काठमाडौं, भदौ १० गते रसुवामा गएको विनाशकारी बाढीको असर मुलुकको कुल वैदेशिक व्यापारमा देखिएको छैन । २०८२ भदौ २३ र २४ गते भएको जनेजी युवाहरूको आन्दोलन र त्यसपछिको रसुवामा आएको विनाशाकारी बाढीको असर कुल वैदेशिक व्यापारमा देखिएको छैन ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा तथ्यांकअनुरूप नेपालको तेस्रो मुलुकसँगको कुल वैदेशिक व्यापारमा आयात, निर्यात र व्यापार घाटा सबै सूचकहरू बढेको छ । समीक्षा अवधिमा कुल वैदेशिक व्यापार ४० दशमलव ७१ प्रतिशतले बढेको छ । चालू आवको पहिलो त्रैमासमा सात खर्ब ६१ अर्ब सात करोड नौ लाख रहेको वैदेशिक व्यापार गत आवको सोही अवधिमा पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रहेको छ । वैदेशिक व्यापारमा निर्यातको हिस्सा १५ प्रतिशत र आयातको हिस्सा भने ८५ प्रतिशत रहेको छ । न्यून निर्यात र उच्च आयातका कारण व्यापार घाटा समेत बढेको छ । चालू आवको पहिलो त्रैमासमा निर्यात ५७ प्रतिशतले बढेको छ ।
चालू आवको पहिलो त्रैमासमा एक खर्ब १४ अर्ब २८ करोड ८४ लाखबराबरको निर्यात हुँदा अघिल्लो आवको सोही अवधिमा ७२ अर्ब ७८ करोड २८ लाखबराबरको निर्यात रहेको थियो । रसुवा बाढीले चार खर्ब आठ अर्बबराबरको क्षति भएको आकलन गरिएको छ । उक्त क्षतिमध्ये व्यवसाय तथा प्रतिष्ठानतर्फको क्षति नौ अर्ब ६० करोड रहेको छ । सबैभन्दा क्षति जग्गा, घर परिवारमा भए पनि उनीहरूले सञ्चालन गरेको विभिन्न व्यवासाय तथा कृषिउत्पादनमा समेत क्षति भएको छ ।
नुवाकोट, रसुवा, धादिङ र गोरखा जिल्लामा सञ्चालन गरिएका विभिन्न फार्म तथा कृषिजन्य व्यवसायमा क्षति पुराएको हो । यसरी बाढीले क्षति पु¥याउँदा पनि निर्यात व्यापार भने बढेको देखिन्छ । बाढीको कारण चिनियाँ नाकाबाट निर्यात तथा आयात व्यापार प्रभावित हुँदा पनि त्यसको विकल्पस्वरूप अन्य नाकाहरू प्रयोग गर्दा कुल वैदेशिक व्यापारमा प्रभावित देखिएको छैन । विभागका महानिर्देशक यमलाल भूसालका अनुसार कुल वैदेशिक व्यापार असोजसम्म बढेको देखिन्छ । उनका अनुसार साउनमा कुल वैदेशिक व्यापार दुई खर्ब २६ अर्ब १४ करोड र भदौमा चार खर्ब ७८ अर्ब १० करोड हुँदा असोजसम्म आइपुग्दा भने साढे सात खर्बमाथि पुगेको छ ।
त्यस्तै नेपालको वैदेशिक व्यापार आन्तरिक स्रोत साधनभन्दा पनि आयातित स्रोत साधनमा भएको हुँदा प्रभावित नभएको विभागका अधिकारीहरू बताउँछन् । कच्चा पदार्थ आयात गर्ने उत्पादनमा मुलुकको व्यापार टिकेको हुँदा आन्तरिक कारणले त्यति धेरै प्रभाव नेदिखएको उनीहरूको भनाइ छ । नेपालको निर्यातजन्य प्रमुख सामग्रीहरूमा पाम तेल, सोयाबिन तेल, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलैँचा, कार्पेट, अलैँची, चिया, औषधि (आयुर्वेदिक), दन्त मन्जन, तारलगायत रहेका छन् । यी सामग्रीहरूमध्ये अलैँची चिया र औषधि (आयुर्वेदिक) बाहेक अन्य सामग्री आयातित कच्चा पदार्थमा निर्भर रहेको छ । विभागको तथ्यांक हेर्दा निर्यात व्यापारमा पनि आयातित कच्चा पदार्थमा निर्भर रहेको पाइन्छ ।
समीक्षा अवधिमा भटमासको तेल ५२ अर्ब ६० करोड ९८ लाख, जुटन्य सामग्री दुई अर्ब ९६ करोड ७६ लाख, अलैँची दुई अर्ब ५७ करोड २३ लाख, सूर्यमुखी तेल दुई अर्ब ५३ करोड २७ लाख, पाम तेल दुई अर्ब ४२ करोड ७९ लाख र गलैँचा दुई अर्ब २३ करोड १५ लाखबराबरको निर्यात भएको छ । त्यसैगरी यार्न एक अर्ब ७० करोड ६२ लाख, जुसलगायतका पदार्थ एक अर्ब ४२ करोड ८२ लाख र चिया एक अर्ब ३७ करोड २१ लाखबराबर निर्यात भएको छ ।
निर्यात मात्र होइन आयात र व्यापार घाटामा समेत वृद्धि : निर्यात व्यापार मात्र नभई समीक्षा अवधिमा आयात र व्यापार घाटा समेत बढेको छ । समीक्षा अवधिमा आयात व्यापार ३८ दशमलव १८ प्रतिशतले बढेको छ । चालू आवको पहिलो त्रैमासमा छ खर्ब ४६ अर्ब ७८ करोड २५ लाख आयात व्यापार हुँदा गत आवको सोही अवधिमा चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाखबराबर आयात व्यापार रहेको छ ।
समीक्षा अवधिमा सबैभन्दा धेरै मूल्यबराबरको भटमास, पेट्रोलियम पदार्थ, मोबाइल र सुनलगायतका सामग्री आयात गरिएको छ । चालू आवको पहिलो त्रैमासमा भटमास ५२ अर्ब ६० करोड ३९ लाख, डिजेल ४७ अर्ब ३१ करोड १८ लाख, पेट्रोल २४ अर्ब ६२ करोड २३ लाख र खाना पकाउने एलपीजी ग्यास २३ अर्ब १८ करोड ९८ लाखबराबरको अयात गरिएको छ । सोही अवधिमा रासायिनक मल १९ अर्ब ३० करोड १५ लाख, स्मार्टफोन १८ अर्ब ८१ करोड ५२ लाख, फलामजन्य सामग्री १७ अर्ब ४१ करोड पाँच र हवाई इन्धन नौ अर्ब ३२ करोड ४० लाखबराबरको आयात गरिएको छ ।
उच्च आयात र न्यू्न निर्यातले व्यापार घाटा पनि बढेको छ । समीक्षा अवधिमा व्यापार घाटा ३४ दशमलव ७१ प्रतिशतले बढेको छ । चालू आवको पहिलो त्रैमासमा पाँच खर्ब ३२ अर्ब ४९ करोड ४० लाख व्यापार घाटा रहेकोमा गत आवको सोही अवधिमा तीन खर्ब ९५ अर्ब ३० करोड पाँच लाख व्यापार घाटा रहेको छ । उच्च अयात र न्यून निर्यातका कारण व्यापार घाटा बढेको हो । व्यापारघाटा न्यून गर्न आयातलाई प्रतिस्थापन गर्ने वस्तुहरूको उत्पादनमा जोड दिनुका साथै निर्यात सम्भाव्य वस्तुहरूको खोजी गरी त्यस्ता वस्तुहरूको उत्पादनमा वृद्धि गर्नु जरुरी रहेको छ । सरकारले आयतालाई प्रतिस्थापन गर्ने नीति तथा कार्यक्रम बनाउन नसक्दा व्यापार घाटा निरन्तर बढेको जानकारहरू बताउछन् । निर्यात बढाउन उत्पादन बढाउनु पर्दछ भने उत्पादन बढाउन उद्योगधन्दाहरूको संख्या र आकार दुवै बढाउनु आवश्यक रहेको उद्योगीहरू बताउँछन् । मुलुक औद्योगीकरणको बाटोमा लम्किन सक्नुपर्ने उद्योगीहरूको भनाइ छ ।
आयात प्रतिस्थापन र निर्यात प्रोत्साहनको नीति सुन्दा सामान्यजस्तो लागे पनि नेपाली अर्थतन्त्रका लागि यो नै उपर्युक्त विकल्प हुन व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक सुमन रेग्मी बताउँछन् । विद्युत्, गोबर ग्यास, ब्रिकेट आदिको उत्पादनमा जोड दिई पेट्रोलियम पद्धार्थको आयातलाई प्रतिस्थापन गर्न सकिन्छ । त्यसैगरी औषधि, सिमेन्ट, धागो, टायर–ट्युब, तयारी पोसाक, लत्ता–कपडा, कच्चा ऊन आदिको उत्पादनले पनि आयातलाई प्रतिस्थापन गर्न सक्छ । कृषि तथा वन, धातुजन्य खनिज पद्धार्थ, बहुमूल्य पत्थर, जलविद्युत्, पश्मिना, कार्पेट, गार्मेन्ट आदिको उत्पादन बढाएर निर्यात बढाउन सकिने सम्भावना पनि उत्तिकै बलियो रहेको उनको भनाइ छ ।
सरकारले व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना २०७९ तयार गरे पनि त्यसलाई कार्यान्वयन गर्न सकेको छैन । कार्ययोजनाको उद्देश्य नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायहरूको एकीकृत तथा समन्वयात्मक प्रयासद्वारा बढ्दै गएको व्यापार घाटालाई कम गर्नु यस कार्ययोजनाको प्रमुख उद्देश्य रहेको थियो । यसको अतिरिक्त अन्य उद्देश्य तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताका वस्तु तथा सेवाको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु, वस्तु तथा बजारको विविधीकरण गरी नेपाली वस्तुको निर्यात प्रवद्र्धन गर्नु, कृषि तथा औद्योगिक वस्तुको उत्पादन तथा उपभोगमा वृद्धि गर्नु, विभिन्न निकायहरूबीच प्रभावकारी समन्वय स्थापित गरी स्वदेशी तथा वैदेशिक लगानी र उत्पादन वृद्धि गर्नु र स्वदेशी उत्पादनको गुणस्तर सुधार गर्नुलगायतका विषयहरू समावेश गरिएको थियो ।