि सँगसँगै देखियो । दशैँपछि तिहार, छठ, नेपाल संवत् जस्ता चाड नेपाली नागरिकका दैलोमा आइसकेको छ । यी चाडपर्वको मुखमा महँगी भने तेब्बर चौबरले बढ्दै गएको देखिन्छ । अभाव पनि उस्तै छ । जस्तो छ महिनाअघिदेखि नै भात पकाउने ग्यासको अभाव भएको हो । यसमा व्यवस्थापन गर्न नसकेको भनेर मन्त्री फेरियो तर अभाव भने मेटिएन । नयाँ मन्त्रीले त आउनासाथै भनिदिए, यो हाम्रा कारणले भएको होइन । तर अभावको कारक भने सरकारले व्यवस्थापन गर्न नसक्नु नै हो । किनभने जहाँबाट ग्यास आउनुपर्ने हो त्यो देश भारतले जति पनि दिने भनिरहेको छ तर फेरि त्यही देशले नदिएको भनेर हामी उपभोक्तालाई ढाँटिनै रहेका छौं । महगी कति बढेको छ भनेर सरकारी निकायले नै भनेका हुन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांकले नै यतिबेला बजारमा महँगीको दर दोब्बर रहेको देखाएको छ । विगतका वर्षहरूको तुलनामा यो वर्ष अचकाली नै भयो । उक्त संस्थाको तथ्यांकले भन्छ– २०८२ चैत्र १३ गते अघि आव २०८२/८३ फागुनसम्मको तथ्यांकमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् महँगी ३.६२ प्रतिशत थियो । २०८२ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशतमा रहृयो ।
अहिले भने महँगीको अंक ६.३४ प्रतिशत पुगेको देखिन्छ । चाडपर्वको मुखमा महँगी झन् चुलिएको अवस्थालाई सरकारले नजरअन्दाज गरेको यो एउटा नमुना नै हुनुपर्छ । राष्ट्र बैंकको तथ्यांकले नै चालू आवको दुई महिनासम्ममा वार्षिक विन्दुगत उपभोक्ता महँगी ६.३४ प्रतिशत पुगेको देखाएको छ भने सरकारले त्यसको रोकथामका लागि ठोस कदम चाल्नुपर्ने हुन्थ्यो । त्यस्तो केही भएन । बरु नागरिकले उपभोग गर्नुपर्ने वस्तुमा लगाइएको कर हटाउने भनेर प्रधानमन्त्री आफैंले बताएका कुरा पनि कार्यान्वयनमा आएका छैनन् । त्यसको उदाहरण बिजुलीमा लगाइएको भ्याट हो । जो बजेट आएको महिनादेखि बिल तिरिरएको पछिल्लो महिनासम्म कायमै छ ।
चाडबाडमा बढी खपत हुने वस्तु भनेकै घ्यू, तेल, फलफूल दाल चामल आदि हुन् । मासुको मूल्य त कति हो भन्ने कसैले पनि अनुमान गर्ने स्थिति छैन । भदौ महिनामा खाद्य तथा पेय पदार्थ समूहको सूचकांक अघिल्लो वर्षको सोही महिनाको तुलनामा ७.५४ प्रतिशतले वृद्धि भएको छ । चिनी तथा चिनीजन्य वस्तुको पनि एकैपटक १२.१४ प्रतिशत वृद्धि भयो । विनाकारण महँगी यसरी नै बढ्यो भने कुनै दिन नागरिक सडकमा आउने छन् । हेक्का रहोस् ।