काठमाडौं, बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका काभ्रेपलाञ्चोकका ४० वर्षीय सुबिन बैदार पक्राउ परेका छन् ।
दिपक चापागाईंको जाहेरीले नेपाल सरकार वादी र सुबिन बैदार प्रतिवादी रहेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले मिति २०८३ साल असार ३२ गते फैसला गर्दै बैदारलाई एक करोड ५१ लाख रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय सुनाएको थियो ।
काभ्रेपलाञ्चोक जिल्लाको साविक बनेपा गाविस वडा नं. ११, हाल बनेपा नगरपालिका वडा नं. ६ निवासी सुरेन्द्र बैदारका छोरा बैदार अदालतको फैसलाअनुसारको सजाय भुक्तान नगरी फरार रहेका थिए। उनी जिल्लाका विभिन्न स्थानमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खोजी कार्य अघि बढाएको थियो ।
यसैक्रममा प्रहरी टोलीले बुधबार बनेपा नगरपालिका वडा नं. ७ बाट बैदारलाई पक्राउ गरेको हो । पक्राउ परेका बैदारलाई अदालतको फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।