काठमाडौं, महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलबभत्ता अर्धमासिक रूपमा भुक्तानी गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालय सबै निवृत्तभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गरी संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवकलाई हरेक १५ दिन पुगेपछि अर्धमासिक रूपमा तलबभत्ता भुक्तानी गर्न पत्राचार भएको हो ।
अर्थमन्त्रीस्तरको २०८३ वैशाख ४ गतेको नीतिगत मार्गदर्शनअनुसार संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीले १५ दिन काम गरिसकेपछि तलबभत्ता उपलब्ध गराउन अनुरोध भएको छ ।
त्यस्तैगरी, बजेट वक्तव्य २०८३/८४ अनुसारको कर्मचारी प्रोत्साहन भत्तासमेत भुक्तानी गर्नु गराउन एवं कोष तथा लेखा नियन्त्रक कार्यालयको कार्य क्षेत्रभित्रका संघीय सरकारी निकायबाट माथि उल्लेख भएबमोजिम भुक्तानीको लागि निकासा माग भई आएमा सोहीअनुसार भुक्तानी गर्न पनि अनुरोध भएको छ ।