काठमाडौं, गैरआवासीय नेपाली प्राज्ञहरुको संस्था ’ब्रिज नेपाल’ ले काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति छनोट प्रक्रिया अपारदर्शी र स्वार्थको द्वन्द्वबाट ग्रसित भएको भन्दै तत्काल हस्तक्षेप गर्न सरकार र प्रधानमन्त्रीसँग माग गरेको छ । बेलायतमा कार्यरत नेपाली अनुसन्धानकर्ता तथा प्राज्ञहरुको तर्फबाट एक विज्ञप्ति जारी गर्दै संस्थाले उपकुलपति चयन प्रक्रियालाई मर्यादित र पारदर्शी बनाउन अपिल गरेको हो ।
उच्च शिक्षालाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने सरकारको प्रारम्भिक कदम आशालाग्दो भए पनि हालै विभिन्न विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा भएका नियुक्तिहरू नातावाद, कृपावाद र राजनीतिक स्वार्थबाट प्रेरित देखिएका छन् । विश्वस्तरको बौद्धिक नेतृत्व चयन गर्नुको सट्टा दलीय निष्ठाका आधारमा नियुक्ति दिइएको भन्दै प्राज्ञिक समुदायले चिन्ता व्यक्त गरेको छ । उपकुलपति छनोट प्रक्रियालाई ’नाटक’ को संज्ञा दिँदै सर्टलिस्टमा परेका विदेशी विश्वविद्यालयका उम्मेदवारले अन्तर्वार्ता नै बहिष्कार गरेको घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको जनाइएको छ ।
गत २२ जुलाई २०२६ मा छनोट समितिका सदस्य आफैँ धुलिखेल अस्पताल पुगेर निश्चित उम्मेदवारलाई अल्पसूचीमा पार्न सहमति गरेको आरोप लगाउँदै यो कार्यले छनोट प्रक्रियाको मापदण्ड र ’स्वार्थको द्वन्द्व’ सम्बन्धी प्रावधानको ठाडो उल्लङ्घन गरेको दाबी गरिएको छ ।अन्तिम अन्तर्वार्ता सत्र कुनै पनि विषय विज्ञको उपस्थितिविना सञ्चालन गरिएको र निर्णयकर्ता पदधारीहरूसँग आवश्यक उच्च शैक्षिक उपाधि (पीएचडी) तथा योग्यता जाँच्ने अनुभव समेत नरहेको विज्ञप्तिमा उल्लेख छ ।
केयूको बहिर्गमित नेतृत्वले ४५० शय्याको आफ्नै शिक्षण अस्पताल बनाउन स्रोत सुनिश्चित गरेलगत्तै सो योजना तुहाउने उद्देश्यले स्वार्थ समूह सक्रिय भएको भन्दै यसको निष्पक्ष छानबिन माग गरिएको छ । प्रक्रियाको पारदर्शिता र साख जोगाउन आवेदन दिएका सबै ३५ जना उम्मेदवारहरूले पेस गरेका ’भिजन पेपर’ (कार्ययोजना), रणनीति पत्र र उनीहरूले प्राप्त गरेको अंक विवरण शिक्षा मन्त्रालयको वेबसाइटमार्फत तुरुन्त सार्वजनिक गर्न प्रधानमन्त्री तथा केयूका कुलपतिसमक्ष ब्रिज नेपालले आग्रह गरेको छ ।