काठमाडौं, नेपालका तीन विद्यार्थी नवप्रवर्तक र दुई मेन्टरसहितको पाँच सदस्यीय टोली दक्षिण कोरियाको इन्चोनमा आयोजना हुने फस्र्ट ग्लोबल च्यालेन्ज (एफजीसी) २०२६मा सहभागी हुने भएको छ । रोबोटिक्स एसोसिएसन अफ नेपाल (रन)का अनुसार प्रतियोगिता अक्टोबर ७ देखि १० सम्म इन्चोनको साङ्दो कन्भेन्सियामा आयोजना हुनेछ ।
प्रतियोगितामा १९० भन्दा बढी देशका विद्यार्थी टोली सहभागी हुनेछन् । यस वर्षको प्रतियोगिताको विषयवस्तु ‘इग्नाइटिङ इनोभेसन’ रहेको छ । सहभागी टोलीले वन डढेलोको रोकथाम, न्यूनीकरण तथा वातावरणीय उत्थानशीलतासँग सम्बन्धित रोबोटिक समाधान विकास गर्नेछन् । नेपालको टोलीमा मेन्टरका रूपमा रनका अध्यक्ष इन्जिनियर विकास गुरुङ र रनका ड्रोन तथा ह्युमानोइड लिड अनुज चौधरी छन् ।
चौधरी सन् २०२५को फस्ट ग्लोबल च्यालेन्जमा पनि नेपालको टोलीसँग संलग्न थिए । विद्यार्थी प्रतिनिधिमा समृद्धि स्कुलकी कक्षा ९ की ऋद्धि मानन्धर, केएमसी स्कुलका कक्षा ७ का अनुपम भुजेल र लिभिङ्गस्टोन स्कुलकी कक्षा ८ की स्पर्शा कायस्थ छन् । रनका अनुसार विद्यार्थीहरू ‘एआई फर गुड–राष्ट्रिय रोबोटिक्स प्रतियोगिता’मा गरेको प्रदर्शनका आधारमा छनौट भएका हुन् । छनोटपछि उनीहरूले काठमाडौंस्थित करिब तीन महिनासम्म रोबोट निर्माण र प्रतियोगिताका लागि प्रशिक्षण लिएका थिए ।
रनका अनुसार सन् २०२६ को सहभागिता फस्ट ग्लोबल च्यालेन्जमा नेपालको लगातार तेस्रो सहभागिता हो । प्रतियोगिता अवधिमा रोबोट निरीक्षण, अभ्यास, उद्घाटन समारोह, सांस्कृतिक आदानप्रदान, प्रतिस्पर्धात्मक खेल तथा समापन समारोहलगायत कार्यक्रम हुनेछन् । नेपाली टोली अक्टोबर ५ मा इन्चोन पुग्ने र अक्टोबर ११ मा नेपाल फर्किने कार्यक्रम छ । रनका अध्यक्ष गुरुङले नेपालबाट सहभागी विद्यार्थीहरूले पछिल्ला केही महिनादेखि प्रतियोगिताका लागि तयारी गरिरहेको बताए ।