सुदूरपश्चिम, रसुवामा आएको बाढीका कारण समस्यामा परेका सुदूरपश्चिमका नागरिकको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल वैद्यनाथ वाहिनी मुख्यालयले प्रभावित क्षेत्रमा रहेका सुरक्षा युनिटसँग समन्वय गरिरहेको जनाएको छ ।
विभिन्न माध्यम तथा सशस्त्र प्रहरीको आपत्कालीन तथा टोल फ्री नम्बर १११४ मा प्राप्त सूचनाका आधारमा खोज तथा उद्धारका लागि केन्द्रीय कार्यालय र रसुवा, नुवाकोट, धादिङलगायत प्रभावित क्षेत्रमा रहेका युनिटसँग समन्वय भइरहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले जानकारी दिए ।
उनका अनुसार बाढीपछि आफ्ना परिवारका सदस्य तथा आफन्त सम्पर्कमा नआएको भन्दै प्रदेशका विभिन्न जिल्लाबाट सूचना प्राप्त भइरहेका छन् । प्राप्त सूचनालाई तत्काल सम्बन्धित युनिटसम्म पु¥याई अवस्था पहिचान तथा खोजीका लागि समन्वय भइरहेको छ ।
यस क्रममा दार्चुलाबाट ललिता खडायतले टोल फ्री नम्बर १११४ मा फोन गरी रसुवास्थित लाङटाङ हाइड्रोपावरमा कार्यरत गणेशबहादुर खडायतसहित छ जना ड्याम साइटभन्दा माथिल्लो जङ्गलमा रहेको र उद्धार आवश्यक रहेको जानकारी गराएका छन् ।
यस्तै, सप्तरीका शिव शाहले सोही हाइड्रोपावरमा कार्यरत पङ्कजकुमार शाहसहित करिब २५ जना सम्पर्कमा नआएको जानकारी गराउनुभएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–६ की मीना ताम्राकारले आफ्ना भाइ–बुहारीसहित डडेल्धुराका अन्य व्यक्ति पनि रसुवामा सम्पर्कविहीन भएको जानकारी दिए।
यस्तै, कैलालीको टीकापुरका विक्रम टमटाले नेपाल प्रहरीमा कार्यरत आफ्ना भतिज राकेश टमटा बिहान ९ः०० बजेपछि सम्पर्कमा नआएको जानकारी गराएका छन्।
प्राप्त भएका यस्ता सूचनाका आधारमा उनीहरुको अवस्था पहिचान तथा खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल, तीन नम्बर वाहिनी गढीमाई, मकवानपुरसँग समन्वय गरिएको डिआइजी सुवेदीले बताए ।
यसैगरी, माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा पनि केही नागरिक बाढीका कारण फसेको जानकारी प्राप्त भएको छ । आयोजनाको सुरुङमा काम गरिरहेका बेला डुशान कम्पनीका सुरक्षा अधिकृत कृष्णबहादुर अधिकारीलगायत केही व्यक्ति फसेको जानकारी आएपछि उनीहरुको खोज तथा उद्धारका लागि सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
“हामीकहाँ आउने सूचनाका आधारमा केन्द्रीय कार्यालय र प्रभावित क्षेत्रमा रहेका युनिटसँग आवश्यक समन्वय गरिरहेका छौँ,” डिआइजी सुवेदीले भने, “समस्यामा रहेका व्यक्ति वा उहाँहरुका आफन्तले हामीलाई जानकारी गराए भने सोही अनुसार थप समन्वय गर्छौं । हामी चौबिसै घण्टा तदारुकताका साथ काममा खटिरहेका छौँ ।”
आफ्नो वा आफन्तबारे जानकारी दिन आग्रह
यसैबीच, सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले रसुवा, नुवाकोट, धादिङ र चितवनमा रहेका सशस्त्र प्रहरीका युनिट खोज तथा उद्धारका लागि परिचालन भएको जानकारी दिए ।
उनका अनुसार नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका नागरिकको अवस्थाबारे प्राप्त सूचनाका आधारमा खोजी तथा ‘लोकेसन’ पहिचानको काम भइरहेको छ ।
समस्यामा परेका नागरिक वा उनीहरुका आफन्तले सशस्त्र प्रहरीको टोल फ्री नम्बर १११४ मा सम्पर्क गर्न वा ९८५१२७२००७ नम्बरमा आवश्यक विवरण वाट्सएपमार्फत पठाउन सक्ने उनले बताए ।
“प्रभावित क्षेत्रका नागरिक मात्र होइन, विभिन्न पेसा तथा व्यवसायका सिलसिलामा सुदूरपश्चिमलगायत देशका अन्य भूभागबाट त्यहाँ पुगेका नागरिक पनि समस्यामा पर्नुभएको छ,” प्रवक्ता कार्कीले भने, “स्थानीय तह तथा जिल्लामा रहेका विपद् व्यवस्थापनसँग सम्बन्धित निकायको सहयोगमा उद्धार गरिएका व्यक्तिलाई होल्डिङ सेन्टरमा राख्ने काम भइरहेको छ ।”
उहाँले उद्धार तथा खोजीका क्रममा नागरिकलाई प्रदेश वा जिल्लाका आधारमा छुट्याएर नभई प्राप्त सूचनाका आधारमा आवश्यकताअनुसार जनशक्ति परिचालन भइरहेको स्पष्ट पारे ।
सशस्त्र प्रहरी बलका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका तथा सम्पर्कविहीन नागरिकबारे परिवार वा आफन्तबाट प्राप्त हुने सूचनालाई खोज तथा उद्धारमा तत्काल उपयोग गर्ने गरी सूचना संयन्त्रलाई सक्रिय बनाइएकाले सोहीअनुसार सहयोग गर्न आग्रह गरिएको छ । रासस