इस्लामावाद, पाकिस्तानका शक्तिशाली सेना प्रमुख आसिम मुनीरले सोमबार तेहरानको भ्रमण गर्ने इरानको विदेश मन्त्रालयले जानकारी दिएको छ । एएफपीका अनुसार इस्लामाबादले मध्य पूर्व युद्धको समाधानका लागि मध्यस्थताको प्रयास गरिरहेको बेला यो भ्रमण हुन लागेको हो ।
मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मुनीरले पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार तेहरान आउने कार्यक्रम तय भएको छ । यो भ्रमण ‘इरान–पाकिस्तान द्विपक्षीय सहयोग सुदृढ पार्ने प्रयासको अंश’ हो ।’
यो ‘मध्यपूर्वमा शान्ति र सुरक्षा मजबुत बनाउन पाकिस्तानले गरिरहेको निरन्तर प्रयास’ का साथै दुईपक्षीय मित्रतालाई थप सुमधुर बनाउने कुटनीतिक अवसर हो । पाकिस्तानले इरान र अमेरिकाबीचको युद्ध रोक्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । जुन महिनामा उसले समझदारी पत्र (एमओयू) गराउन मध्यस्थता गरेको थियो। तर अहिले शान्ति वार्ता अवरूद्ध भएकोजस्तो देखिएको छ ।
यस महिनाको सुरुमा पाकिस्तानले साउदी अरब र टर्कीसँग संयुक्त रक्षा सम्झौता गरेको थियो । केही विश्लेषकहरूले यसलाई इरानी प्रभावलाई सन्तुलनमा राख्ने उद्देश्यले गरिएको कदम भनेका छन् ।