सुनसरी, भन्सार छली गरी ल्याइएको नौ लाख ८२ हजार ५० हजार बराबरको किराना तथा खाद्यान्न सामग्रीसहित धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भन्सार छली गरी ल्याइएका सामान प्रहरीले इटहरीबाट धरानतर्फ आउँदै गरेको को२ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा फेला पारेको थियो ।
विराटनगर महानगरपालिका–४ का २५ वर्षीय चालक प्रदीपकुमार साह, जहदा गाउँपालिका–१ का ४२ वर्षीय सहचालक भूपेन्द्र राजवंशी र सोही ठाउँका सहचालक कात्तिक राजवंशीलाई इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी तीनकुनेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
बरामद गरिएको सामान, मिनी ट्रक र पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका, सुचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपालले कपिलवस्तुका विभिन्न सीमा क्षेत्रबाट सात लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ । सात लाख पाँच हजार ८८० बराबरका लत्ताकपडा, मोटर पाट्र्स, रङ्गोली, किराना सामान तथा आतिशबाजीका सामग्री सशस्त्र प्रहरी बल, नेपाल नं २८ गण हेडक्वार्टर कपिलवस्तु मातहतका सीमा सुरक्षा गुल्म, बीओपी तथा बेसबाट खटिएको टोलीले बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं २८ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए । साथै, बरामद गरिएका प्रतिबन्धित आतिशबाजीका सामग्री (पटका) भने स्थानीय भद्रभलाद्मी, नेपाल प्रहरी तथा जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ ।