काठमाडौं ,बुधबार बिहान ९ बजेको आसपासमा चीनको स्वशासित क्षेत्र तिब्बतबाट रसुवागढी नाका हुँदै एक्कासि नेपाल प्रवेश गरेको समुन्द्रको छालजस्तै तीव्र गतिको बाढीको कारण रसुवा, नुवाकोट र धादिङमा मानवीय, पूर्वाधार विकास र अन्नबालीमा ठूलो क्षति पु¥याएको छ । जुन क्षतिको विवरण गणनायोग्य नै छैन । बाढीको कारण रसुवागढीको भन्सारलगायत रसुवा र नुवाकोटका १२ वटा जलविद्युत् आयोजना बन्द भएको छ । जलविद्युत् आयोजना, सबस्टेसन र प्रशारण लाइनमा क्षति पुग्दा नुवाकोट र रसुवा पूर्ण रूपमा अन्धकार भएको छ । प्राधिकरणका अनुसार १२ वटा उत्पादन केन्द्रका चार सय ३१ दशमलव १ मेगावाट जलविद्युत् आयोजनाको उत्पादन रोकिएको हो । बाढीले ४० किलोमिटर पक्की सडक, १९ वटा मोटरेबल पुलमा क्षति भएको छ । ती कुनै पनि पुल कामै नलाग्ने भएका छन् । सडक, मोटरेवल पुल र झुलुङ्गेपुल सबै बगाउँदा रसुवागढीदेखि धादिङको गल्छीसम्मका मानिसहरू नदी वारपार गर्न सक्ने अवस्था छैन । नदीको पुल बगाउँदा दैनिक जनजीवन ठप्प भएको छ । गल्छी–देविघाट सडकको गल्छी नजिकैबाट कल्लेरीघाटतर्फ जाने एउटा पुल मात्र जोगिएको छ । त्यसभन्दा तल धादिङबेसी जानेसम्मका अन्य मोटरेबल पुल पनि बगाएको कारण धादिङबेसीसँगको अन्य ठाउँको सम्पर्क भने टुटेको छ । बाढीको प्रभाव गोरखा र चितवनका नदी आसपास क्षेत्रमा पनि पुगेको छ । यद्यपि सबैभन्दा बढी क्षति नुवाकोट र रसुवामा पुगेको छ । धादिङमा भने मानवीय क्षति भएको पुष्टि भइसकेको छैन । रसुवा र नुवाकोटका केही बजार क्षेत्र पूर्ण रूपमा बगाएको कारण ठूलो मानवीय क्षतिको आकलन गरिएको हो । बाढीको बहाब कम हुँदै गएपछि नदी किनारमा शवहरू फेला पर्न थालेका छन् । स्थानीय प्रशासन उद्दार र राहतमै खटिएको कारण अन्य क्षतिको विवरण संकलन गर्नेतर्फ लाग्न नै भ्याएको छैन ।
बालीनाली र पशुचौपायको विवरण न त खोज्ने काम भएको छ, न त दिने नै काम भएको छ । नदी किनाराका बजार मात्र होइन किसानले रोपेका धानका फाँटहरू समेत बगरमा परिणत भएका छन् । बिहानपख बजारमा किनमेल गर्न जाने बजार आपसासका गाउँका व्यक्तिहरू, पर्यटकका रुपमा घुम्न जानेहरू, विद्यालय र कलेजमा अध्ययन÷अध्यापनमा जानेहरूको भीड भएको कारण को कता हराए बुधबार साँझसम्म पनि पत्तो लाग्न नसकेको हो । प्रहरी स्रोतका अनुसार रसुवागढी भन्सारका १५ जना कर्मचारी सम्पर्कमा आएका छैनन् ।उनीहरू कता हराए भन्ने बारेमा केही बताउन सकिने अवस्था छैन । प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरतमध्ये १० जना, प्रहरी चौकी रसुवागढीमा कार्यरत आठ जना, प्रहरी चौकी स्याफ्रूमा कार्यरत तीन जना, अस्थायी प्रहरी पोष्ट मैलुङमा कार्यरतमध्ये पाँच जना, प्रहरी चौकी बेत्रावतीमा कार्यरत एक जना र प्रहरी चौकी हाकुमा कार्यरत एक जना बुधबार साँझसम्म पनि सम्पर्कमा आएका छैनन् ।
यस्तै, बाढी प्रभावित क्षेत्रमा ४४ जना नेपाली सेना, सशस्त्र प्रहरी बलका १३ जना, तीन सय ९१ जना विदेशी पर्यटक र ९३ जना स्वेदशी पर्यटक पनि सम्पर्कविहीन छन् । स्रोतका अनुसार त्रिशूली जलविद्युत् कम्पनीको निर्माणाधीन रहेको त्रिशूली ३ बी को साइटमा कार्यरत २१ जना र सोही कम्पनीअन्तर्गतको चेस्को कम्पनीमा कार्यरत २१ जना, त्रिशुली ३ ए जलविद्युत् केन्द्रको पावर हाउस मर्मतमा कार्यरत ४५ जना, त्रिशुली र देविघाट जलविद्युत आयोजनामा कार्यरत एक÷एक जना, चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्टमा कार्यरत सात जना, त्रिशुली २२० केभी ३ बी हबमा कार्यरत ठेकेदारतर्फका १६ जना, रसुवागढी जलविद्युत् आयोजनामा ठेकेदारको तर्फबाट कार्यरत १६ जना, रसुवागढी जलविद्युत आयोजनाको ठेकेदारको तर्फबाट मर्मतमा कार्यरत २९ जना, अन्य स्थानीयको बारेमा प्रहरीले विवरण नै संकलन गर्न सकेको छैन ।
त्यही कारण मानवीय क्षति यति भयो भन्न सकिने अवस्था छैन । यो क्षेत्रमा स्थानीय बासिन्दाको साथै जलविद्युत् आयोजनालगायत अन्य आयोजनामा काम गर्ने कामदार, यातायात मजुदर, चीनमा व्यापार गर्ने व्यापारी तथा सुरक्षा निकायलगायत सरकारी तथा निजी संघसंस्थामा काम गर्ने असंख्य व्यक्तिहरू बेपत्ता भएका छन् । नुवाकोटको त्रिशुली र देविघाट बजार क्षेत्रमा सोच्नै नसकिने गरी भौतिक पूर्वाधारमा क्षति पुगे पनि सरकारले त्यता ध्यान नै दिन सकेको छैन । धादिङमा पृथ्वीराजमार्गका ठाउँ–ठाउँमा त्रिशुली नदीको बाढी जमेर सडक सञ्चालन हुन सकेको छैन । उद्धार, उपचार तथा पुनःस्थानको जिम्मा सरकारले लिने भन्दै प्रधानमन्त्री वालेन्द्र शाहले सबैलाई उक्त विपत्तिमा सहयोग गर्न आग्रह गरेका छन् । बाढीले व्यापारीले नेपालमा बिक्रीका लागि ल्याएका झण्डै पाँच सय गाडी पनि बगाएको छ । गाडी र मोटरेवल पुलका स्ल्याबहरू नदीमा प्लाष्टिक तैरिएको जसरी तैरिएर बगेका थिए ।