काठमाडौं, नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ)ले एपीएनआईसी फाउन्डेसनको सहयोगमा बागलुङमा सञ्चालनमा ल्याएको डिजिटल शिक्षा परियोजनाले दीर्घकालीन प्रभाव देखाएको छ ।
परियोजनाको स्थायित्व र प्रभावकारिता मूल्यांकन गर्न पुगेको एपीएनआईसी फाउन्डेसनका प्रतिनिधिमण्डलले विद्यालय भ्रमणपछि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) पूर्वाधार प्रभावकारी रूपमा सञ्चालनमा रहेको बताएका छन् । ‘डिजिटल विभाजन न्यूनीकरणः सूचना तथा सञ्चार प्रविधि (आईसीटी) मार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण’ परियोजना १४ डिसेम्बर २०२४ मा सम्पन्न भएको थियो । हाल बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरास्थित जनप्रिय आधारभूत विद्यालय र भीमदरबार आधारभूत विद्यालयमा स्थापना गरिएका डिजिटल कक्षाकोठा नियमित रूपमा प्रयोग भइरहेका छन् । परियोजनाबाट १०० विद्यार्थी र १९ शिक्षक प्रत्यक्ष लाभान्वित भएका छन् ।
कम्प्युटर, स्मार्ट शिक्षण उपकरण र भरपर्दो इन्टरनेट जडानसहितका आधुनिक कक्षाकोठाले पठनपाठनलाई प्रविधिमैत्री बनाएको एनआईएफले जनाएको छ । विद्यालय परिसरबाहिरसमेत इन्टरनेट पहुँच विस्तार गर्न आउटडोर वायरलेस एक्सेस पोइन्ट जडान गरिएकाले स्थानीय समुदायले पनि डिजिटल स्रोत तथा अनलाइन सेवामा पहुँच पाएका छन् । प्रतिनिधिमण्डलले आईसीटी पूर्वाधार सुरक्षित र पूर्ण सञ्चालनमा रहेको पाएको जनाएको छ ।
भ्रमणकै अवसरमा जनप्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई ५० वटा विद्यालय झोला वितरण गरिएको थियो । एनआईएफका अनुसार परियोजनाले दुर्गम क्षेत्रमा भरपर्दो इन्टरनेट, डिजिटल पूर्वाधार र सामुदायिक स्वामित्वको संयोजनले ग्रामीण शिक्षामा दिगो सुधार सम्भव हुने देखाएको छ । परियोजना फाउन्डेसनको ‘आईएसआईएफ एसिया’ अनुदान कार्यक्रमअन्तर्गत परियोजना सञ्चालन गरिएको हो, यसले इन्टरनेट पहुँच विस्तार, डिजिटल समावेशीकरण र स्थानीय आवश्यकता अनुरूपका प्रविधिमूलक समाधानलाई सहयोग गर्दै आएको छ ।