काठमाडौँ । मोरङको विराटनगरस्थित ‘कोइराला निवास’को मर्मत तथा सम्भारका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अस्वीकार गरेका छन् । उनले ऐतिहासिक भौतिक संरचना नष्ट भए पनि यसको वैचारिक विरासत कायमै रहने विश्वास व्यक्त गरेका छन्।
सरकारले दिएको बजेट अस्वीकार गरेर डा.कोइरालाले राज्यको सम्पत्ति विलासिता वा निजी सम्पत्तिको मर्मतभन्दा जनहितमा प्रयोग हुनुपर्ने बताए ।

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मघर (कोइराला निवास) को मर्मतका लागि सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत २ करोड रुपैयाँ विनियोजन गरेको थियो। डा.कोइरालाले सो कार्यका लागि सरकारप्रति आभार प्रकट गर्दै अहिलेको परिस्थितिमा रकम फिर्ता गर्ने निर्णय लिएका हुन्।
डा.शेखरका पिता कृष्णप्रसाद कोइरालाले विराटनगर महानगरपालिका वडा नं. ७ मा रहेको यो ऐतिहासिक घर एक शताब्दीअघि निर्माण गरेका थिए । उनले राज्यले विपन्न नागरिकको पक्षमा काम गर्नु नै बिपी र कोइराला निवासप्रति सच्चा श्रद्धाञ्जली र न्याय हुने उल्लेख गरेका छन्। गत वर्ष भदौ २४ गते ‘जेन्जी आन्दोलन’ का क्रममा नेपाली राजनीतिको ऐतिहासिक साक्षी र धरोहर मानिने यो घरजलाइएको थियो ।