काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच बिहीबार बुढानीलकण्ठस्थित लामिछानेको निवासमा लामो छलफल भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच करिब पाँच घण्टाभन्दा बढी समय चलेको छलफलमा सरकारले ल्याउने तयारी गरेको अध्यादेश, रास्वपाका सांसद खगेन्द्र सुनारको पछिल्लो विवादित अडियो प्रकरण तथा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग सम्बन्धित विषयमा केन्द्रित रहेर कुराकानी भएको हो ।
छलफलमा सरकारले ल्याउने भनिएको अध्यादेशलाई प्राथमिकताका साथ उठाइएको स्रोतको दाबी छ । अध्यादेशमार्फत अघि बढाउन लागिएका विषय, त्यसको आवश्यकता तथा राजनीतिक र प्रशासनिक प्रभावबारे दुई नेताबीच छलफल भएको बताइएको छ ।त्यस्तै, सांसद खगेन्द्र सुनारको पछिल्लो विवादित अडियो प्रकरणलाई समेत गम्भीर रूपमा लिइएको स्रोतको भनाइ छ । उक्त विषयमा पार्टीले चाल्न सक्ने कानुनी तथा अन्य आवश्यक कदमबारे समेत प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच परामर्श भएको बताइएको छ ।
बैठकमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीसँग सम्बन्धित विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ । प्रहरी नेतृत्वसँग जोडिएका पछिल्ला विषय तथा सरकारको सुरक्षा र प्रशासनिक व्यवस्थापनबारे समेत दुई नेताबीच विचारविमर्श भएको बताइएको छ । यी विषयबाहेक प्रधानमन्त्री शाहको आगामी भारत भ्रमण, सरकारका पछिल्ला नीतिगत निर्णय तथा प्रशासनिक गतिविधिबारे पनि छलफल भएको बताइएको छ । प्रधानमन्त्रीले सरकारका कामकारबाही र आगामी योजनाबारे सभापति लामिछानेलाई जानकारी गराएको स्रोतको दाबी छ ।
यद्यपि, पाँच घण्टाभन्दा लामो छलफलमा भएका आन्तरिक विषय र निर्णयबारे प्रधानमन्त्री शाह तथा सभापति लामिछाने दुवै पक्षले औपचारिक रूपमा कुनै जानकारी दिएका छैनन् । स्रोतका अनुसार पछिल्लो समय सरकार र रास्वपाबीच राजनीतिक तथा प्रशासनिक विषयमा भइरहेका छलफलको निरन्तरताका रूपमा बुधबारको भेटलाई हेरिएको छ।