“हाम्रा सामुन्ने दुईवटा बाटा प्रस्ट छन्– एउटा विगत ३५ वर्षदेखि हामीलाई थिचिरहेको त्यही अक्षम नेतृत्व, भ्रष्टाचार, राज्यका सम्पूर्ण अंकको दलीयकरण र सीमित व्यक्तिगत स्वार्थको लागि राज्यको दोहनको पुुरानो बाटो, अनि अर्को तमाम परिवर्तनकारी शक्तिहरू एवं ऊर्जाशील युवाहरू एकाकार भएर अघि सारिएको ‘अनुहार होइन, थिति फेर्ने बाटो ।’”
यी माथिका शब्द कति राम्रा र मर्मस्पर्शी छन् है ? यही प्यारेग्राफ हो २०८२ साल फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनअगाडि हालको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले छ हजार सात सय ४३ वटै वडाका नागरिकहरूका नाममा सार्वजनिक गरेको ‘वाचा पत्र २०८२’ । यसलाई उसले सरल भाषामा भनेको थियो ‘थिति बसाल्ने सङ्कल्प’ । वास्तवमा उक्त वाचा पत्र सबैले बुझ्ने भाषाको चुनावी घोषणा पत्र हो । जुन अहिले पनि उक्त पार्टीको वेबसाइटमा पढ्न सकिन्छ । यति भएपछि कसले भोट हालेन ? खसेको कुलमध्ये आधा मतदाताले रास्वपालाई नै मतदान गरे । किनकि त्यहाँ ३५ वर्षे शासनको जानीनजानी सकीनसकी धज्जी उडाइएको थियो । कतिपय त ३५ वर्षसम्म अवसरमा डुबेकाहरू पनि त्यसमै रमाइरहेका थिए । यसै रास्वपाले प्रतिनिधिसभामा दुई तिहाइ त सिट संख्या ल्याएको होइन ।
अहिले सरकारको नेतृत्व सक्षम छ कि अक्षम ? सक्षम नेतृत्वले के गर्छ ? विधि र प्रक्रिया मिलाएर काम गर्छ कि जे मन लाग्यो त्यही गर्छ ? जे मन लाग्यो त्यही बोल्छ ? जसलाई मन लाग्यो त्यसलाई पक्राउ गर्छ अनि छाडी पनि दिन्छ । विगत ३५ वर्षदेखिको अक्षम नेतृत्वले थिचेको थियो कि अहिले थिचिरहेको छ ? अहिले कहीँ अन्यायको विरुद्ध आवाज उठाउन पाइन्छ ? बोल्न पाइन्छ ? सर्वोच्च अदालतदेखि हरठाउँमा कसरी नियुक्तिहरू भए ? यसमा केही लेखिरहनुपर्छ ? बोल्नेहरू पक्राउ पर्छन्, थिचोमिचो सहन नसक्नेविरुद्ध साइबर आक्रमण हुन्छ । मानसिक तनाव दिइन्छ र समाजमा बद्नाम गराउने प्रयास हुन्छ । योभन्दा थिचोमिचो अब के बाँकी छ ? मिडियालाई आर्थिक नाकाबन्दीको प्रयास आंशिक खुले पनि केही मुद्दा अहिले पनि सर्वोच्चको संवैधानिक इजलासमै छन् ।
चारैरितबाट निरंकुश बन्ने प्रयास छ, त्योभन्दा अत्याचार केही हुन सक्छ ? अहिलेको सरकारको नेतृत्वले नागरिकसँग संवाद गरेको कसैले सुनेको छ ? नागरिक उपस्थित हुने कार्यक्रममा प्रधानमन्त्रीदेखि कुनै पनि मन्त्री जान्छन् ? जाँदैनन् । भ्रष्टाचार के हो ? पदको दुरुपयोग गर्नु नै सबैभन्दा ठूलो भ्रष्टाचार हो । अहिलेको नेतृत्वले दुई तिहाइको दम्भले जे मन लाग्यो त्यो निर्णय गर्नु नै भ्रष्टाचारको सबैभन्दा ठूलो रुप हो । त्यसलाई भनिन्छ नीतिगत भ्रष्टाचार । राहदानी छपाइदेखि धेरै विषयहरूमा शक्तिको दुरुपयोग गरेर राज्यको स्रोत दोहन गर्ने जुन प्रयास भएका छन् ती ३५ वर्षलाई नै माथ गर्ने किसिमका छन् । यद्यपि राहदानी छपाइको विषयमा सर्वोच्च अदालतबाट एउटा निर्णय आएको छ । तर, धेरै यस्ता निर्णय छन्, जसलाई कसैले पनि प्रश्न गर्ने हिम्मत गर्दैनन् । राज्यका सम्पूर्ण अङ्गमा ३५ वर्षमा नभएको दलीयकरण र सीमित व्यक्तिगत स्वार्थको लागि राज्यको दोहन व्यापक भएको अहिले हो । यही हो नयाँ र परिवर्तनकारी शक्तिहरूको असली तमासा । यही हो ऊर्जाशील युवाहरूमा गरिएको बर्बर प्रहार । अनि भनिन्छ, ‘अनुहार होइन, थिति फेर्ने बाटो ।’ यही बाटोबाट जाने हो थिति फेर्न ? के थिति फेरियो त, प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रावि लामिछानेजी ?
अझै अर्को पञ्चबुटी पनि त्यही वाचा पत्रमा उल्लेख थियो, १. सदाचार र असल शासन २. मध्यम वर्गीय विस्तार ३. काम, काम, काम ४. कनेक्टिभिटी ५. प्रवास । यी पञ्चबुटीले बालेन सरकारलाई पिछा गरिरहेको छ । सदाचार र असल शासन भनेको आफूसँग मन नमिल्नेलाई पेलेरै समाप्त पार्नु हो ? मध्यम वर्गलाई करमाथि कर लगाएर उठ्नै नसक्ने बनाउनु हो ? काम कति पाए युवाले ? के युवा विदेश जानबाट रोकिए कि सरकार बनेको एक सय दिनमा विदेशका गल्लीगल्लीमा नेपाली युवाहरू घर फिर्तीको पर्चाहरू टाँसिए ? कनेक्टीभिटीको त कुरै नगरौँ ।
सडक सुरक्षितन छ ? हवाई यातायात सुरक्षित छ ? ऊर्जा र डिजिटल सञ्जाल सुरक्षित छ ? नागरिकहरू गाडी चढेर हिँड्न पाएका छन् ? जब तिमीहरूले सिंहदरबार जलायौ, अदालतहरू जलायौ, व्यावसायिक प्रतिष्ठान जलायौ त्यहीँबाट सुरु भयो देशमा अनिष्ठको कालो बादल । तिमीहरू यति पापी छौ कि तिमीहरूले भनेको वा तिमीहरू नै सत्तामा आएपछि यो ३५ वर्षमा होइन ३५ सय वर्षमा नभएको क्षति भएको छ । तिमीहरूले जम्मा गरेको अकुत सम्पत्ति प्रयोग गर्दा पनि यो पुनःनिर्माण हुन कयौ वर्ष लाग्ने भएको छ । तिमीहरूले आफैँले जलाएको भवनहरू नै बनाउन सकेका छैनौ । सर्वोच्च, काठमाडौं जिल्ला अदालत र सडक विभागलगायत सरकारी भवनहरूको अवस्था हेर्दैमा थाहा हुन्छ तिमीहरू नाश गर्न जन्मिएका हौ कि बनाउन भन्ने । सुशासन र भ्रष्टाचारविरुद्धको अभियान, शासकीय र निर्वाचन प्रणालीमा सुधार, सार्वजनिक सेवा र डिजिटल रूपान्तरण, आर्थिक विकास र उद्यमशीलता, शिक्षा र स्वास्थ्यमा पहुँच, भ्रष्टाचारशून्य देश तिमीहरूका नारा होइन ? बालेन र रविजी ? शिक्षा र स्वास्थ्यमा त सर्वसाधारण नागरिकको पहुँच सधैँका लागि टाढा पार्ने काममा तिमीहरू छौ नै । भ्रष्टाचारशून्य देश होइन शून्यलाई पनि भाग लगाउन मिल्ने भए आधा–आधा भाग लगाउने पक्षमा छौ तिमीहरू । तिमीहरूका गतिविधिले त्यही देखाउँछ । मन्त्रालयमा सल्लाहकारको नाममा छाडिएका ब्वाँसाहरूको अनुहार र गतिविधि हेर्दा नै थाहा हुन्छ तिमीहरूको रोडम्याप के हो भन्ने ।
लुट्नका लागि तिमीहरूले ‘सही ठाउँमा सही मान्छे’ भन्ने सिद्धान्तलाई कार्यान्वयन गराएका छौ । नातावाद, कृपावाद, आशीर्वाद र परिवारवादबाहेक तिमीहरूको काम अरुबाट हुनै सक्तैन । सार्वजनिक सेवालगायत जनतालाई परेका कुनै पनि प्रकारका समस्या सुन्न तिमीहरू चाहँदैनौँ । सुन्न चाहने हो भने तिमीहरूले सर्वसाधारण नागरिकको घरायसी प्रयोजनको बिजुलीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने नै थिएनौँ । शिक्षा र स्वास्थ्यमा कर लगाउने दुष्साहस नै गर्ने थिएनौँ । शिक्षा, स्वास्थ्य, कृषिजस्ता नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमाथि तिमीहरूले जसरी लुछ्ने प्रयास गरिरहेका छौ हेर्दै जाऔँ त्यसले तिमीहरूलाई चाँडै नै बिसर्जनको बाटोमा लग्ने नै छ । नक्सामा अंकित गरिएको नेपाली भूमिलाई फिर्ता पठाउने काममा तिमीहरू जसरी लागेका छौ त्यसको सरापले तिमीहरूको तीन पुस्ता होइन ३० पुस्तालाई पोल्नेछ ।
हाम्रा भत्किएका सीमास्तम्भहरूलाई मजबुत होइन भत्काएर नामेट बनाउने बाटोमा तिमीहरू छौ । कानुनका छिद्रबाट जन्मेका र राजनीतिक संरक्षणबाट मौलाएका प्रधानमन्त्री वा गृहमन्त्री वा जुनसुकै मन्त्रीका गुन्डागर्दी नागरिकले भोगिरहेका छन् । तिमीहरू आयातलाई प्रतिस्थापन होइन स्वदेशी उद्योगीलाई धराशायी बनाउने प्रयासमा छौ । भौतिक पूर्वाधार क्षेत्रमा त तिमीहरूले कायापलट नै गर्नेछौ । तिमीहरू पुरानोको पुनःस्थापना र जर्गेनाका लागि नै सत्तामा आएका हौ, आगो लगाएर । त्यही भएर तिमीहरू सत्तामा आएपछि ३५ वर्षे शासकले बनाएका सिमेन्टेट मोटरेबल पुल त प्रकृतिले पनि तिमीहरूकै इच्छा बुझेर ४० भन्दा बढी त ढालिसकेको छ । ती ठाउँमा तिमीहरू तुइन, फड्के, झोलुङ्गेपुल बनाउन पाएका छौ । यो किसिमको संरचना हाम्रो धेरै वर्ष पुराना मौलिक सम्पत्ति हो । यसलाई पुनःस्थापना गर्ने जिम्मा तिमीहरूलाई लेखिएको रहेछ, तिमीहरूको खप्परलाई मान्नैपर्छ है ! समग्रमा भन्दा सम्वत् ८२ को चैत १३ मा गठन भएको अहिलेको सरकारमा युवा वा बुढा जो भए पनि जोक्करहरूको जमघट हो । यिनीहरूको काम देश बनाउने होइन भएको ध्वस्त गराउने हो । तर, हामीले कागतीको बिरुवा रोपेर सुन्तला टिप्न पाइन्न भनेको जस्तै जलाएर खरानीको जगमा स्थापित भएर आएकाहरूबाट समृद्ध नेपालको सपना देख्नु नै गलत थियो र हो ।
तिमीहरूको गतिविधि हेर्दा तिमीहरूको सत्ताको पतन भयानक हुनेछ । पुराना जसरी पतन भयो त्योभन्दा ठूलो क्रूर र पीडादायी हुनेछ तिमीहरूको पतन । आफ्नो बारेमा प्रश्न उठाउनेलाई समात्ने काम मात्र गरेको छ । देशभन्दा ठूलो हामी र हाम्रो पार्टी भन्ने तिमीहरूको भनाइ छ । बाढीबाट हजारौँ व्यक्ति माटोमुनि दबिएका छन् । तिनीहरूको लास त निकाल । तिमीहरूले सुरुमै प्रयास गरेको थियो भने सुरुङबाट जिउँदा मानिस निस्कने थिए । गृहमन्त्री सुधन गुरुङको काम सिलिन्डर बोक्ने र बच्चा बोकेर बस्ने हो ? १३ अर्ब रुपैयाँ हेलिकोप्टरमा सक्यौ । परिवारलाई घुमाउने काम ग¥यौ । नजिकका व्यक्तिलाई हेलिकोप्टरबाट घुमाएर जनताको पीडामाथि भद्दा मजाक गरेर भिडियो बनाउने काम ग¥यौ । सरकारको काम त्यही हो ? यही हो जेनजी आन्दोलनको मर्म ? यसैगरी मानिसका पीडामाथि मजाक गर्ने हो ? आफ्नो गलत क्रियाकलापको बारेमा प्रश्न गर्नेमाथि पक्राउ गर्नु तिमीहरूको महान् काम हो ?
केपी ओली, रमेश लेखक, दुर्गा प्रसाईँ, भारत दाहाल, चोलेन्द्र शमशेर जबराहरू पक्राउ गरेर के कारबाही ग¥यौ ? जनता पक्राउ हेर्न होइन कारबाही देख्न चाहन्छन् । कुन अभियोग पुष्टि गर्न सक्यौ ? यस्तो पक्राउको नाटक नगर । यस्ता नाटक त माओवादी युद्धको बेला पनि हुने गर्दथ्यो । माओवादीलाई समात्ने सत्ता सधैँ रह्यो कि ढल्यो ? प्रधानमन्त्री बालेन्द्र र गृहमन्त्री सुधन गुरुङजी ? मेरो छोरा, मेरो भाइ, मेरो श्रीमान्, मेरो बा ऊ त्यो सुरुङमा पुरिएको छ । यहीको बाटोले थिचेको छ भन्दा तिमीहरूले एउटा ढुंगा पल्टाएर खोतल्न सहयोग ग¥यौ समयमै ? सुरुङबाट जिउँदा नागरिक निकाल्न चीन र कोरियाबाट प्रविधि र प्राविधिक ल्याउन तिमीहरूले किन पहल गरेनौ ? फसेकाहरू सबै मरुन् भनेर होइन तिमीहरूले यसो गरेको ? फसेकाहरूलाई निकालिदे सरकार भन्नेहरूलाई तिमीहरूले के व्यवहार गरेका छौ ? हेक्का राख । राहत र उद्धारमा लाग्ने तथा पुनः निर्माणमा लाग्ने निर्माण व्यवसायीहरूलाई पनि कति धम्की दिएका छौ सरकार तिमीहरूले ? हामीलाई पनि जानकारी छ ।
देवीघाटको बेलिब्रिज (पुल) कहिले बनायौ र कहिलेदेखि पुल बनिसक्यो भनेर प्रचार ग¥यौ ? हामीलाई थाहा छ । नुवाकोटका जनतालाई थाहा छ । तिमीहरूले कति दिनमा त्यो पुल जडान ग¥यौ ? अनि किन पहिलो दिन नै पुल तयार भयो भनेर प्रचार ग¥यौ ? त्यो झुट प्रचार गर्नेलाई तिमीहरूले पक्राउ ग¥यौ त ? पाँच÷छ दिन लगाएर पुल जडान गरेपछि तिमीहरूले आफ्ना हनुमान लगाएर यो एआई पुल हो भनेर आलोचना गर्नेहरूलाई गिज्याउने असफल प्रयास गरेकै हो । पुलका सामान देवीघाटमा झारेकै दिन पुल तयार भयो, गाडी गुड्न थाल्यो भनेर जसरी प्रचार गरेका थियौ ? त्यो भएको छैन भन्नेहरूलाई पछि पुल जडान गरेपछि बनेको पुललाई बनेको छैन भनेर प्रचार गरेको भनेर उल्टै स्थानीयलाई बिच्काउने काम गरेका छौ । देवीघाटमा हालेको त्यो एक्रो ब्रिज कसले किनेर ल्यायो ? कहिलेदेखि नेपालमा थियो ? त्यहाँ पुल बनाउन प्रयोग गरेको अन्य निर्माण सामग्री, डोजरहरू कसेल व्यवस्था ग¥यो ? के नेपाली सेनाले त्यो पुल खरिद गरेर ल्याएको हो ? के त्यहाँ चाहिने सबै सामान नेपाली सेनाले खरिद गरेको हो ? डोजेर भाडामा सेनाले लिएको हो ? कहिलेदेखि कुन गोदाममा थियो त्यो पुल ? त्यो पुल गोदामबाट झिकेर ल्याएर जडान गरेको कि ? निर्माण गरेको ? निर्माण र जडानको अर्थ फरक हुन्छ कि हुन्न ? यस्ता एउटा पुलबाट तिमीहरूको औकात र हैसियत प्रस्ट हुँदै गएको छ ।
तिमीहरूको गलत प्रचारको सिकार विदेशमा बस्ने नेपालीहरू समेत परे । आफू जन्मेको ठाउँको बजारको वारी र पारी घर छ छैन भन्ने ख्याल नगरी तिमीहरूले गतल रुपमा एआईलाई पढाएर बनाएको तस्बिर फेसबुकमा सात समुद्रपारिको अमेरिकादेखिबाट हालेर प्रचार गर्न सक्यौ । यो तिमीहरूको मान्नु पर्ने कला हो । तर, यो कलाले तिमीहरू टिक्नेवाला छैनौ । तिमीहरू अलछिन्या हौ । गत भदौ २४ गते आगजनी गरेर तिमीहरू तेरो देश जलाएँ हेर भन्दै सत्ता कब्जा गरेर अहिले हाम्रै देशमा शासन गरिरहेका छौ । जनताले तिमीहरूलाई सत्ता चलाउन मत दिएकै हुन् । तर, तिमीहरू सत्तामा आएदेखि नै यहाँ भौतिक विकासमा निरन्तर क्षति भइरहेको छ । ३५ वर्षदेखि बनेका पुलहरू तिमीहरू नै सत्तामा आएपछि नदी र पहिरोले सिनित्तै पारेर बगाएर लगेको छ । सरकार भवनहरूको कहाँ पुग्यो थाहा छैन । व्यक्तिका घर, खेत, उद्योग, कलकारखानाको त लेखाजोखा नै छैन । तिमीहरू सत्तामा आएपछि सबैतिर क्षति मात्र भएको छ । बास तिमीहरूको बैंक खाता मात्र बलियो भएको छ । सरकारी सूचना पनि तिमीहरूको फेसबुकमा हेर्न पर्ने भएको छ । त्यहीबाट तिमीहरूले पैसा आर्जनको बाटो बनाएका छौ । तिमीहरूको भिडियो हेरेर मात्र आधिकारितकता पत्ता लगाउन पर्ने भयो । राज्य संयन्त्र भन्दा हामी ठूला हौँ भन्ने तिमीहरूको जुन अहमता छ त्यो धेरै टिक्नेछैन । तिमीहरूको काला चश्मा, तिमीहरूको आँखाको इसारा, तिमीहरूको प्रचार शैली अहिले जनताले खोजेकै होइन ।
द्रूत र आधुनिक विकास गर्ने भनेर आएको तिमीहरू अहिले तुइन र झोलुङ्गे पुल, कुनै देशले सहयोग दिएर गोदाममा थन्क्याएर राखेका पुलहरू जडान गरेर सरकारले खरिद गरेर पुल बनायो भनिरहेका छौ । पुलको दुईतिरको पिलर आफैँले बनाएको जसरी प्रचार गरिरहेका छौ । देवीघाटको पुलको दुवैतिरको पिलर बगेको थिएन र पो बेलिब्रिज जडान चाँडो सम्भव भयो । अब दुईतिर केही नभएको ठाउँमा त्यही बेलिब्रिज कति दिनमा राख्ने रहेछौ जनताले हेर्नेछन् । पाँच–सात दिनमा पुल बनाएर वेत्रावतीमा देखाओ, त्रिशुलीमा देखाओ, देवीघाटको त्रिशूली नदीको पश्चिमतर्फ तर्ने ठाउँमा बनाएर देखाओ । जे पनि बोल्ने ? तिमीहरूले गरेका छौ के ? पुरानै सडक पुनःस्थापित कति समयमा सक्छौ ? निर्माणाधीन सडक र पुलको फोटाहरू सामाजिक सञ्जालमा पोष्ट गरेर केही अर्थ छैन । त्यो केबल नागढुंगा सुरुङमार्ग उद्घाटन गरेको जस्तो मात्र हो । तिमीहरूले जग हालेर के पूर्वाधार विकासको काम ठड्याउने काम गरेऊ त अहिलेसम्म ? केही छ ? केही छैन । तिमीहरू यो गर्न आएका पनि होइनौ ।
नागरिकलाई यसरी भोटेकोशीमा लेदो र ढुंगाभित्र गाढिन बाध्य पा¥यौ त्यो तिमीहरूको लागि ठूलो श्राप हुनेछ । तिमीहरूले बाढी पर्यटक बोकेर हेलिकोप्टरको ६० प्रतिशत दुरुपयोग गरेकै हो । तिमीहरूले बाढीबाट फसेका दक्ष र अर्धदक्ष तथा अदक्ष कामदारलाई जिउँदै निकाल्ने प्रयास नगरेकै हो । छ दिनसम्म कसैलाई अनुमति नदिएकै हो । सातौँ दिनमा मात्र अनुमति दिएको हो । कुनै पनि दललाई मात्र होइन प्रदेश र स्थानीय तहसँग पनि पहिलो दश दिनसम्म तिमीहरूले खोज, उद्दार, राहत र पुनःस्थापनामा सहकार्य नगरेकै हो । तिमीहरूले अहिले पनि पीडितहरूलाई बसोबासको लागि जग्गा व्यवस्था नगरेकै हो । जग्गा व्यवस्था गरे घर बनाउने प्रतिबद्धता प्रदेश सरकारले गरेको छ, तिमीहरू आफ्ना विरोधी समात्नलाई आफ्नो पौरख ठानिरहेका छौ । त्यो पौरख तिमीहरूका लागि यस्तो अभिषाप हुन्छ हेर्दै जाऔँ ।
तिमीहरू अहिलेसम्म किन पहिरो गएको भनिएको हिमालको फेदमा जान सकेनौ ? जुन नेपालकै लाङटाङ हिमालको उत्तरतर्फको लिरुङ हिमालबाट पहिरो गएर बाढी आएको भनेको होइन ? तिमीहरू किन जान चाहँदैनौ ? एक महिना नाघिसक्दा पनि गृहमन्त्री किन पुग्दैन लाङटाङ लिरुङ हिमालको पहिरो उद्गमस्थल ? प्राविधिक जाने र गृहमन्त्री जाने फरक कुरा हो भन्ने पनि छन् । त्यसो भए प्राविधिक जाने पर्ने उद्दार गर्न गृहमन्त्री किन गएको ? अक्सिजनको सिलिन्डर गृहमन्त्रीले बोक्ने कि स्वास्थ्यका कर्मचारीले बोक्ने ? यसैले देखाउँछ बालेन सरकारको औकात, क्षमता र दूरदर्शिता । बाँच र बाँच्न देऊ भन्ने पक्षमा यो सरकार छैन । तिमीहरू जति धेरै मानिस मर्छ त्यो गरिब नै मर्छ, आफ्नो विपक्षी नै मर्छ भनेर जसरी हिसाब गरिरहेका छौ त्यो मृतआत्माले तिमीहरूलाई सधैँ लखेटिरहनेछ । तिमीहरू जनतासँग बोल्न चाहँदैनौ, तिमीहरूसँग बहस गर्ने न त औकात देखियो न त व्यवस्थापनको क्षमता नै । तिमीहरू जे गरिरहेका छौ, आफ्नो लागि गरिरहेका छौ ।
देश जेसुकै होस् तिमीहरूलाई कुनै मतलब छैन । तिमीहरूले २०८२ चैत १८ गतेदेखि नै मिडिया सिध्याउने प्रयास गरेकै हो । तिमीहरू आलोचना गर्ने सञ्चार माध्यमलाई बन्द नै गराउन चाहन्छौ । तिमीहरूले मुखले नभने पनि व्यवहार र निर्णयले त्यो देखिएको छ । तर, न्यायालय पनि सानो दीयो धिपधिप बलिरहेको छ । त्यो दीयोमा थोपाथोपा तेल हाल्ने काम हामी गरिरहनेछौँ । तिमीहरू आफ्नै कारण लखेटिने दिन आउँदा हामी त्यतिखेर पनि अहिलेको जस्तै गरी आफ्नो पेसा गरिरहेका हुनेछौँ । तिमीहरू नागरिकलाई नागरिक होइन दास सम्झिरहेका छौ र त्यही व्यवहार गरिरहेका छौ । तिमीहरूको आलोचना गर्न नहुने के हो ? आलोचना गर्न पाउनु नागरिकको अधिकार हो । त्यो अधिकार खोसिरहेका छौ । केपी शर्मा ओलीदेखि भरत दाहाल हुँदै चालेन्द्र शमशेरसम्मको पक्राउको उद्देश्य तिमीहरूको थर्काउने प्रयास हो । जोसुकै भए पनि हामी पक्राउ गरेर बद्नाम गरिदिन्छौँ भन्ने तिमीहरूको धम्की हो । नागरिकमा यति आक्रोशको बादल मडारिन थालेको छ, त्यो कसैले पनि नसोचेको रूपमा अगाडि बढेको छ । यति छिटो तिमीहरूको कार्यको विरुद्ध नागरिक एकजुट हुन्छन् भनेर कसैले पनि सोचेको थिएन ।
कांग्रेस, एमाले र माओवादीमा पहिलो पुस्ता मात्र होइन दोस्रो पुस्ता पनि अब राजनीतिमा फर्किन सक्तैनन् भन्ने पूर्वानुमानविपरीत तिमीहरू अहिले आफ्नोविरुद्ध आफैँले खाल्डो खनिरहेका छौ । त्यो खाल्डोको गहि¥याई तीव्र रुपमा बढिरहेको छ । अब देख्नेछौ तिमीहरूको पतन कति छिटो हुन्छ भन्ने । तिमीहरूले कति आश्वासन दिएका थियौ थाहा होला नि ? केपी ओलीको भन्दा धेरै ठूला आश्वासन दिएका थियौ । ती पूरा हुनेतर्फ अगाडि बढेको छ त ? होइन, छैन, सुरुवात नै हुन सकेको छैन । अनि तिमीहरू पतन नभएर को हुन्छ त ? अनि ती पुराना दलका वा समग्रमा दोस्रो पुस्ता भनिएकाहरू सत्ता लिन आउनबाट कसरी र कसले रोक्न सक्ला त ? रोक्न पनि सक्तैन र रोक्नु पनि हुन्न । तिमीहरूले जसरी निषेधको राजनीति अगाडि बढाएका छौ पछि तिमीहरूले बोलाएको चियापानमा समेत मानिस भेटिन गाह्रो पर्नेछ । बेलैमा सुध्रिनू । तिमीहरूको सत्तामा पक्राउ परेका व्यक्तिहरू विवादरहित त थिएनन् नै । तर, त्योभन्दा ठूलो विवाद अहिले पक्राउ गर्ने र छाड्ने प्रक्रियामा छ । तिमीहरूले सिंहदरबार र सर्वोच्च अदालत जलाएर खरानी बनाएको हो । तर, संविधान, नियम, कानुन, विधि र प्रक्रिया जलाउन सकेका थिएनौ । अहिले तिमीहरू सत्तामा बसेर बिधि र प्रक्रिया जलाउने प्रयासमा छौ । त्यसको आगोको लप्काले तिमीहरूलाई चाँडो नभेटोस्, छट्पटिन नपरोस् ।
यो सत्ताको उन्माद तिमीहरू यति उम्लिएका छौ कि तिम्रै सांसद जो सत्तारुढ छन्, प्रहरी अधिकारीलाई घिसार्ने अभिव्यक्ति दिइरहेका छन्, अनुसन्धानको प्रक्रियामा रहेका फाइलहरू देखाउन प¥यो भनिरहेका छन्, अदालतको फैसलाको प्रक्रिया देखाउन प¥यो भनिरहेका छौ । तिमीहरूसँग अहिले शक्ति छ, जे जे मन लाग्छ त्यो त्यो गर । क्रमशः तिमीहरूको साथमा अहिलेको सेनापति हुने छैन, अहिलेको प्रधानन्यायाधीश हुनेछैन, अहिलेको प्रहरी प्रमुख हुने छैन, अहिलेको मुख्य सचिव हुने छैन, अहिले तिमीहरूले प्रक्रिया मिचेर गरेका नियुक्ति गरेका हुने छ्र्रैनन् वा भए पनि पुनः नियुक्त हुन नसक्ने हुने छन् त्यसपछि तिमीहरूको हालत के हुन्छ देख्ने छौ । यो राज्य तिमीहरूको निजी सम्पत्ति होइन । अनि देख्नेछौ आफ्नो औकात । ताल र सुर सधैँ अहिलेको जस्तो सधैँ जारी रहन सक्तैन अनि त्यतिबेला तिमीहरूको असली रुप देखिनेछ । यी पुरानाहरूको गतिविधि राम्रो छैन । समर्थन गर्न सकिन्न । अहिले प्रतिपक्ष छ छैन देख्न सकिन्न । तर पनि तिमीहरूका अहिलेका गतिविधि ठीक छँदै छैनन् ।
तिमीहरू देश जलाएको खरानीबाट, अबोध बालबालिकालाई मर्न उक्साएर उनीहरूको खरानीबाट तिमीहरूको सत्ताको जन्म भएको हो । हेक्का राख्नु जनभावनाविपरीत काम गर्दै गरेका छौ तिनीहरूको आत्माले तिमीहरूलाई यति तर्साउने छ कि तिमीहरू भाग्दाभाग्दै भाग्नै नसक्ने अक्करमा चाँडै नै पुग्नेछौ । दुई तिहाइको दम्भमा जसरी यति छिट्टै उम्लिएर आफैँले ल्याएको वाचा पत्रविपरीत तिमीहरू गएर जनताका कुनै पनि काम गरिरहेका छैनौ ३५ वर्ष होइन ५ वर्ष पनि तिमीहरूका लागि एक शताब्दीजस्तो लामो हुने देखिएको छ ।