काठमाडौं, आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एमएस पाल पाँच लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । पालले आर्थिक वर्ष २०७८/०७९ को पूर्ण कर लेखापरीक्षण गर्नको लागि पेस गरेका कागजातहरू मिलेन भनी दुःख दिई सेवाग्राहीसँग उक्त रकम घुस लिएका थिए ।
सेवाग्राहीले नै आफूसँग कर अधिकृत पालले घुस मागेको उजुरी गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले उनलाई पाँच लाख रुपैयाँ घुसको रकमसहित पक्राउ गरेको हो ।
‘अनुसन्धानको सिलसिलामा आन्तरिक राजस्व कार्यालय, लहान, सिरहाका कर अधिकृत युवराज एमएस पालले आर्थिक वर्ष २०७८/०७९ देखिको लेखापरीक्षणलगायत कर निर्धारण समेतको काम गरी गराई कर फछ्र्यौट गर्न गराउन सेवाग्राहीले पेस गरेका बिल बिजकहरू मिलेन, मिलाउनु पर्छ नमिले तपाईँको काम हुँदैन भनी घुस लिएको देखियो’, अख्तियारले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
कर अधिकृत पालले विभिन्न व्यावसायिक तथा औद्योगिक फर्म कम्पनीहरूको लेखापरीक्षण गर्ने/गराउने र कर निर्धारण गर्ने/गराउने काम गर्दा/गराउँदा एक–आपसको मिलेमतो र सम्बन्ध भएका चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवमार्फत बार्गेनिङ गरी घुस उक्त रकम लिएका हुन् ।
पालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई बिगो पाँच लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिबाना हुन मागदाबी लिइएको अख्तियारले जनाएको छ ।
साथै चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवले प्रतिवादी युवराज एमएस पालसँग मिलेमतो गरी काम मिलाउनको लागि सेवाग्राहीसँग रकमको बार्गेनिङ गरी कर अधिकृत पाललाई घुसबापतको रकम लिन लगाएको र सेवाग्राहीलाई घुस दिन लगाई दुरुत्साहन गरेको देखिँदा चार्टर्ड एकाउन्टेन्ट यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (४) बमोजिमको कसुर भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (४) ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिबाना हुन मागदाबी लिई मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् ।