सर्लाही, सर्लाहीका किसानहरु धानबालीमा प्रयोग गर्ने मल नपाउँदा हैरान भएका छन् । मधेशका जिल्लामा धान रोप्न बाँकी रहेका किसान र धान रोपिसकेका किसान मलका लागि भौँतारिनुपरेको छ । कविलासी नगरपालिका–६, जमुनियामा धानबालीमा हाल्ने युरिया मल नपाएको भन्दै किसानले गत बुधबार वडा कार्यालय घेराउ गरेका छन् ।
सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत मल वितरण गर्ने सहकारी संस्था तथा डिलरलाई समेत मल वितरण गर्न सकस परेको छ । किसानहरु मलका लागि उज्यालो नहुँदै लाइनमा बस्न बाध्य भएका छन् । सबै किसानलाई मल आवश्यक भए पनि थोरै परिमाणमा आउने मल वितरण गर्नै नसक्ने अवस्था रहेको कविलासी–६ का वडाध्यक्ष पुरुषोत्तम रायले बताए । किसानलाई आलोपालो गरी मिलाएर मल लिन आग्रह गर्दा पनि अस्वीकार गर्ने गरेको उनले बताए ।
स्थानीय किसान रामशरण खड्काले मल थोरै आएको हुँदा अगाडि लाइनमा गएर बस्ने किसानले आधा बोरा मल पाए पनि धेरै जना रित्तो हात फर्किनुपरेको जानकारी दिए । धान रोप्ने समयमा डिएपी र रोपिसकेपछि युरिया मल प्रयोग गर्ने गरिएको छ । यसपटक पर्याप्त वर्षा भएर सबै किसानले एकैपटक धान रोपेकाले एकैसाथ मल आवश्यक हुँदा समस्या भएको खड्काले बताए ।