काठमाडौं, काठमाडौंको बानेश्वरमा रहेको एभरेष्ट अस्पताल र त्यहाँ कार्यरत डाक्टर ज्योत्सना शर्मा तिवारीबाट प्रसूतिका क्रममा मृत्यु भएको विषयमा लापरबाही भन्दै ३९ लाख क्षतिपुर्ति भराउन उपभोक्ता अदालतले आदेश दिएको छ ।
उपभोक्ता अदालतले बिहीबार चिकित्सक ज्योत्सना शर्मा र अस्पतालले काठमाडौँको गोठाटारकी मनिता शर्माको प्रसूतिको उपचारका क्रममा लापरबाही गरेको ठहर गर्दै पीडितलाई ३९ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश गरेको हो ।
मृतक मनिताका श्रीमान् सुवास पराजुलीले क्षतिपूर्तिको माग गर्दै उपभोक्ता अदालतमा मुद्दा दायर गरेका मुद्दाको सुनुवाई गर्दै उपभोक्ता अदालतका अध्यक्ष डा. दिवाकर भट्ट र गेहेन्द्रराज रेग्मीको इजलासले चिकित्सक शर्माबाट ९ लाख रुपैयाँ र एभरेष्ट अस्पतालबाट ३० लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको हो ।
अदालतले प्री–एक्लेम्पसिया भएका बिरामीलाई शल्यक्रियापूर्व दिनुपर्ने औषधि नदिइएको, आफैँले नियमित परीक्षण गरिरहेको बिरामीको स्वास्थ्य जटिलताबारे पूर्वानुमान हुँदाहुँदै आवश्यक सावधानी नअपनाएको लगायतका विषयमा अस्पताल र चिकित्सकको लापरबाही पुष्टि भएको आदेशमा उल्लेख गरेको छ ।