काठमाडौं । कर छलेर चीनबाट बीवाईडी गाडी नेपाल भित्र्याउन दिएर अर्बौँ रुपैयाँ अनियमितता गरेको आशंकाको घेराभित्र तानिएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि लागेको आरोप पुष्टि भएको छ । बजेट भाषणअघि नै करका दर हेरफेरको सूचना चुहाएर नेपालमा बीवाईडी बिक्री गर्ने साइमेक्स इन्क प्रालिलाई ती गाडी भित्र्याउन दिइएको थियो । रसुवा भन्सार कार्यालय टिमुरेले गत असार १९ गते बीवाईडी गाडी आयात गर्ने साइमेक्स इन्क प्रालि काठमाडौंलाई जेठ १४ गते जाँचपास भएका भनिएका ९५ वटा गाडी जेठ १५ को बजेट भाषणपछि भन्सारमा इन्ट्री भएको पाइएको र त्यसबाट १९ करोड २५ लाख ३६ हजार नौ सय ९९ रुपैयाँ राजस्व छलेको पुष्टि गर्दै उक्त रकम बुझाउन पत्राचार गरेको पाइएको हो ।
साइमेक्स इन्कले बजेट भाषण हुनुअघि करका दर हेरफेरका सूचना चुहिएपछि रसुवा भन्सारबाट बीवाईडी इलेक्ट्रिक कार एटो–१, ४५ किलोवाटका प्रिमियम ६० वटा र बीवाईडी इलेक्ट्रिक सिलायन–७ ३५ वटा गरी ९५ वटा गाडी जेठ १४ को भन्सार जाँचपासका कागज देखाएर जेठ १५ को बजेट भाषणपछि छुटाएको थियो । त्यसो गर्दा साइमेक्स इन्कले रसुवाबाट मात्र झण्डै १९ करोड रुपैयाँ राजस्व छलेको पृष्टि भएको छ । रसुवाका भन्सार अधिकृत प्रेमप्रसाद सुवेदीले गत असार १९ गते बीवाईडी गाडी विक्रेता साइमेक्स इन्कलाई लेखेको पत्रले अर्थमन्त्री वाग्लेसँगको मिलेमतोमा बीवाईडी गाडी विक्रेता साइमेक्स इन्ककी यमुना श्रेष्ठले हाकाहाकी बेइमानी गरेको स्पष्ट भएको छ ।

रसुवा भन्सारबाट ९५ वटा बीवाईडी गाडी अनियमित किसिमले भित्र्याउँदा झण्डै १९ करोड बढी राजस्व छलिएको उक्त पत्रबाट स्पष्ट भए पनि मुस्ताङको कोरला नाकाबाट त्यही ढंगले राजस्व छलेर सात सय ७४ वटा बीवाईडी गाडी भित्र्याउँदा भएको राजस्व छलीका विवरण अझै सार्वजनिक नगरी गुपचुपमै राखिएको छ । साइमेक्स इन्कले ४५ किलोबाटका ६० वटा इलेक्ट्रिक कार एटो नियमविपरीत भित्र्याउँदा तीन करोड ३१ लाख ४९ हजार पाँच सय ४५ रुपैयाँ राजस्व छलेको निष्कर्ष निकालिएको छ भने ३५ वटा बीवाईडी सिलायन– ७ कार भित्र्याउँदा १५ करोड ९३ लाख ८७ हजार चार सय ५४ रुपैयाँ राजस्व छलेको पत्रले स्पष्ट पारेको छ ।
साइमेक्स इन्कले अर्थमन्त्री वाग्लेको करका दर हेरफेर अग्रिम सूचनाका आधारमा रसुवा भन्सारबाट जस्तै बजेट भाषणअघि नै जेठ १४ गते भन्सार जाँचपास गराएर जेठ १५ गतेको बजेट भाषणपछि मुस्ताङको कोरला नाकाबाट त्यसैगरी अनियमित किसिमले नेपाल भित्र्याइएका सात सय ७४ वटा बीवाईडी गाडी प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको थियो ।

त्यसमाथि अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयले दुईतिरबाट जाँचबुझ पनि गरेका थिए । तर ती प्रतिवेदनहरू अहिलेसम्म सार्वजनिक गरिएका छैनन् । त्यसो त ती जाँचबुझ नै पनि पारदर्शी ढंगले गरिएका थिएनन् । अपारदर्शी ढंगले गुपचुप नै गरिएको भए पनि त्यसको प्रतिवेदनहरूलाई सम्बन्धित पक्षले पारदर्शी ढंगले नागरिकसमक्ष राखेका छैनन । रसुवा भन्सारबाट भएको राजस्व छलीको तथ्यांकसँग तुलनात्मक अध्ययन गर्दा पनि मुस्ताङको कोरला नाकाबाट बीवाईडी गाडी भित्र्याउँदा अर्बौँ रुपैयाँ राजस्व छली भएको सहजै अनुमान गर्न सकिन्छ ।
यसरी राजस्व छलेर सवारीसाधन भित्र्याइएको पुष्टि भएपछि सरकारले ती सवारीसाधन जफत गर्नुपर्ने हो तर अर्थमन्त्री वाग्लेले पहिले नै प्रतिष्ठित कम्पनी भनेर प्रशंसा गरेका बीवाईडी गाडी आयातकर्ता साइमेक्स इन्कले गाडी जफत भएको अवस्था व्यहोर्नुपर्ने अवसर दिएनन् र उसलाई जरिवाना तिरेर उम्काउने सुविधा प्रदान गरेका छन् । अर्थमन्त्री वाग्लेले बजेट भाषणअघि नै साइमेक्स इन्कका प्रतिनिधिलाई करका दर हेरफेरको सूचना चुहाएर जुन राष्ट्रद्रोह गरेका थिए, त्यसलाई ढाकछोप गर्नेगरी राजस्व छलेर भित्र्याइएका आठ सय ६९ वटा गाडी जरिवाना तिराएर छाडेर अर्को गल्ती गरेका छन् ।