काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा नवनिर्वाचित सभापति गगन थापाले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन् ।
नवनिर्वाचित सभापति थापाले भने यसअघि नै असोज ३१ गते पद तथा गोपनीयताको शपथ लिइसकेका थिए ।गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो । त्यसपछि नवनिर्वाचित नेतृत्वले आज औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो ।
शपथ ग्रहणसँगै कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा काम सुरु गर्ने भएको छ । नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै बस्दैछ । पहिलो बैठकमा पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ । नयाँ नेतृत्वले महाधिवेशनबाट प्राप्त जनादेशअनुसार पार्टीलाई अघि बढाउने प्रतिबद्धता जनाउँदै आएको छ।