काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाडको रूपमा तिहार रहेको छ । उज्यालो र मिष्ठान परिकारले परिचित चाड तिहारका अधिकांशजस्तो सामग्री भने आयातित रहेको पाइन्छ । तिहार आउनेबित्तिकै नेपालीहरूले आफ्नो घरमा झिलीमिली विद्युतीय, मैनलगायतका बत्तीहरूले उज्यालो बनाउने गर्छन् । उनीहरूले घर उज्यालो बनाउनका लागि गर्ने लाखौँको खर्च भने आयातित सामग्रीमार्फत हो । नेपाली व्यवसायीहरूले भारत र चीनबाट आयात गरेको विद्युतीय बत्तीहरू तिहारमा अत्यधिक खपत हुने गरेको छ । तिहारलाई नै भनेर करोडौंको विद्युतीय बत्तीलगायतका सामग्रीहरू आयात गर्नेगरेको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०८३÷८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख ६४ हजार रुपैयाँबराबरका २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएका छन् । गत आर्थिक वर्ष २०८२÷८४ को सोही अवधिमा ५९ करोड ६५ लाख १६ हजार रुपैयाँबराबरका ३८ लाख ९२ हजार थान बत्ती आयात भएका थियो । गत आवको तुलनामा आठ दशमलव १७ प्रतिशतले झिलीमिली बत्तीको आयात बढेको देखिन्छ ।
सामग्रीको परिमाण कम भए पनि मूल्य भने धेरै रहेको पाइन्छ । मूल्य बढे पनि परिणाम घट्नुमा भने चीनसँगको नाकामा भएको अवरोध रहेको विद्युत् व्यवसायीहरू बताउँछन् । महासंघका अध्यक्ष दिलिप कुमार अग्रवालका अनुसार चीन अर्थात् रसुवा बाढीका कारण चीनबाट आयात गरिने झिलीमिली बत्ती सहजसँग ल्याउन नपाएको र सो सामग्रीहरू समेत भारत हुँदै ल्याउनुपर्ने अवस्था तथा नाकामा लामो समय राख्नुपर्दा मूल्य बढ्न गएको हो । पछिल्ला वर्षहरूमा विद्युतीय सामग्रीको मूल्य बढेको कारणले समेत नेपाली बजारमा त्यसको प्रभाव परेको छ जसले गर्दा परिणाम कम भए पनि आयात गरिएको झिलीमिली बत्तीको मूल्य बढी पर्न गएको उनको भनाइ छ ।
झिलीमिली बत्ती मात्र नभई, बत्तीका लागि आवश्यक पर्ने स्वीच, मल्टिीप्लग, तारलगायतका सामग्रीहरू समेत लाखौँ मूल्यबराबरको आयात गरिएको छ । चीन र भारतबाट आयात गरिएको उक्त सामग्रीहरू दशैँ, तिहार र छठलक्षित रहेको व्यवसायीहरू बताउँछन् ।
झिलीमिली बत्तीको सबैभन्दा बढी व्यापार तिहार र छठमा हुन्छ भने दशैँमा भने न्यून मात्र हुनेगरेको छ । बत्तीको आयात पनि तिहार र छठ लक्षित गरेर ल्याउने हुँदै यी सामग्रीहरू दशैँपछि पनि निरन्तर आयात गरिने महासंघले जनाएको छ । तिहारलाई लक्षित गरी झिलीमिली बत्ती र त्यसका सामग्रीसँगै आवश्यक पर्ने भाइमसला र मसलाका प्रकारहरू समेत करोडौँ मूल्यबराबरको आयात गरिएको छ । तिहार लक्षित गरे पनि छठमा समेत भाइमसला र मसलाका प्रकारहरू बिक्री हुनेगरेको छ । विभागको तथ्यांअनुसार चालू आवको पहिलो तीन महिनामा काजु, बदाम, किसमिस, दाख, ओखर र नरिबललगायतका मसला दुई अर्ब ४४ करोड १४ लाख रुपैयाँबराबरको आयात भएको छ । गत आवको पहिलो तीन महिनामा एक अर्ब ९८ करोड नौ लाख रुपैयाँबराबरको आयात भएको थियो । तिहारमा दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाएपछि भाइमसला दिने परम्परा रहेको छ । यसका साथै तिहार तथा छठका लागि आवश्यक पर्ने कपडा, रंग, फूललगायतका सामग्री समेत लाखौँ मूल्यबराबरको आयात गरिन्छ । सरकारले प्लाष्टिक र अन्य फूलको आायतमा प्रतिबन्ध लगाए पनि बजारमा भने प्रशस्त पलाष्टिकका र अन्य फूल पनि पाउने गरेको छ ।
त्यस्तै पछिल्लो समय भने आन्तरिक उत्पादनले माग धान्ने भएसँगै सरकारले फूलको आयातमा कडाइ गरेको हो । तिहारका लागि नभई नहुने मखमली फूल र सजावटाका लागि आवश्यक मानिने सयपत्री, गोदावरीलगायतका फूलको माग आन्तरिक उत्पादनले धान्ने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । एसोसिएसनका अनुसार तिहारलक्षित गरेर काठमाडौं, पोखरालगायतका सहरमा पुष्प मेलाको समेत आयोजना गरिएको छ । यस पटकको तिहरमा नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा चौथो तिहार फ्लोरा एक्स्पो मंगलबारदेखि काठमाडौंमा सुरु भएको हो । एक्स्पोमा ६३ वटा व्यावसायिक स्टल, छवटा अफिसियल स्टल र चारवटा प्रतिस्पर्धात्मक स्टलसहित जम्मा ७३ वटा स्टलहरू रहेको छ । एक्सोमा तिहारमा प्रयोग हुने फूलहरूका साथै बिरुवा, फलफूल, जडीबुटी, कृषि वनका सामग्रीहरू, कृषि प्रविधि, कृषि औजार र मलखादहरू एउटै छानामुनि महामेलाको रूपमा उपलब्ध गराइएको छ ।
यसैगरी एसोसियसनले कास्की शाखाको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा पोखरा रंगशालाको दुई नम्बर गेटभित्रको चौरमा यही कात्तिक १८ गतेदेखि २३ गतेसम्म नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रदेश स्तरीय एवं तेस्रो सयपत्री फूल मेला–२०८३ आयोजना गरेको छ । मेलामा २६ वटा स्टल रहने फ्लोरिकल्चर एसोसियसन नेपाल कास्की शाखाका अध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार मेलामा व्यावसायिक २२ वटा, कृषि सामग्रीका तीन वटा र सूचनामूलक एउटा स्टल रहनेछन् । उनका अनुसार मेलामा करिब ५० प्रजातिका गोदावरी फूल प्रदर्शनीमा राखिनेछ । उनका अनुसार मेलामा गोदावरी मुख्य आकर्षणको रूपमा रहे पनि तिहारे फूल (सयपत्री), सिजनल फूलहरू, सुनगाभा, विभिन्न वनस्पति, परम्परागत बिरुवा, बोन्साइका बिरुवा, कट्फ्लावरलगायतका फूलहरूको प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् । मेलाको मुख्य उद्देश्य फूल प्रयोगप्रति सर्वसाधारणलाई आकर्षित गर्दै स्वदेशी फूलको प्रयोगमा जोड दिनु रहेको अध्यक्ष सुवेदीले स्पष्ट पारे । गण्डकी प्रदेशमा व्यावसायिक रूपमा ४८ जनाले पुष्प व्यवसाय गर्दै आएको एसोसिएसनले जनाएको छ । त्यसबाहेक सिजनल उत्पादन गर्ने किसानहरू पनि धेरै छन् ।