काठमाडौं, बैंक तथा फाइनान्स कम्पनीहरूको कुल निक्षेप खाता र कुल कर्जा खाताको बीचमा निकै ठूलो अन्तर देखिएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो दुई महिना अर्थात् भदौ मसान्तसम्मको तथ्यांकअनुसार निक्षेप र कर्जा खाताको बीचमा छ करोड २० लाख खाताको अन्तर देखिएको हो । यस अवधिमा निक्षेप खाताको संख्या उल्लेख्य रहेको छ भने कर्जा खाताको संख्या २० लाखभन्दा बढी पुगेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५३ वटा संस्थामा कुल निक्षेप खाताको संख्या छ करोड ४० लाख आठ हजार सात सय ६७ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूमा पाँच करोड ४९ लाख ७६ हजार एक सय ५२, विकास बैंकहरूमा ७९ लाख ३७ हजार छ सय ५६ र फाइनान्स कम्पनीहरूमा १० लाख ९४ हजार नौ सय ५९ वटा निक्षेप खाताहरू रहेका छन् ।
गत आवको सोही अवधिमा भने बैंकिङ क्षेत्रमा कुल छ करोड चार लाख ५३ हजार पाँच सय ९३ वटा निक्षेप खाताहरू सञ्चालनमा रहेका थिए । सोमध्ये वाणिज्य बैंकहरूको पाँच करोड १८ लाख ५६ हजार दुई सय ५२, विकास बैंकहरूको ७५ लाख ७८ हजार ६० र फाइनान्स कम्पनीहरूको १० लाख १९ हजार दुई सय ८१ वटा निक्षेप खाताहरू सञ्चालनमा रहेको राष्ट्र बैंकको भनाइ छ ।

बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या भने पछिल्लो अवधिमा २० लाख ५२ हजार दुई सय ५२ वटा पुगेको छ । सोमध्ये वाणिज्य बैंकहरूको १७ लाख ३१ हजार ४२, विकास बैंकहरूको दुई लाख ६० हजार ९३ र फाइनान्स कम्पनीहरूको ६१ हजार एक सय २७ रहेको छ । गत आवको सोही अवधिमा भने बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको कुल कर्जा खाताको संख्या १९ लाख ९३ हजार दुई सय ३४ रहेको राष्ट्र बैंकको भनाइ छ । उक्त शाखा संख्यामध्येमा वाणिज्य बैंकहरूको १६ लाख ६२ हजार तीन सय ४२, विकास बैंकहरूको दुई लाख ६७ हजार तीन सय तीन र फाइनान्स कम्पनीहरूको ६३ हजार पाँच सय ८९ वटा खाताहरू सञ्चालनमा रहेका थिए ।
राष्ट्र बैंकका अनुसार चालू आवको भदौ मसान्तसम्ममा बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेको कुल शाखा संख्या भने ११ हजार दुई सय ८९ पुगेको छ । उक्त शाखा संख्याहरूमध्ये वाणिज्य बैंकको चार हजार नौ सय सात, बिकास बैंकहरूको एक हजार एक सय ११, फाइनान्स कम्पनीहरूको दुई सय ९३ र लघुवित्त वित्तीय संस्थाहरूको चार हजार नौ सय सातवटा रहेका छन् ।
२०८३ असार मसान्तमा भने बैंक तथा फाइनान्स कम्पनीहरूको कुल ११ हजार तीन सय ३२ वटा शाखाहरू सञ्चालनमा रहेका थिए । जसमध्ये वाणिज्य बैंकहरूको पाँच हजार ९९, विकास बैंकहरूको एक हजार एक सय ३२, फाइनान्स कम्पनीहरूको दुई सय ९१ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार चारवटा शाखाहरू सञ्चालनमा रहेका थिए । पछिल्लो अवधिमा सञ्चालनमा रहेका बैंक तथा फाइनान्स कम्पनीहरूको कुल संख्या भने एक सय चारवटा रहेको छ । जसमध्ये वाणिज्य बैंक २०, विकास बैंक १७, फाइनान्स कम्पनी १६, पूर्वाधार विकास बैंक एउटा र लघुवित्त वित्तीय संस्थाहरू ५० वटा रहेका छन् ।