काठमाडौं । ‘म्यानेजिङ रिक्स, बिल्डिङ कन्फिडेन्स‘ मूल नारासहित इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन तथा कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धिलाई केन्द्रमा राख्दै दुईदिने क्षमता अभिवृद्धि तथा समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरामा साउन १५ र १६ गते आयोजित कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष विष्णु कुमार घिमिरे प्रमुख अतिथि तथा सञ्चालक रमेश कुमार र संस्थापक सेयरधनी दिनेश अधिकारी विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रमको सञ्चालन नायव प्रमुख कार्यकारी अधिकृत विश्वराज श्रेष्ठले गरेका थिए । कार्यक्रममा संस्थाका एक सय दुईवटै शाखाका शाखा प्रमुख, अनुगमन अधिकृत, विभागीय प्रमुख तथा व्यवस्थापन तहका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विष्णु कुमार घिमिरेले जोखिम व्यवस्थापन, सुशासन र प्रभावकारी नेतृत्व संस्थागत सफलताका प्रमुख आधार भएको उल्लेख गर्दै बदलिँदो वित्तीय परिवेशअनुसार रणनीतिक सोच, सामूहिक प्रयास र उत्कृष्ट कार्यसम्पादनमार्फत संस्थालाई नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विशेष अतिथि दिनेश अधिकारीले यस्ता कार्यक्रमले कर्मचारीको ज्ञान, सीप र कार्यदक्षता अभिवृद्धि गरी संस्थागत विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले सिकाइलाई व्यवहारमा उतार्दै सदस्यमैत्री, पारदर्शी र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिन आग्रह गरे । सभाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले संस्थाको दीर्घकालीन लक्ष्य र भावी दृष्टिकोण प्रस्तुत गर्दै जिम्मेवारी, अनुशासन र परिणाममुखी कार्यशैलीमार्फत संस्थालाई अझ सशक्त बनाउन कर्मचारीहरूलाई प्रेरित गरे ।
नायव प्रमुख कार्यकारी अधिकृत विश्वराज श्रेष्ठले संस्थाको समग्र कार्यसम्पादनको समीक्षा प्रस्तुत गर्दै आगामी रणनीति तथा कार्ययोजनाबारे जानकारी गराए । कार्यक्रममा शाखाहरूको कार्यसम्पादनको समीक्षा गर्दै विगतका उपलब्धि, विद्यमान चुनौती, सुधारका क्षेत्र तथा भावी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो । विभागीय प्रमुखहरूले जोखिम व्यवस्थापन, कर्जा तथा असुली व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, प्रभावकारी सेवा प्रवाह, नेतृत्व विकास तथा शाखा व्यवस्थापनसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
समूहगत छलफलमार्फत व्यवहारिक समस्या समाधान, सुधारका उपाय तथा भावी रणनीतिबारे साझा निष्कर्ष निकालिएको थियो। ज्ञान,
अनुभव र उत्कृष्ट अभ्यासको आदान–प्रदानबाट शाखा तथा विभागबीचको समन्वय र सहकार्य थप सुदृढ भएको तथा संस्थाको लक्ष्य प्राप्तिका लागि साझा प्रतिबद्धता र सकारात्मक ऊर्जा अभिवृद्धि गर्न कार्यक्रम प्रभावकारी बनेको संस्थाले जनाएको छ ।