काठमाडौं, पछिल्लो एक महिनायता काठमाडौँ उपत्यकामा श्रृंखलाबद्ध रूपमा भएका सिक्री लुटपाट घटनामा संलग्न रहेको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलन गरी ‘कर्मा समूह’का नाइकेसहित सदस्यहरूलाई पक्राउ गरेको जानकारी दिएको हो । प्रहरीका अनुसार सो समूहले बिहान सबेरै र राति अबेर सडकमा हिँडिरहेका महिला तथा वृद्धालाई लक्षित गरी योजनाबद्ध रूपमा लुटपाट गर्दै आएको थियो ।
उक्त समूहले अपरिचित बनेर बाटो सोध्ने बहानामा पीडितलाई रोक्ने र मोटरसाइकलमा आएका सदस्यले धकेलेर सुनका गरगहना लुट्ने शैली अपनाउने गरेको प्रहरीले जनाएको छ । असार १३ गते शान्तिनगरमा एक महिलामाथि भएको सिक्री लुटपाटदेखि नरेफाँट, धुलिखेल र धापासीमा भएका घटनामा पनि यही समूहको संलग्नता रहेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।
प्रहरीले सीसीटीभी फुटेज, प्राविधिक विश्लेषण र ‘प्रोफाइलिङ’का आधारमा अनुसन्धान अघि बढाउँदै सिन्धुपाल्चोक मेलम्ची–४ का ३४ वर्षीय कर्मा तामाङ नेतृत्वको समूहलाई पहिचान गरेको हो । प्रहरीका अनुसार समूहका केही सदस्य पक्राउ परेपछि फरार रहेका कर्मा पुनः लुटपाटको योजनासहित काठमाडौँ आएका थिए । शनिबार राति बुढानीलकण्ठ–१३ चुनिखेलमा प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा खुकुरी प्रहार गर्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाइ फायर गरिएको थियो । प्रहरीले घुँडामुनि गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ । हाल उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले यसअघि साउन १५ गते काभ्रेपलाञ्चोक बनेपाबाट प्रतिमान गोले, पासाङ घिसिङ, मनोज तामाङ र आले गुरुङलाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा उक्त समूहले उपत्यकामा लुटपाट गर्ने र काभ्रे तथा सिन्धुपाल्चोक जिल्लामा गरेर लुक्ने गरेको खुलेको छ । समूहले लुटपाटका क्रममा दुईवटा मोटरसाइकल प्रयोग गर्ने गरेका थिए । प्रहरीका अनुसार उनीहरूले लुटपाटमा मोटरसाइकल पनि चोरीकै प्रयोग गर्ने र नम्बर प्लेट पटक–पटक परिवर्तन गर्ने गरेको पाइएको छ । पक्राउ परेका कर्माको साथबाट प्रहरीले एक थान मोटरसाइकल, एक थान खुकुरी, पाँच थान विभिन्न नम्बर प्लेट तथा मोटरसाइकल चोरीमा प्रयोग हुने औजार बरामद गरेको छ । उक्त समूह मोटरसाइकल चोरी, सिक्री लुटपाट र चोरीका सवारीसाधन उपत्यकाबाहिर सस्तो मूल्यमा बिक्री गर्ने गतिविधिमा समेत संलग्न रहेको देखाएको प्रहरीले जनाएको छ । चोरीका सुनका गरगहना गलाएर स्वरूप परिवर्तन गरी बिक्री गर्ने काममा पनि समूहका सदस्यहरूको भूमिका रहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार पक्राउ परेका अधिकांश सदस्य ‘पटके अपराधी’ हुन् । मुख्य आरोपी कर्माविरुद्ध यसअघि नौवटा चोरी तथा डाँका मुद्दा दर्ता भइसकेका छन् भने उनी हिरासतबाट फरार भएपछि पनि चोरी र लुटपाटमा सक्रिय रहेको प्रहरीले जनाएको छ । समूहका अन्य सदस्यहरूमाथि पनि डाँका, चोरी तथा मोटरसाइकल चोरीका विभिन्न मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ । उपत्यकामा भएका हालैका सिक्री लुटपाट घटनाको थप अनुसन्धान जारी रहेको र समूहका अन्य सम्भावित संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।