काठमाडौं, अर्थशास्त्री यांकी उक्याबलाई सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यांकीलाई सीईओ नियुक्त गरेको हो ।
अर्थमन्त्री संयोजक रहेको सिफारिस समितिले बोर्डको सीईओका लागि यांकीसहित मनोज पौडेल र जितेन्द्र धितालको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । यांकीले यसअघि लगानी बोर्डमै परामर्शदाताको रुपमा काम गरिसकेकी छिन् । उक्याब सार्वजनिक नीति, दिगो विकास, जलवायु, आर्थिक विकास तथा लगानीका विषयको अन्तर्राष्ट्रिय विशेषज्ञका रूपमा परिचित छिन् ।
उक्याबले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीति विषयमा स्नातकोत्तर तह अध्ययन गरेकी छिन् । उक्याबले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको प्यासिफिक कार्यालय (फिजी)मा सिनियर पोलिसी एडभाइजरको रूपमा काम गरेको अनुभव छ । त्यसअघि उनी यूएनडीपी नेपालमा विकास अर्थशास्त्री थिइन् । लगानी बोर्डको परामर्शदाता हुँदा उनले ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानीसम्बन्धी परियोजनामा संलग्न भएर काम गरेकी थिइन् ।