काठमाडौं, सरकारले नेपाल पुर्नबीमा कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । मंगलबारको बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बीमाको हकप्रद सेयरमा सरकारले लगानी गर्ने निर्णय गरेपछि हकप्रद सेयरको निष्कासन प्रकृया अघि बढ्ने भएको हो ।
यसअघि नेपाल पुनर्बीमाले पुँजी वृद्धिको प्रस्ताव गर्दै अर्थ मन्त्रालय पुगेको थियो । सरकारले थप पुँजी लगानी नगर्ने निर्णय गरेपछि हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया रोकिएको थियो । मंगलबार सरकारले नेपाल पुनर्बीमामा लगानी थप गर्ने निर्णयसँगै यसअघि रोकिएको प्रक्रिया अघि बढ्ने भएको हो । नेपाल पुनर्बीमाले चुक्ता पुँजी बढाउन शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय २०८२ साउनमा गरेको थियो । कम्पनीले २६ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्थापनको सुझाव समेत ध्यानमा राखेर शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ छ । सोही रकम बराबर हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको थियो । कम्पनीमा हाल सरकारको ४४ दशमलव चार प्रतिशत, सर्वसाधारण लगानीकर्ताको १६ प्रतिशत सेयर स्वामित्व छ । बाँकी लगानी २० बीमा कम्पनीसँगै ग्लोबल आईएमई क्यापिटल, गुह्येश्वरी मर्चेन्ट बैंकिङ, हाथवे इन्भेस्टमेन्ट, ग्लोबल आईएमई बैंक, सुप्रिम सिमेन्ट्स, आईएमई, ज्ञान सेक्युरिटिज, विशाल ग्रुप र लक्ष्मी सनराइज बैंकको रहेको छ ।