काठमाडौं, ग्राहकहरूको विश्वास अझ सुदृढ बनाउने उद्देश्यसहित मेटलाइफ नेपालले नयाँ ग्राहक दाबी प्रक्रिया ट्र्याकिङ प्रणाली सुरु गरेको छ । नयाँ प्रणालीमार्फत ग्राहकहरूले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा शाखा कार्यालयमा उपस्थित नभई आफ्नो दाबी प्रक्रियाको अवस्थाबारे अनलाइनबाटै जानकारी प्राप्त गर्न सक्नेछन् ।
नेपाल बीमा प्राधिकरणको निर्देशनअनुरूप सुरु गरिएको यो सेवाले दाबी प्रक्रियामा ग्राहकको पहुँच, पारदर्शिता र सहजता अभिवृद्धि गर्ने कम्पनीको विश्वास छ । यस सेवाको प्रयोग गरी ग्राहकहरूले मेटलाइफ नेपालको वेबसाइटमार्फत जुनसुकै समय र जहाँबाट पनि आफ्नो दाबीको अवस्था ट्र्याक गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकहरूले अनलाइन प्रणालीबाट दाबी प्रक्रियाको प्रगति, हाल दाबी समीक्षा भइरहेको चरण तथा प्रक्रिया पूरा गर्न आवश्यक रहेका विवरण वा पेस गर्न बाँकी कागजातबारे जानकारी प्राप्त गर्न सक्नेछन् । यसबाट दाबी प्रक्रियाबारे जानकारी लिन ग्राहकहरूले अतिरिक्त समय खर्च गर्नुपर्ने अवस्थालाई कम गर्नुका साथै प्रक्रियालाई थप पारदर्शी र सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले बीमाको वास्तविक महत्व ग्राहकलाई आवश्यक परेको समयमा प्रतिबद्धता पूरा गर्नुमा रहेको बताएका छन् । उनले दाबी भुक्तानीलाई बीमा सेवाको महत्वपूर्ण पक्षका रूपमा उल्लेख गर्दै नयाँ प्रणालीले दाबी दर्ता गरेपछि ग्राहकमा उत्पन्न हुन सक्ने अनिश्चितता कम गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् । बीमा भनेको अन्ततः ग्राहकलाई सबैभन्दा आवश्यक परेको समयमा गरिएको प्रतिबद्धता पूरा गर्नु हो, र दाबी भुक्तानी त्यस प्रतिबद्धताको महत्वपूर्ण पक्ष हो । श्रेष्ठले भने, ‘ग्राहकहरूले दाबी दर्ता गरेपछि देखिन सक्ने अनिश्चितता कम गर्दै अझ बढी पारदर्शितामार्फत उनीहरूको विश्वास बढाउन मद्दत मिल्छ ।’
मेटलाइफ नेपालका अनुसार नयाँ सेवा कम्पनीको ग्राहक–प्राथमिकता दृष्टिकोणको निरन्तरता हो । डिजिटल प्रविधिको प्रयोगमार्फत बीमा सेवालाई अझ सरल, पारदर्शी र सहज बनाउँदै ग्राहकको अनुभव सुधार गर्ने आफ्नो प्रतिबद्धताअनुरूप यो प्रणाली सुरु गरिएको कम्पनीले जनाएको छ । नयाँ दाबी ट्र्याकिङ प्रणालीले ग्राहकलाई आफ्नो दाबी प्रक्रियाबारे समयमै जानकारी प्राप्त गर्न सहज बनाउनुका साथै बीमा सेवाप्रति विश्वास अभिवृद्धि गर्न र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।