जुम्ला, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार पदाधिकारीका लागि २९ जनाको आवेदन परेको छ । प्रतिष्ठानले शिक्षाध्यक्ष, रजिस्ट्रार, डिन र अस्पताल निर्देशकको नयाँ नियुक्तिका लागि आह्वान गरेकामा २९ जनाको दरखास्त परेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको पदाधिकारी छनौट तथा सिफारिस समितिका अनुसार शिक्षाध्यक्ष पदमा पाँच, रजिस्ट्रारमा १५, डिनमा आठ र अस्पताल निर्देशक पदमा एक जनाको आवेदन परेको छ । प्रतिष्ठानले गत साउन २८ गते पदपूर्तिका लागि सूचना प्रकाशित गरी यही भदौ ३ गतेसम्म आवेदन दिने समय तोकेको थियो ।
अस्पताल निर्देशक पदमा डा विनम्र विष्टको मात्रै एकल आवेदन परेको छ । सबैभन्दा धेरै आवेदन रजिस्ट्रार पदमा परेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ संशोधनसहित पारित गरेपछि पदाधिकारी छनोट तथा सिफारिसको प्रक्रिया अघि बढेको प्रतिष्ठानले जनाएको छ ।