काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो ३४ दिनमा एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्षको पहिलो ३४औँ दिन अर्थात् बुधबारसम्म सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको छ । यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ३४.०४ प्रतिशत र अन्य तर्फ १३.७८ प्रतिशत राजस्व संकलन भएको छ ।
सरकारले आर्थिक वर्ष २०८३/८४मा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । गत आर्थिक वर्षमा सरकारले १२ खर्ब ४९ अर्ब राजस्व संकलन गरेको थियो । चालू आर्थिक वर्षको लक्ष्य गत वर्षको कुल संकलनभन्दा ३३१ अर्बले बढी हो ।