काठमाडौं, त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको एमजीटी ५१५ विषयको प्रश्नपत्र परीक्षा अघि विभिन्न हृवाट्सएप समूहमा सार्वजनिक गरेको प्रकरणमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार शिक्षा ऐन, २०२८ अन्तर्गतको कसूरमा अनुसन्धानका क्रममा थप दुई जनालाई पक्राउ गरी अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको हो । पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३२ ताहाचल बस्ने २५ वर्षीय अनुनल कुमार मिश्र र बाराको लिपनीमाल–१ स्थायी घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–८ बस्ने ३१ वर्षीय अब्दुल सानी हाकिम रहेका छन् ।
सीआईबीका अनुसार गत साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको एमजीटी ५१५ विषयको प्रश्नपत्र परीक्षा अघि नै विभिन्न हृवाट्सएप समूहमार्फत सार्वजनिक भएको घटनाको अनुसन्धानका क्रममा उनीहरूको संलग्नता खुलेपछि क्रमशः साउन १० र ११ गते पक्राउ गरिएको हो । प्रहरीले यसअघि पक्राउ परेका व्यक्तिहरूमाथिको अनुसन्धानसँगै थप संलग्न व्यक्तिहरूको खोजी तथा घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।