काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट ३५ वर्षमुनिको युवा क्लस्टरअन्तर्गत केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी परेको छ । भट्ट ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिको क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर, उनी उम्मेदवारी दिँदा नै ३५ वर्ष नाघिसकेको दाबी गर्दै सोही क्लस्टरबाट उम्मेदवार बनेका सौगात थापाले निर्वाचन समितिमा उजुरी दिएका हुन् ।
उजुरीमा भट्टको उमेरका सम्बन्धमा आधिकारिक नागरिकता तथा अन्य प्रामाणिक कागजातका आधारमा छानबिन गर्न माग गरिएको छ । साथै, ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधि क्लस्टरबाट उम्मेदवारी दिएका तथा निर्वाचित भएका सबै उम्मेदवारको उमेरसम्बन्धी विवरणसमेत छानबिन गर्नुपर्ने माग गरिएको छ ।
उजुरीमा प्रत्येक उम्मेदवारको उमेर मनोनयन दर्ता गर्दाको मितिलाई आधार मानी कांग्रेस विधानमा तोकिएको उमेरसम्बन्धी योग्यता पूरा भए–नभएको यकिन गर्नुपर्ने उल्लेख छ । भट्टविरुद्ध परेको उजुरीबारे निर्वाचन समितिले हालसम्म कुनै निर्णय गरेको छैन ।