नेपालको बैंकिङ क्षेत्र आर्थिक सुस्तता, कर्जाको मागमा आएको शिथिलता र लगानीको प्रतिफलसम्बन्धी चुनौतीसँग जुधिरहेका बेला बैंक तथा वित्तीय संस्थाको सञ्चालन खर्च भने अझै पनि अर्बौँमा सीमित हुन सकेको छैन ।
चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा सञ्चालनमा रहेका २० वाणिज्य बैंक, १७ विकास बैंक र १६ फाइनान्स कम्पनीले कर्मचारीको तलबभत्ता र कार्यालय व्यवस्थापनमा मात्रै कुल १८ अर्ब ४० करोड ६० लाख रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यो रकममध्ये कर्मचारीको तलबभत्तामा ११ अर्ब ४७ करोड ८० लाख रुपैयाँ र कार्यालय व्यवस्थापनमा छ अर्ब ९२ करोड ८० लाख रुपैयाँ खर्च भएको छ । अर्थात् बैंक तथा वित्तीय संस्थाले दुई महिनाको अवधिमै कर्मचारीको पारिश्रमिक र कार्यालय सञ्चालनका नाममा दैनिक औसत ३० करोड ६७ लाख रुपैयाँभन्दा बढी खर्च गरेका छन् । यद्यपि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल खर्चमा सामान्य गिरावट देखिएको छ । गत वर्ष भदौ मसान्तसम्म यी संस्थाले कर्मचारीको तलबभत्ता र कार्यालय व्यवस्थापनमा कुल १८ अर्ब ६९ करोड ७० लाख रुपैयाँ खर्च गरेका थिए । यस वर्ष उक्त खर्च २९ करोड १० लाख रुपैयाँ अर्थात् करिब एक दशमलव ५६ प्रतिशतले घटेको देखिन्छ ।
बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंकहरूमा सञ्चालन खर्चको दबाब अझै कायम रहेको देखिएको छ । चालू आवको भदौ मसान्तसम्म २० वाणिज्य बैंकले कर्मचारीको तलबभत्तामा १० अर्ब सात करोड ७० लाख रुपैयाँ खर्च गरेका छन् । गत वर्षको सोही अवधिमा यस्तो खर्च १० अर्ब १० करोड ७० लाख रुपैयाँ थियो । यसरी कर्मचारी खर्च तीन करोड रुपैयाँ अर्थात् करिब शून्य दशमलव ३० प्रतिशतले मात्रै घटेको छ । तर कार्यालय व्यवस्थापन खर्च भने उल्टै बढेको छ । गत वर्ष भदौ मसान्तसम्म पाँच अर्ब ६७ करोड १० लाख रुपैयाँ रहेको यस्तो खर्च चालू आवको सोही अवधिमा बढेर पाँच अर्ब ९६ करोड ९० लाख रुपैयाँ पुगेको छ । यो २९ करोड ८० लाख रुपैयाँ अर्थात् करिब पाँच दशमलव २५ प्रतिशतको वृद्धि हो । राष्ट्र बैंकका अनुसार १७ वटा विकास बैंकको तथ्यांकले पनि खर्च व्यवस्थापनमा मिश्रित अवस्था देखाएको छ । चालू आवको भदौ मसान्तसम्म विकास बैंकहरूले कर्मचारीको तलबभत्तामा एक अर्ब १२ करोड ३० लाख रुपैयाँ खर्च गरेका छन् । गत वर्षको सोही अवधिमा यस्तो खर्च एक अर्ब २२ करोड ७० लाख रुपैयाँ थियो ।
यसअनुसार विकास बैंकहरूको कर्मचारी खर्च १० करोड ४० लाख रुपैयाँ अर्थात् करिब आठ दशमलव ४८ प्रतिशतले घटेको छ । तर कार्यालय व्यवस्थापन खर्च भने घट्न सकेको छैन । गत वर्ष ७५ करोड ८० लाख रुपैयाँ रहेको यस्तो खर्च यस वर्ष बढेर ७७ करोड १० लाख रुपैयाँ पुगेको छ । यो एक करोड ३० लाख रुपैयाँ अर्थात् करिब एक दशमलव ७२ प्रतिशतको वृद्धि हो । सञ्चालनमा रहेका १६ वटा फाइनान्स कम्पनीको खर्चमा पनि उतारचढाव देखिएको छ । चालू आवको भदौ मसान्तसम्म फाइनान्स कम्पनीहरूले कर्मचारीको तलबभत्तामा २७ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् । गत वर्षको सोही अवधिमा यस्तो खर्च ३२ करोड १० लाख रुपैयाँ थियो । यसअनुसार कर्मचारी खर्च चार करोड ३० लाख रुपैयाँ अर्थात् करिब १३ दशमलव ४० प्रतिशतले घटेको छ । त्यस्तै, कार्यालय व्यवस्थापन खर्चमा पनि ठूलो गिरावट देखिएको छ । गत वर्ष भदौ मसान्तसम्म ६१ करोड ३० लाख रुपैयाँ खर्च गरेका फाइनान्स कम्पनीहरूले चालू आवको सोही अवधिमा १८ करोड ७० लाख रुपैयाँ मात्रै खर्च गरेका छन् । यो ४२ करोड ६० लाख रुपैयाँ अर्थात् करिब ६९ दशमलव ४९ प्रतिशतको गिरावट हो ।