नेपाल हाम्रो देश सकियो, खतम भयो । विगत तीन दशक (३१ वर्ष) विसं. २०५१ को कांग्रेस प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मध्यावधि यता कांग्रेस, एमाले र गणतन्त्रपछि माओवादीका जनघाति राष्ट्रघाति कुशासन माफिया गुण्डाराज (अन्तर्राष्ट्रय माफिया डन दाउद इब्राहिमको कारिन्दा भरिया (ड्रग, सुन, हतियार) मिर्जादिल सादवेग देउवा मन्त्रीमण्डलको सदस्य) का कारण ८३ प्रतिशत बिहान बेलुकाको छाक आयात निर्भर ३२ खर्ब वैदेशिक ऋण पूर्ण रूपको आर्थिक दिवालीया र सार्वभौमिकता गणेशमानजीको भाषामा ‘आईसीयूमा घिटीघिटी’ तथ्यमै देश खतम भएको सकिनै लागेको आम चेतनशील जनमतको ठहर भेटिन्छ । यही जनमत नवजागरणमा अङ्कुरित भएर बालेन्द्र शाह एउटा फल देखिएका पनि अकाट्य तथ्य सत्य साक्षात छ ।
तर विगत ३१ वर्ष माफिया गुण्डाराज (बिहारी प्रजातन्त्र) बेथिति, कुशासन लुटतन्त्रको कुडा कर्कट फोहोर (राजनीति) ले राज्यसत्ताका निर्णायक अङ्ग निकायहरू संसद्, सर्वोच्च अदालत, अख्तियार कर्मचारीतन्त्रका माथिल्ला ओहोदा आदि इत्यादि सम्पूर्ण एकट्ठा भएर थुप्रिएको कन्टेनरको लाइन यति लामो छ कि त्यसबाट उम्किने कोशिश गर्दागर्दै बालेन पनि त्यसैमा लुटपुटिएर लागेको फल पनि कुहेर, गन्हाएर फेरि अर्को रोग फैलिन थाल्छ । अर्थात् समग्र निष्कर्ष ठहरमा नेपाल अब खतम हुने सकिने बाटोमै हिँडिरहेको आम चिन्ता देखिन्छ ।
यहाँनेरी आइपुग्दा मलाई महाभारत कथाको एउटा तथ्य पाठ्यक्रममा ल्याउन आवश्यक लागेको छ । त्यो भनेको १८ दिनको त्यस महाभारत युद्धमा चारैतिर हिंसा हत्या रगतको खोलो बगिरहेको थियो । छोराले बाउलाई, बाउले छोरालाई, दाइले भाइलाई, भाइले दाइलाई काटीरहेका मारीरहेका थिए । कोलाहल हाहाकारको त्यत्रो ताण्डव मच्चिरहेको समयमा पनि ‘युधिष्ठिरले झुटो बोल्दैनन्’ भन्ने आस्थाको, विश्वास र भरोषाको एउटा दीयो कतै कुनामा बलिरहेको थियो । कुनै पनि राष्ट्र र समाजको जग जोगिइरहने अस्तित्व बाँचिरहने भनेको नै यस्तै दीयाहरू हुन्छन् । जस्तै आँधीबेरी हुरीबतास आए पनि धीपधीप प्रकाश छरिरहेका हुन्छन् ।
महाभारत सङ्ग्रामको उल्लिखित युधिष्ठिर प्रसङ्ग यहाँ ल्याउनुको मेरो उद्देश्य हो हरेक राष्ट्रमा समसामयिक महाभारत (देवासुर सङ्ग्राम) चलिरहेका हुन्छन् र हरेक सङ्ग्राममा कतै न कतै युधिष्ठिरहरू भइरहेका हुन्छन् र तिनले राष्ट्र र समाजको अस्तित्व अस्मिता रक्षाका लागि आस्था र विश्वासको दीयो बालिरहेका हुन्छन् । भविष्यको उज्यालो प्रकाश पारिरहेका हुन्छन् । हाल हाम्रो देशमा चलिरहेको आस्था र अनास्था, सत्य र असत्य, न्याय र अन्याय, सुशाशन र भ्रष्टाचार, प्रणाली र अराजकता, स्वदेशी र परचक्रीबीचको महाभारतमा पनि कतै न कतै आस्था (सिद्धान्त), सत्य, न्याय, राष्ट्रियता, सुशाशन र समयको माग अनुसारको प्रणाली स्थापनाका लागि नवजागरण उमारी रहेका युधिष्ठिरहरू अवश्य छन् भन्ने मलाई पक्का विश्वास छ । सत्य र न्याय खोजी अभियानका डा. ध्रुवलाल श्रेष्ठ जस्ता अभियनताहरूलाई मैले हाल हाम्रो महाभारतको युधिष्ठिरका रूपमा लिएको छु र यस्ता दश जना युधिष्ठिरहरू एक ठाउँमा उभिएर शंख फुकेका दिन (दुर्गा प्रसाइँले कोशिश गरेका युधिष्ठिरहरू चिनेनन्) विगत तीन दशकको आतंक, अराजकता, राष्ट्रघात, जनघात, राज्यसत्तामा परचक्री दलाल, माफिया गुण्डाराज पूर्ण रूपमा क्याप्चरबाट उत्पन्न थुप्रिएका कुडा कर्कट दलहरू र तिनका लुटेरा दस्ता (गगन थापा परिभाषित केन्द्रीय सदस्य पदाधिकारीहरू) एउटै होष्टे हैँसेमा डम्पिङ साइड सम्भव हुने प्रष्ट देख्न सकिन्छ ।
यसमा खुशी र उत्साहको अध्याय के छ भने मैले माथि भनेको डा. ध्रुवलाल श्रेष्ठ जस्ता १० जना मात्र युधिष्ठिरहरू एक ठाउँमा उभिएर शंख फुकेका दिन छिनोफानो हुनेमा मैले आफैँ नै २० जना बढी डा. ध्रुवलाल श्रेष्ठहरू देखेको भेटेको छु । असफलता एउटै मात्र के भइरहेको छ भने यस्ता युधिष्ठिरहरू एक ठाउँमा उभिएर शंख फुक्ने काम हुन पाइरहेको छैन । त्यो काम हुन ढिला भइरहेको छ । विगत १४ वर्ष देखि अस्पतालको शवगृहमा सडीरहेको अनशनकारी नन्दप्रसाद अधिकारीको लासमा हुबहु परिणत भएको ०७२ को संविधान अन्त्येष्टी हुन आर्यघाट पुर्याउन सकिएको छैन ।
राजनीति शास्त्र दलीय प्रणालीको एउटा कालजयी सर्वमान्य सिद्धान्त मान्यता छ । त्यो भनेको ‘विचार हराएको दल र प्राण गएको मानिस एउटै हो – लास । लासको समयमै अन्त्येष्टी हुन सकेन भने कुहिन्छ, गन्हाउँछ र रोग फैलाउन थाल्छ’ । हो यतिखेर हाम्रो मुलुकको दलीय प्रणाली (संघीय गणतन्त्र) मा यही भइरहेको छ । विचार हराएका दलहरू (खासगरि कांग्रेस (देउवा–गगन), एमाले, माओवादी, राप्रपा, मधेशवादी) कुहेर, गन्हाएर, रोग फैलाउने चरणमा पुगेर देश, जनता, प्रणालीका लागि कोरोना भन्दा खतरनाक क्यान्सर भएका छन् । माथि उल्लिखित शंख फुकेर किमोथेरापी इन्जेक्सन प्रारम्भ हुन ढिला भइरहेको छ ।
माथि उल्लिखित २० जना (मैले नदेखेका नभेटेका २० भन्दा बढी सयकडौँ पनि हुन सक्छन्) मध्ये एक जना हुनुहुन्छ ः भाइराजा पाण्डे । २० वर्ष संयुक्त राष्ट्र संघको मानव अधिकार विभागमा हाकिम भएर खास गरि एसिया अफ्रिकाका नेपाल जस्ता अविकशित अव्यवस्थित देशहरूका सारा कमि कमजोरी अवचेतन चेतन सामाजिक जागरण नवजागरण मापन अनुभव बटुल्नु भएको छ । देश (नेपाल) कहाँ छ ? कता जाँदै छ ? र कता जानुपर्छ ? राम्रो सँग भेउ पाउने र राख्ने वैज्ञानिक विज्ञाताका धनी । सम्पूर्ण धन धान्य साधन श्रोत ऐंश आराम फुर्सदले सुसम्पन्न रिटायर लाइफ ‘खाली दिमाग शैतानको घर’ ले कहिलेकाहीँ निन्द्रा हराम भएर दिमागी भेन्टीलेसनका हिसाबले सामाजिक सञ्जाल युट्युब पर्दाहरूमा झुल्किनु हुन्छ ।
विसं. २०२८ साल वनारसमा बीपी र पुष्पलालका बीच एक अर्काका राजनीतिक आर्थिक कार्यक्रममा आँखा चिम्लेर हस्ताक्षर गर्ने ध्येयले वार्ताको टेबलमा बस्दा आफू अभानेविसंघ वनारसको युनियन निर्वाचनमा निर्वाचित विद्यार्थी नेताका हैसियतले साक्षी रहेका नाताले बीपीबाट नै थाहा पाएको हुँ, त्यस्ता (बौद्धिक जगत) दिमागी भेन्टीलेसनबाट निस्केका मध्ये कतिपय कुरा धेरै काम लाग्ने हुन्छन् । त्यही भएर यस पटकको स्तम्भ (हरेक सोमबार) उल्लिखित पाण्डेका दिमागी भेन्टिलेसनबाट निस्केका कुरालाई नै विषय बनाउन तम्सेको हुँ । बीपी र पुष्पलालका बीच आँखा चिम्लेर हस्ताक्षर हुने प्रसङ्ग आइहालेकाले बताइदिइ हालौँ कि राजसंस्थाका विषयमा कुरो नमिल्दा त्यो हस्ताक्षर हुन सकेको थिएन ।
भाइराजा पाण्डेको पहिले कहिल्यै नाम सुनेको होइन । चिन्ने जान्ने त कुरै भएन । तर उहाँका कुरा सुन्दा अभिष्ट मिलेको जस्तो लाग्छ र कतै बोलिरहेका देख्दा भरसक नछुटाइ सुन्ने गरेको छु । २३÷२४ भदौ ०८२ यता उहाँका कुरा सुन्दा बालेन उदय उताको राजनीतिक, आर्थिक, सामाजिक विकृति विसङ्गति अराजकता, अन्तर्राष्ट्रिय माफिया सरगनाको राज्यसत्तामा पूर्ण पकड आर्थिक रूपको दिवालीया सार्वभौमिकता आईसीयूमा घिटीघिटी अवस्थाको मुख्य प्रमुख जिम्मेदार ०७२ को संविधान र त्यसका खलपात्र संसदमा प्रतिनिधित्व गर्ने दलीय नेतृत्व हुन् भन्ने उहाँको एक सूत्रीय अटल ठहर छ । ३ असोज ०७२ हालको संविधान जारी भएका दिन (चोलेन्द्र शमशेर र शुशीला कार्कीद्वारा बलात्कृत) भगवान्दत्तात्रेयको जन्मदिन परेकाले म अघोश्वर महाराज भगवान् किनाराम बाबाका १२औँ उत्तराधिकार अवधूत मङ्गल धन रामबाबाका सान्निध्यमा श्री परमेश्वरी सेवा केन्द्र ढाक्सी (मातातीर्थ) आश्रममा थिएँ । किनाराम परम्परा अवधूत रामबाबाका पाउ ढोग्ने अवसरका लागि भारतका पूर्व प्रधानमन्त्री द्वय इन्दिरा गान्धी, चन्द्रशेखर, नेपालका बीपी कोइराला महिनौँ प्रतिक्षामा रहेर आतुर रहने गरेका नेपाल भारत समाजमा आम पाठ्यक्रम उपलब्ध छँदै छ । केही शंका समझ कम भए गुगल खोतल्दा सबै छर्लङ्ग भइहाल्छ ।
बीपीका अनन्य मित्र सोलु कांग्रेसका भट्टराई कालखण्डसम्म भेट्रान नेता नरबहादुर कार्कीलगायत सेना, ब्यूरोक्रेसी, बौद्धिक व्यक्तित्वहरू, पत्रकार जगत आदि इत्यादि भक्तजनहरूको ठूलै उपस्थिति थियो । भगवान् दत्तात्रेय मच्छिन्द्रनाथ गोरखनाथ भगवानका पनि गुरु मानिनुहुन्छ । त्यहाँ बाबा (हामी ठूलो बाबा भन्ने गर्छौँ) ले मलाई औँल्याएर प्रश्न गर्नुभयो – ‘रेवती बाबु ! आज नेपालमा नयाँ संविधान जारी भएछ । यो संविधानले नेपालको हीत गर्छ कि अहीत ? मलाई बताउनुहोस् ।’ ठूलो बाबाको मलाई यो प्रश्न आकस्मिक थियो । बाबाले मलाई आफ्नो पाइतालामा आश्रय दिएर जुन आशीर्वाद दिनुहुन्थ्यो उहाँको प्रश्नलाई अहिले अध्ययन गर्न भ्याएको छैन भनेर उम्कने अब थिएन । सत्य तथ्य मैले बोल्नै पथ्र्यो । त्यहाँ मैले भनेको थिएँ – ‘बाबा । यो संविधानले नेपालको हीत गर्दैन । अहीत मात्र गर्छ । यो संविधानले क्षेत्रीय, जातिय, धार्मिक द्वन्द्वलाई वैधानिकीकरण गरेको छ । विगतमा पनि छिटपुट यो द्वन्द्व उछालेर अस्थिरता अराजकता फैलाउने प्रयास हुने गरेका थिए । तर हाम्रो चार वर्ण ३६ जातको फूलबारी समाज आपसी भाइचारा सहृदयी संस्कार र संस्कृति यति गहिरो जरा सनातन देखि थियो कि परचक्रीले जति प्रयास गर्दा पनि सफल हुन पाएका थिएनन् । त्यसो हुँदा यो संविधान दलहरू र तिनका सरकार नै लागेर क्षेत्रीय, जातिय, धार्मिक द्वन्द्व मच्चाइ नेपाल सिध्याउन षडयन्त्र तहत लादिएको छ ।’ मैले यति भन्नासाथ बाबाले कुरो बुझिहाल्नु भयो र भक्तजनको ध्यान दत्तात्रेय भगवान् स्तुतितर्फ मोडिदिनुभयो ।
अन्त्यमा बालेनको उदयपछि ०७२ को संविधान अनशनकारी नन्दप्रसाद अधिकारीको लासमा परिणत भइसकेको छ भन्ने मेरो ठहरलाई नै पुष्टी र प्रमाणित हुने पाण्डेका विचार पाउँदा यस खालको जाँगर पलाएको हो । ‘वर्तमान संविधानमा के सुधार गर्नु पर्ला ?’ भन्ने पत्रकार जगतको प्रश्नमा पाण्डेले खगेन्द्र सुनुवार शैलीमा जुन उत्तर दिनुभयो त्यसबाट आम बौद्धिक जगतको कुन हदसम्म छिछि र दुर्दुर्को आक्रोश विद्रोह हुर्केको छ भन्ने छर्लङ्ग हुन्छ । उहाँ हाँस्दै पत्रकारलाई जवाफ दिँदै हुनुहुन्थ्यो– ‘यो संविधानमा सुधार ! असम्भव । यो संविधान नेपाल र नेपालीका लागि आएकै होइन । विदेशी ताकत (भारत, अमेरिका, युरोपियन युनियन) ले अस्थिरता अराजकता मच्चाएर नेपाललाई बर्बाद पार्न लादिएको हो । यसलाई च्यातच्यूत पारेर डस्टबिनमा फल्दा पनि डस्टबिनमा पहिलेदेखि रहेका फोहोरले छिछि र दुर्दुर् गर्लान् ।’ यही डस्टबिन प्रसङ्गलाई खगेन्द्र सुनार शैली भनेको हुँ । अस्तु ।