काठमाडौं, फिनिक्स एजुकेसन नेटवर्कको आयोजनामा ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी) २०२६’ सम्पन्न भएको छ । ‘उत्प्रेरित युवा, नेतृत्वदायी राष्ट्र’ भन्ने नारासहित आयोजित कार्यक्रममा देशभरबाट हजारौँ युवाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण गर्दै युवा शक्तिलाई राष्ट्र निर्माणमा प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध रहेको बताए । कन्क्लेभका संयोजक राजु टण्डनले प्रतिभाशाली युवाको विदेश पलायन मुलुकका लागि चुनौती बनेको उल्लेख गर्दै स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न सार्वजनिक तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा ‘केवाईसी युथ आइकन अवार्ड २०२६’ पर्वतारोही मिमा डेभिड शेर्पालाई प्रदान गरिएको थियो । उनलाई नगद एक लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
त्यसैगरी, इन्जिनियर सुलभ राज श्रेष्ठसहित ‘जेन्जी’ शहीद तथा नायकहरूको योगदानको सम्मानस्वरूप उनीहरूका परिवारलाई जनही ५० हजार रुपैयाँ नगद सहयोगसहित सम्मान गरिएको थियो । कन्क्लेभमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आफ्नो संघर्ष र सफलताको अनुभव सुनाउँदै युवालाई लक्ष्यप्रति दृढ रहन र देशको भविष्य निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरेका थिए । एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेस मुख्य प्रायोजक रहेको कार्यक्रममा एनसेल फाउन्डेसनसहित विभिन्न संस्थाको सहयोग रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले शिक्षा, खेलकुद, प्रविधि र नेतृत्व विकासका क्षेत्रमा युवाको सक्रिय सहभागिता बढाउनुपर्नेमा जोड दिएका थिए ।