काठमाडौं । आईसीएफसी फाइनान्सको खुद नाफा खुम्चिएको छ । फाइनान्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा २६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा नौ करोड रुपैयाँले कम हो । अघिल्लो आवमा फाइनान्सको यस्तो नाफा ३३ करोड ३० लाख रुपैैयाँ रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार फाइनान्सको खुद नाफा खुम्चिए पनि खुद ब्याज आम्दानी भने आठ प्रतिशतले बढेर ६४ करोड ५४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ५९ करोड ४३ लाख रुपैयाँ थियो । यद्यपि, खुद शुल्क तथा कमिसन आम्दानी १२ करोड ३३ लाख रुपैयाँबाट घटेर ११ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा फाइनान्सको कुल सञ्चालन आम्दानी ८१ करोड १३ लाख रुपैयाँबाट सामान्य घटेर ८० करोड ६९ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि ४७ करोड ४७ लाख रुपैयाँबाट घटेर ३७ करोड ५१ लाख रुपैयाँमा झरेको छ । फाइनान्सको वितरणयोग्य नाफा भने १४ करोड १७ लाख ३२ हजार रुपैयाँ रहेको छ । यसका आधारमा कम्पनीको लाभांश क्षमता ११ दशमलव ९८ प्रतिशत रहेको देखिएको छ ।
चुक्ता पुँजी एक अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा ९१ करोड ५३ लाख ७५ हजार रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा २२ अर्ब २३ करोड २७ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ६९ करोड ५६ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ अर्ब ९९ करोड २ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ८५ करोड ९१ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यस अवधिमा फाइनान्समा निष्क्रिय कर्जा अनुपात एक दशमलव ८४ प्रतिशतबाट घटाएर एक दशमलव ५५ प्रतिशतमा झरेको छ ।