काठमाडौं । धादिङको रोराङ गाउँपालिका–२, चिसापानी क्षेत्रका ३२ वर्षीय सोमबहादुर चेपाङ यतिबेला जीवनकै कठिन अवस्थाबाट गुज्रिरहेका छन्। उनकी ३ वर्षीया छोरी गम्भीर बिरामी परेर काठमाडौंको अस्पतालको आईसीयूमा उपचाररत छिन्। तर उपचारका लागि आवश्यक रकम जुटाउन नसक्दा परिवार थप संकटमा परेको छ। पेसाले किसान रहेका सोमबहादुरले केही दिनअघि आफ्नी छोरीलाई अचानक असामान्य अवस्थामा पाए। उनका अनुसार बिहान करिब ६ बजे सुतेकी छोरी करिब ९ बजेतिर अचानक छटपटाउन थालेपछि परिवार आत्तिएको थियो। उनलाई तत्काल गाउँकै मेडिकलमा लगियो। त्यहाँबाट थप उपचार आवश्यक देखिएपछि मलेखु अस्पताल पुर्याइएको थियो।मलेखुमा उपचारपछि छोरीको अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याउन चिकित्सकले सुझाव दिए। त्यसपछि एम्बुलेन्समार्फत काठमाडौं ल्याउँदा मात्रै करिब ७ हजार ५ सय रुपैयाँ खर्च भएको सोमबहादुरले बताए।
राति करिब ११ बजे छोरीलाई क्रान्ति बाल अस्पताल पुर्याइएको र सुरुमा सामान्य वार्डमा राखेर उपचार गरिएको उनले जानकारी दिए।तर अवस्था गम्भीर बन्दै गएपछि चिकित्सकले आईसीयूमा राखेर उपचार गर्नुपर्ने बताए। त्यसपछि छोरीलाई मनमोहन मेमोरियल कम्युनिटी हस्पिटलको आईसीयूमा भर्ना गरिएको सोमबहादुरले बताए। उनका अनुसार छोरीमा छारे रोगजस्तो समस्या देखिएको बताइए पनि वास्तवमा के कारणले यस्तो अवस्था सिर्जना भएको हो भन्नेबारे अझै स्पष्ट जानकारी पाउन सकिएको छैन। आईसीयूमा भर्ना भएको करिब सात दिन पुग्न लाग्दा पनि छोरी होसमा आएकी छैनन्।
चिकित्सकले कहिलेसम्ममा होसमा आउँछिन् भन्ने यकिन समय बताउन नसकेको सोमबहादुरको भनाइ छ।छोरीको उपचारका क्रममा अस्पतालको बेड तथा आईसीयू शुल्क, चिकित्सकको शुल्क, औषधि र अन्य उपचार खर्च निरन्तर बढिरहेको छ। सोमबहादुरका अनुसार अस्पतालको बेड तथा आईसीयूमा दैनिक करिब १८ देखि २० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ। चिकित्सकको शुल्क र औषधिको खर्च भने थप छुट्टै छ।उनले औषधिमा मात्रै हालसम्म करिब ३५ देखि ४० हजार रुपैयाँ खर्च भइसकेको बताए। एम्बुलेन्स, अस्पताल, औषधि तथा अन्य उपचार खर्च जोड्दा अहिलेसम्म करिब २ लाख रुपैयाँ खर्च भइसकेको उनको भनाइ छ। तर छोरीको उपचार अझै जारी रहेकाले आगामी खर्चको टुंगो छैन।

सोमबहादुर चेपाङ
आर्थिक अवस्था कमजोर रहेका सोमबहादुरका लागि यति ठूलो रकम जुटाउनु निकै कठिन बनेको छ। तीन सन्तानका बुबा सोमबहादुर खेतीपाती गरेर परिवारको जीविकोपार्जन गर्दै आएका छन्। सामान्य किसान परिवारका उनलाई दैनिक घरखर्च धान्न नै मुस्किल पर्ने अवस्थामा छोरीको उपचारका लागि ठूलो रकम आवश्यक परेपछि झनै समस्या थपिएको हो।“अस्पतालमा राखेर उपचार गर्न पनि नसक्ने र पैसा नभएर निकालेर घर लैजान पनि नसक्ने अवस्थामा पुगेको छु,” सोमबहादुरले भावुक हुँदै भने।छोरीको अवस्था गम्भीर रहे पनि उपचार रोक्ने अवस्था नरहेको उनले बताए।
आर्थिक अभावका कारण उपचार बीचमै रोकिने हो कि भन्ने चिन्ताले परिवारलाई सताइरहेको छ। छोरीको जीवन बचाउन उपचार निरन्तरता दिन आवश्यक भएकाले उनले सहयोगी मन, शुभेच्छुक तथा विभिन्न संघ–संस्थासँग सहयोगका लागि अपिल गरेका छन्।“सहयोग भयो भने छोरीको उपचार निरन्तर गर्न सक्छु। आफ्नो आर्थिक अवस्थाले मात्र उपचार धान्न सक्ने अवस्था छैन,” सोमबहादुरले भने।अहिले आईसीयूमा उपचाररत छोरीले चाँडै होसमा आएर स्वस्थ हुँदै घर फर्किऊन् भन्ने उनको एउटै चाहना छ। तर उपचार खर्चको अभाव उनका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ।परिवारले छोरीको उपचारका लागि सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई प्रत्यक्ष सम्पर्क गरी अस्पतालमा भइरहेको उपचार अवस्थाबारे बुझेर सहयोग गरिदिन आग्रह गरेको छ।सम्पर्क नम्बर: ९७६५४२४१०५ठेगाना: रोराङ गाउँपालिका–२, चिसापानी, धादिङ।