काठमाडौं, किसान एग्रोबेस इन्डस्ट्रिज लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली चितवन राइनोजको सह–प्रायोजक बनेको छ ।
कम्पनीले एनपीएलका सिजन ३ र ४ का लागि चितवन राइनोजसँग सहकार्य गर्ने भएको हो । कृषि, पर्यटन तथा उत्पादन क्षेत्रमा व्यवसाय गर्दै आएको कम्पनीले नेपाली खेलकुद र कृषि उद्यमलाई जोड्ने उद्देश्यसहित उक्त साझेदारी गरेको जनाएको छ ।
कम्पनीले कृषिजन्य वस्तुको प्रशोधन तथा शीतभण्डारण, प्राकृतिक खनिजयुक्त पानी तथा विशेष पेय पदार्थ, औषधीय जडीबुटी तथा मसला, पशुजन्य तथा दुग्धजन्य उत्पादन र कृषिमा आधारित पर्यटनलाई आफ्ना प्रमुख व्यावसायिक क्षेत्रका रूपमा अघि बढाएको छ । कम्पनीले धनकुटा, मोरङ र नवलपरासीलगायतका स्थानमा व्यावसायिक गतिविधि विस्तार गरेको जनाएको छ । उत्पादनदेखि प्रशोधन, भण्डारण र बजारीकरणसम्मको मूल्य शृंखलालाई एकीकृत गर्ने लक्ष्य राखेको कम्पनीले नेपाली कृषि उत्पादनको बजार विस्तार, निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापनमा योगदान पुर्याउने उद्देश्य लिएको कम्पनीको भनाइ छ ।
चितवन कृषि उत्पादन र पर्यटनका दृष्टिले महत्त्वपूर्ण क्षेत्र भएकाले चितवन राइनोजसँगको सहकार्य आफ्नो व्यावसायिक रणनीतिसँग मेल खाने कम्पनीद्वारा जारी विज्ञेप्तीमा उल्लेख छ । कम्पनीका अध्यक्ष सुमन न्यौपानेले एनपीएलमा चितवन राइनोजको सह–प्रायोजकका रूपमा जोडिन पाउँदा खुशी व्यक्त गरे ।